Friday, February 5, 2010

जिन्दगी/अनुभूति

अनुभूति-१

घामले यति पोल्यो कि
पोल्दा पोल्दा
अब घाम न्याना लाग्न थाले
घाम बिनाका ठाम बेकाम लाग्न थाले

झरीले यति डाम्यो कि
डाम्दा डाम्दा
अब झरी रिमझिम लाग्न थाल्यो
बुँद बुँदको स्पर्शमा हर्ष बग्न थाल्यो

हूरीले यति हल्लायो कि
हल्लिंदा हल्लिंदा
अब हूरी मन्द लाग्न थाल्यो
सिरसिर मीठो छन्द लाग्न थाल्यो

जिन्दगीले यति बहकायो कि
बहकिंदा बहकिंदा
बहकाई नै मुलधार लाग्न थाल्यो
मुलधार किनार भै भाग्न थाल्यो
समयले हिसाब माग्न थाल्यो|

अनुभूति-२

बिहानैदेखि
सागर किनारमा
मानिसहरुको ओहोर-दोहोर चलिरहेछ
कोही खेलिरहेका, कोही पौडिरहेका
लच्किंदै बालुवामा दौडिरहेका,


घाम चर्किन्छ
तिनका छायाँहरु पनि
गाढा बन्छन

तिनीहरु पनि खेल्छन
नयाँ श्वास पाए झैँ

रमाउंदै,

त्यही सागरमाथि
सूर्यलाई हल्कासँग तान्दै गर्छ कसैले
पश्चिमतिर
माझीले नाउ ताने झैं,

एकछिनपछि

यो किनारामा
अग्ला, होचा, दुब्ला, मोटा
सयौं मानिसहरु
लहरै एकसमान उभिएर
सूर्य अस्ताएको हेर्छन
तिनका छायाँहरु पनि
क्रमश: पातलिंदै हराउंछन्
र मानिसहरु स्वयं
आ-आफ्ना छायाँजस्तै बनेर
अन्धकारमा बिलिन हुन्छन

भोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी
किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
शायद अर्कै हुनेछ !




Friday, January 22, 2010

मनको संगत

यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली

हतासिन्छ खालि
बतासिन्छ खालि
यो कस्तो सबारी
बिना क्यै तयारी ?

म भन्छु एकैछिन
बिसाउँ देउरालीमा
ल हेर, ऊ कुद्छ
फूलमा, डालीमा!

न पुग्ने किनारा
न रुक्ने सिमाना
जे नै देख्छ राम्रो
त्यसैको दिवाना!

बेसुरैमा डुल्छ
बेहोशी भै भुल्छ
जब गल्ती खुल्छ
मसंग असुल्छ!

छिनैमा गमिलो
छिनैमा अमिलो
कति पार्छु संग्लो
ऊ बन्छ धमिलो!

रातोदिन् चाहारी
बिना जिम्मेवारी
मनै पो छ भारी!
म हिँडछु घिसारी

यो मनको संगालो
यो मनको भंगालो
कहाँ साट्न मिल्ला
यो मनको अंगालो ?

यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.......

Sunday, January 10, 2010

एक साक्षात्कार- स्वाइन् फ्लु भाइरससंग



अलबिदा, ए मेरो प्रस्तावित साथी!
भरोसा रहेन अब तिमीमाथि

तिम्रै मायालु बच्चाको साथी बनेर
नर्सरी स्कूलबाट घरसम्म आएँ
र उसकी स्नेही आमालाई
बेलीबिस्तार लाएँ -
आमा हजुर !
अपरिचित नठानिबक्सेला,
म सबैथरी भेदभाव भन्दा माथि
म साथीको पनि साथी बन्ने साथी
मेरै दोस्तीको खातिर
कैयौंको जीवन समर्पण छ साक्षी
त्यसैले होला शायद,
दुश्मनले नजाती भन्दाभन्दै पनि
म चर्चामा आइसकेको जाति
बादल झैँ घुम्दै फिर्दै
संसारलाई आफ्नो बनाउने रहरमा
कैयौं फेसबुक र ट्वीटर बोकेर
आइपुगेको छु हजुरको शहरमा
अन्यथा नसोचिबक्सेला,
हजुरलाई पनि
मेरो मित्रताको हार्दिक आमन्त्रण छ!

बस्
आमाको मन
मैनको जलन !
भनिबक्स्यो-
पर्ख, मलाई त छट्पटी भयो
उहाँलाई छिट्टै बोलाउँछु
(भेटघाटको व्यवस्था मिलाउँछु!?)

राम्रै भयो, तिमी आयौ
तर, कसले के सुनाइदिए कुन्नि
पहिलो भेटमै मुन्टो फर्कायौ
शत्रुको अखाडाबाट नासो ल्याए झैं
मुखमा के त्यस्तो टांसो लगायौ
अरु त अरु,
आफ्नै जहान बच्चासंग पनि
खोइ कतिबेला गला मिलायौ ?

तिमीसंग दोस्तीको याचना गर्दै
भान्छाकोठामा ढुकेर बसें
बाथरुममा लुकेर बसें
त्यतिले पनि भएन
फुर्सदको घडी कुरेर
तिम्रो बिछ्यौनामै सुतेर बसें
अहँ,
तिमी त ढुंगाको दिल भएको मान्छे
सुत्दा पनि मुख ढाकेरै सुत्यौ
उठ्दा पनि मुख ढाकेरै उठ्यौ
मैत्रीका हर इमान्दार यत्नहरुमा
शंका र षड्यन्त्र भेटिरहयौ
मेरा हर पदचाप मेटिरहयौ
हदैसम्म बढेर
मेरा निर्दोष साथीहरुको मुहारमा
मित्रताको रापले कोरिएका हस्ताक्षरहरु
टामीफ्लुको इरेजरले घोटिरहयौ

यसरी
तिम्रो उपेक्षा र उदासिनताले
दोस्तीको शालीन पत्र
बीचमै अलपत्र पर्ने बुझेपछि
आफ्नो मैत्रीको बहिखातालाई
मान्द्रो झैं बेरेर
त्यो उकुसमुकुस बाताबरणबाट
म सुटुक्क हिंडें

अलबिदा, ए मेरा बन्न नसकेका साथी !
भरोसा रहेन अब तिमीमाथि

भेटेछु भने पनि कहीं कतै यात्रामा
चौतारीमा, बिसौनीमा, मेला जात्रामा
अबदेखि तिमीलाई पछयाउने छैन
खुबै मिल्ने साथीको सम्पर्कमा देखेपनि
तिम्रो प्रोफाइलमा चियाउने छैन
दोस्तीको निमंत्रणा पठाउने छैन

(२००९ सालको अन्त्यतिर क्रिसमस उपहार बोकेर आएको स्वाइन् फ्लुसंगको आफ्नै अनुभवमा आधारित कविता)

Wednesday, December 30, 2009

नयाँ सालको जुत्ता

(सर्बप्रथम, यहाँहरु सबैलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !)

नयाँ सालको संघारमा
एउटा खिन्न मान्छे जस्तै
ठिङ्ग उभिएको छ कोही
असमंजस, दोधारमा
लज्जा आधा अनुहारमा
आशा आधा अनुहारमा

आफ्नो गोडामा लगाएको
फित्ते चप्पललाई देखाउंदै
ऊ भन्छ -
यो साल नयाँ बुटजुत्ता लाउँछु कि ?
दह्रो खुट्टा हिंड्न पाउँछु कि ?
पुरानो जुत्ता एम्बुशमा खस्यो
हिंडिरहेको बाटो हठात् धुवाँमा फँस्यो
नपत्याए हेर,
यी पैताला भरि आगोले पोलेका डामहरू!

यसपालिको बुट जुत्ता
मागेर नपाउने खालको हो भनेका छन्
आफैंले सिलाउने खालको हो भनेका छन्
सिउनेहरु भने
पिउनेको आनन्दमा झैं मस्त देखिन्छन
सियोसंग खेलिरहेका भेटिन्छन
कतै घोचाघोच गरेर
रक्ताम्य पार्ने त होइनन जताततै ?














यिनीहरुले नै हो,
यसपालिको बुट जुत्ता
टलकदार चमकदार हुन्छ भनेका,

टाला टाला मिलाएर
छाला छाला मिलाएर
रंगीबिरंगी बन्छ भनेका,
तलुवा एउटै छालाको चाहिन्छ भन्ने पनि छन्
त्यस्तो कहाँ पाइन्छ भन्ने पनि छन्
उफ! लाउनेका भन्दा बनाउनेका सुर्ता !

नयाँ सालको संघारमा
घाउमा लगाउने टेप जस्तै
पटक पटक उप्काउँदै टाँस्दै गरेको
एउटै मात्र तिथि-मिति भएको
अरु कुनै चाडबाड नलेखिएको

एउटा अनौठो क्यालेन्डर च्यापेर
कोही भनिरहेछ -
यो साल पनि
जुत्ता बनेन भने
असह्य हुनेछ मेरो पीडा...
बलजफ्ती घिसार्दै
कत्ति पो तन्काउन मिल्ला
यो काइते चप्पलको फित्ता ?

मलाई सोध्छौ भने ऊ को हो,
शायद त्यो मेरो देश हो

Saturday, December 12, 2009

छाता भुल्ने मान्छे

यो सधैंजसो पानी पर्ने शहर र
म सधैंजसो छाता भुल्ने मान्छे
समझदारीमै बसेका छौं

उज्यालो हुनासाथ
काममा हिंड्न बेचैन म
कपालले बिर्सेको तालु सुकाउँदै
घाममा हिंड्न बेचैन म
हिंजोकै झोला जुरुक्क उठाएर हिंड्छु
झोलाभित्र के छ, सधैं गुट्मुट्याएर हिंड्छु
खोलेर हेर्नलाई सधैं हतार हतार
कहिलेकाहीं सुनिहाले पनि
एफएममा मौसमको समाचार
झ्यालबाट बाहिर हेर्दा
उतिसारो लाग्दैन पत्यार

सधैं झैं
खाजा खान निस्कंदा एक बजेतिर
यो धोकेबाज आकाशमा
कालो-कालो बादल सरेको देख्छु
पातला दुई-चार सर्का
सिम सिम झरेको देख्छु
बिश्वास हुँदैन यार
आफ्नै आँखैअघिको दृश्य!
बिहानको भाग्यमानी शिर
फेरि एकपल्ट छाम्छु
र मनमनै भन्छु-
ला! सत्यानाश भयो !
आज पनि छाता घरमै रह्यो!
अब फेरि माग्नुपर्ने भयो अफिसमा गुहार
छाताभंदा पनि, इन्द्रध्वज,
हाकिमसाहेबको अनुहार !

यत्रो अफिस हाँक्ने मान्छे हाकिमसाहेब,
कुरा पलकमै जाँच्नुहुन्छ
म भित्र पस्नासाथ मुसुक्क हाँस्नुहुन्छ
र भन्नुहुन्छ -
अफिसको छाता इन्द्रध्वज,
तिम्रै व्यक्तिगत खाता भएको छ !
सोच्छु- धन्य!, पानीले पगाल्दैन छाता
भोलिपल्ट दुरुस्तै फिर्ता आउँछ
पेश्कीको पैसा झैं सकिईहाल्ने भए साहेब,
इन्द्रध्वजले सापट फेरि पाउँछ ?

यसरी नै,
सधैंजसो गुहार लगाइरहने म
र सधैंजसो बचन लगाइरहने हाकिमसाहेब
समझदारीमै बसेका छौं

छाता माग्नको लाजले कहिलेकाहीं
रुझ्दै घर हिंडेको पनि छु
छाता माग्दाको भोलिपल्ट,
सफा दिनमा,
दुई-दुईटा छाता भिरेको पनि छु
घरको छाता अफिसमै छुटेर
छिमेकीको पैंचो तिरेको पनि छु
कहिलेकाहीं,
आफ्नै जहान र छर-छिमेकीसमेत
कतै कसैबाट सहारा नमिल्दा,
जाबो छाता पनि नदिने भनेर झोक नचलेको होइन
जाबो छाता दिएनन् भनेर झोक चलाइहाल्न पनि भएन

यसरी, छाताको रडाको गरिरहने म
र त्यो कत्ति नरुचाउने मेरै आफन्तहरु
समझदारीमै बसेका छौं
----------------------------------
(जागिरे जीवनकाल त यसैगरी गयो
अब बाँकी भन्नु एकै साल रह्यो,
त्यसपछि पनि छाता चाहिएला कि ?
यसैगरी माग्दा पाईएला कि?)

Wednesday, December 2, 2009

जवाफ

(पोखरेली युवा साँस्कृतिक परिवार, पोखराले केही बर्ष पहिले भ्रष्टाचारको बिरोधमा कविता लेख्ने यौटा बिशेष कार्यक्रम चलाएको थियो आफू त्यसमा उपस्थित नभएपनि त्यसको भावनासँग मेल खाने गरी हालसालै लेखिएका दुई टुक्राहरू प्रस्तुत गरेको छु)


घर छोड्न पाउँदिन

भो साथी
तिम्रो बिहेमा म आउँदिन
घर छोड्न पाउँदिन


सुन्छु, निकै पैसा कमाएका छौ
अनेकौं नयाँ साथी पाएका छौ
जन्तीमा पुरानाको गन्ती होला र ?
आफैं पनि बेहद नयाँ भएका छौ !

भो साथी
तिम्रो बिहेमा म आउँदिन
अफिसमा छुट्टी पाउँदिन

समयले धेरै कोल्टो फेरिसक्यो
सबैजनाको औकात हेरिसक्यो
तिमीले त छिट्टै चुली टेकेका छौ
'आँट' र 'गाँठ'को नाता देखेका छौ

भो साथी
तिम्रो बिहेमा म आउँदिन
आफन्तकै बिहे छ, भ्याउँदिन

अट्किने/खट्किने के नै होला र ?
बाजागाजा, सज-धज, होटल, मोटर
महंगा कपडा, गहना, फर्निचर
बिदेशी रक्सी र विशिष्ट अतिथि
तिम्रा बैभव-यात्राका सहचर

भो साथी
तिम्रो बिहेमा म आउँदिन
तराई बंद छ, बस पाउँदिन

नरिसाऊ है साथी, म आउँदिन
कोट अलि फाटेको छ, भो सिलाउंदिन




कम्प्लेक्स मान्छेहरु

अचेल जहाँतहीं बाक्लै मान्छेहरु बिझाइरहेछन
टोलमा गल्लीमा
गाउँमा बस्तीमा
मान्छेका अनुहारहरुले गिज्याईरहेछन

तिनको शिर
अनेकपल्ट भाँचिएका अस्थि-अडेसाहरुमा
अझैपनि स्थिर अडिएको छैन
तिनका आँखामा
अनौठा स्वप्नहरू
कचेरा झैं लपक्क टाँसिएका छन्

सोझो हिंडेका छैनन् तिनका पैतालाहरु

एकदिन
माछापुच्छ्रेले मलाई सोध्यो -
यो तलाउमा ऐना हेर्न
किन अरु कोही नआएका हँ ?
मसंग जवाफ थिएन

मनमनै सोचें,
हुन त अचेल
चौतारीमा बिसौनीमा
चोकमा बजारमा
जहाँतहीं लस्करै मान्छेहरु भेट्छु
गम्केका, चम्केका र लम्केका पनि देख्छु
मसंग खासै बोल्न नचाहेपनि
दास झैं
कसैको वरपर घुमिरहेको देख्छु
हजूर हजूर भनिरहेको देख्छु
के को चक्करमा छन् कुन्नि यिनीहरु?

माछापुच्छ्रेले फेरि सोध्यो
यसरी
पाखा पखेरामा गुराँस फुलेको बेला
यति मीठो बतास चलेको बेला
यो नदीमा नुहाउन
किन कोही नआएका हँ ?

अन्यौलमै मैले जबाफ भेट्टाएँ
भनिदिएँ-
प्यारो हिमाल !
मान्छेहरु अचेल "कम्प्लेक्स" भएका छन्
तिनका दिनचर्या र स्वभाव पनि बदलिएका छन्
एक अन्जुली सङ्ग्लो पानी लिएर
घट घट पिउन त डराउँछन्
अब यत्रो जलाशयमा
डुबुल्की लाउन कहाँ आउँछन् ?

Friday, November 13, 2009

हामी बांचेका होइनौं, बचेका हौं

(भूपी शेरचन या हरिभक्त कटुवाल (जस्तो लाग्छ), कुनै एकजना प्रतिष्ठित कविले आफ्नो कविताको अन्तिम हरफमा 'हामी जीवनमा फँसेका हौं' भनेर लेख्नुभएको छ धेरै पहिले पढेको हुनाले मैले कविताको शिर्षक समेत भुलें, क्षमा चाहन्छु तर उक्त कविताको आधुनिक संस्करणको रुपमा मैले यो कविता प्रस्तुत गरेको छु)

हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, धन्य भए
हामी बांकी जो छौं, फँसेका हौं

जीवन त आफ्नो स्वेच्छाले बाँच्ने पो!
दिनभरी काम गरी निर्भय हाँस्ने पो!

हामी त प्रत्येक पल तर्सेका छौं
बिहान घरबाट निस्केको मान्छे
मुश्किलले साँझमा फर्केका छौं
भोलिको झन भयाबह दृश्यमा
आधाजसो निंद्रा खर्चेका छौं

हामी मुठभेडमा नपरेका हौं
पर्ने त परी गए, धुलो- पीठो भए
बांकी जो छौं, शिर-पाउ डरेका हौं
















जीबन त आफ्नो पौरख कुँद्ने पो !
जीबन त आफ्नो गौरब उन्ने पो !

रोजानै महंगी र बेरोजगारीको पीर
उसमाथि अनिकाल र महामारीको पीर
पीरै पीरमा मीठो बैंश अर्पेका छौं
(सरकार त लुलो छ, उस्कै पीर ठूलो छ)
एकै पुरिया जीवनजलको निम्ति
पशुपतिनाथतिर फर्केका छौं

त्यसैले,हामी लाशका राशमा छुटेका हौं
मर्ने त मरीगए, रामराम भए
बांकी ढुन्मुनाउँदै उठेका हौं

रोजै अपहरणकारी छल्दै बंचेका छौं
नशाचुरका सवारी छल्दै बंचेका छौं
चंदाका फन्दाको त हिसाबै छैन हजुर
दश-थरि बंदूकधारी छल्दै बंचेका छौं

हामी फिरौतिमा नजंचेका हौं
तिर्ने त फर्कीआए, पुनर्जन्म पाए
नतिर्नेको खबर सोद्धै बसेका हौं

हामी सुराकीमा नपोलिएका हौं
पोलिने त छोडी गए, उठीबास भए,
बांकी अर्को सूचि कुर्दै घोरिएका हौं

आफ्ना रंगले कोर्ने जीवन, खोइ ?
आफ्ना धुनले भर्ने जीवन, खोइ ?
















हामीसंग जीवन छैन,ज्यान मात्रै छ
त्यो पनि
बाटो छोड़दै बग्ने कोशीतीरको कृपा
बाटो तोडदै बग्ने कृष्णभीरको कृपा
कृपै कृपामा नुहेका छौं
नुहिन त पर्यो उसै, भोलेनाथका पाउमा
फोहोरका डङ्गुर पनि सुंघेका छौं

हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, मुक्त भए
हामी बांकी जो छौं, फँसेका हौं


javascript:void(0)