अलबिदा, ए मेरो प्रस्तावित साथी!
भरोसा रहेन अब तिमीमाथि
तिम्रै मायालु बच्चाको साथी बनेर
नर्सरी स्कूलबाट घरसम्म आएँ
र उसकी स्नेही आमालाई
बेलीबिस्तार लाएँ -
आमा हजुर !
अपरिचित नठानिबक्सेला,
म सबैथरी भेदभाव भन्दा माथि
म साथीको पनि साथी बन्ने साथी
मेरै दोस्तीको खातिर
कैयौंको जीवन समर्पण छ साक्षी
त्यसैले होला शायद,
दुश्मनले नजाती भन्दाभन्दै पनि
म चर्चामा आइसकेको जाति
बादल झैँ घुम्दै फिर्दै
संसारलाई आफ्नो बनाउने रहरमा
कैयौं फेसबुक र ट्वीटर बोकेर
आइपुगेको छु हजुरको शहरमा
अन्यथा नसोचिबक्सेला,
हजुरलाई पनि
मेरो मित्रताको हार्दिक आमन्त्रण छ!
बस्
आमाको मन
मैनको जलन !
भनिबक्स्यो-
पर्ख, मलाई त छट्पटी भयो
उहाँलाई छिट्टै बोलाउँछु
(भेटघाटको व्यवस्था मिलाउँछु!?)
राम्रै भयो, तिमी आयौ
तर, कसले के सुनाइदिए कुन्नि
पहिलो भेटमै मुन्टो फर्कायौ
शत्रुको अखाडाबाट नासो ल्याए झैं
मुखमा के त्यस्तो टांसो लगायौ
अरु त अरु,
आफ्नै जहान बच्चासंग पनि
खोइ कतिबेला गला मिलायौ ?
तिमीसंग दोस्तीको याचना गर्दै
भान्छाकोठामा ढुकेर बसें
बाथरुममा लुकेर बसें
त्यतिले पनि भएन
फुर्सदको घडी कुरेर
तिम्रो बिछ्यौनामै सुतेर बसें
अहँ,
तिमी त ढुंगाको दिल भएको मान्छे
सुत्दा पनि मुख ढाकेरै सुत्यौ
उठ्दा पनि मुख ढाकेरै उठ्यौ
मैत्रीका हर इमान्दार यत्नहरुमा
शंका र षड्यन्त्र भेटिरहयौ
मेरा हर पदचाप मेटिरहयौ
हदैसम्म बढेर
मेरा निर्दोष साथीहरुको मुहारमा
मित्रताको रापले कोरिएका हस्ताक्षरहरु
टामीफ्लुको इरेजरले घोटिरहयौ
यसरी
तिम्रो उपेक्षा र उदासिनताले
दोस्तीको शालीन पत्र
बीचमै अलपत्र पर्ने बुझेपछि
आफ्नो मैत्रीको बहिखातालाई
मान्द्रो झैं बेरेर
त्यो उकुसमुकुस बाताबरणबाट
म सुटुक्क हिंडें
अलबिदा, ए मेरा बन्न नसकेका साथी !
भरोसा रहेन अब तिमीमाथि
भेटेछु भने पनि कहीं कतै यात्रामा
चौतारीमा, बिसौनीमा, मेला जात्रामा
अबदेखि तिमीलाई पछयाउने छैन
खुबै मिल्ने साथीको सम्पर्कमा देखेपनि
तिम्रो प्रोफाइलमा चियाउने छैन
दोस्तीको निमंत्रणा पठाउने छैन
हा हा हा । साह्रै घत पर्यो । यो भर्चुअल संसारसँग धेरै भावनात्मक मितेरी चैँ गाँस्न नहुने रैछ!!
ReplyDeleteहा हा हा !
ReplyDeleteमलाई चाँहि हाँसो थाम्न मुस्किल नै पर्यो है !
La mali ta dosti garnai dar lagera aayo.
ReplyDeleteचैतन्य अधिकारी जी ! कस्तो मज्जाले सलल पारामा वहेको ...
ReplyDeleteनिकै राम्रो ! तर भाव गजब को नौलो शैली मा !
उल्का गर्न थाल्नु भयो ... ... जे लेख्न खोज्नु भएको भए पनि कविता बगाउने वहाव नै मिठो छ के तपाइको ।
ReplyDeleteठ्याक्कै अर्थ बुझ्न कता-कता गाह्रै पर्यो तर तपाईंसँग दोस्ती गर्न नपाएको स्वाइन फ्लूको बिदाइ सन्देशको रुपमा बुझ्दा रमाइलो लाग्यो।
ReplyDeleteपन्थीजी,तपाईंको बुझाई सही छ |
ReplyDeleteअनुभवनै कविता बनेपछि सशक्त नहुने त कुरै भएन!
ReplyDeleteहा हा!! तरिका के तरिका। साहै सही तरिकाले लेख्ने क्या। शब्दहरु बगेका र छाटिएको देखेर पो लोभ लागेर आयो। बास्तबमै उल्का गर्ने थाल्नु भयो है ।। मनमा जे छ त्यो कबितामा भन्न सक्नु जस्तो ठूलो केही हैन हो ।।।
ReplyDeleteप्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete