Monday, May 6, 2013

शहरको सम्झनामा खारापानी




















त्ति धमिलो कहिल्यै थिएन माछापुच्छ्रेको मुहार,
यत्ति अमिलो कहिल्यै थिएन सरांगकोटको अनुहार,

पानीले आफ्नो धीत छोडेर
लपकपाउँदो आगो बोकेको
अलच्छिन पहिरोलाई छातीमा टाँसेर
संहारको हुंकार गाउँदै जब हिड्यो
बस्तीहरु बगे
जीबन फूलहरु चुँडिए 
धर्ति डगमगायो, रुखहरु रोए
र पहाडहरु चिच्याए असह्य पीडामा
अकल्पित अनपेक्षित
त्यो आतंकमयी घडीमा
शहरको मुटु चि...सो भएर भक्कानियो
उसले रच्दै गरेको  गीतका सुन्दर हरफहरु गायब भए
उसले ताप्दै गरेको घामका न्याना किरणहरु गायब भए
र शोकको घुम्टोमा डुब्यो शहर

एक साल पछि आज फेरी
त्यही पानीको स्वर सुन्दै
शहर खारापानी आएको छ
उसंग अहिले पनि शब्दहरु छैनन्
सम्झनाहरु मात्रै छन्
बिछोडको झोलुन्गेमा हल्लिरहेका    
बेदनाहरु मात्रै छन्
बिकृत सपना जस्ता लाग्ने बिपनाहरु छन् 

बास्तबमा ,
यत्ति नमीठो कहिल्यै थिएन शहरको सपना
यत्ति अमिलो कहिल्यै थिएन शहरको सम्झना !!

Sunday, April 7, 2013

शहरमा



के  के बिकेन शहरमा रातभर ?
साँचो दिल टिकेन शहरमा रातभर 

दुश्मन, दिवाना साटिए शहरका
सडक - सिमाना ढाँटिए शहरका  
फूल-पत्ता, जरा छांटिए शहरका  
उड्ने डुल्ने चरा काटिए शहरका   

बिटा बिटा नोट, सबैका हातमा
अब  बाँकी के छ, शहरको साथमा ?
सारा चिज  बिक्यो, यो एकै रातमा ,
(जब हाट उठ्यो, बदलियो घाटमा !)

शहर सग्लै किन बिकेन, रातभर ?
जब यौटै रहर टिकेन रातभर ?

Friday, March 8, 2013

सुहाएन ......



तिम्रो पनि मन हुनु, यो त अल्लि सुहाएन
गल्ती भयो भन्दै रुनु, यो त अल्लि सुहाएन
यत्ति सानो घरभित्र यत्रो ठूलो राँको बाली
खाकमाथि आँसु धुनु, यो त अल्लि सुहाएन !

सप्तरंगी इन्द्रेनीको रंग थुती यौटा यौटा
भत्क्यो भन्दै पिरोलिनु, यो त अल्लि सुहाएन
यत्रो रगत यत्रो हुर्मत, केका निम्ति थियो कुन्नि
बिर्सी सबै साधु हुनु, यो त अल्लि सुहाएन !

 

Wednesday, January 9, 2013

प्रकृति र मेरा कविता

छानामा बज्रिदै दर्किएको
झरीको स्वर सुनेपछि
मेरा कविता पनि
दरंग दरंग बजे
पानी झैं सललल बगे
अहिले ती बलेंसिमा
तप्प तप्प
खस्तै छन

 
ए हावा, रिस नगर
फेरि कुनै दिन
मेरा कविता
स्यार्र स्यार्र उड्लान
तापले, सन्तापले रापिएका
दिनहरुमा
सान्त्वना बोकी ल्याउलान्
पुस- माघ ताका
हिउँ झैँ फुरुरु फुरुरु झरेका
मेरा कवितालाई
तिमीले नै हुर्र हुर्र उडाउने छौ
रुख रुखमा अल्झाउने छौ
यसरी अचाक्ली थुप्रिएका
मेरा सेताम्मे कविता
राति कुन बेलादेखि नै
टक्रक टक्रक खसेको पनि सुनिनेछ
बिहानसम्मै सुतिराख्ने
अल्छी कविताहरुको ढाडमा भने
कत्रक कत्रक
यात्रुहरु हिंडेको पनि सुनिएला

 
कहिलेकाहीं मेरा कविता
आफ्नो स्वभाव बिपरित
असिना झैं बरर बरर बर्सिन्छन्
जोर परेरै होला -
अरुलाई दागेर
आफू पनि
छिया छिया भैजान्छन्

 
छ्यांग हिमाल खुलेर
घाम लागेका बेला भने
मेरा शब्दहरु हौसिएर,
बुरुक बुरुक उफ्रेर
हरफैपिच्छे
उज्याला तरंगहरु उछाल्न खोज्छन
सम्हालिँदै मनमनै भन्छु-
समय पनि त्यस्तै आशलाग्दो भए पो !

 
रातको अँधेरीमा
निभेको लालटिन झैं
मेरा कविता पनि
हराउलान् कि भन्ने डर थियो
जुन झैं चम्किबसेका रहेछन !

Wednesday, December 26, 2012

आग्रह

पार्टी, सरकार,

नेता, संबिधान,

(अ)सहमति, बेथिति ..................

भो छाड यी कुरा

कुन जुगदेखि हामी सधैं दुखैका गीतहरु गाइरहेछौं

दुखको नांग्लोमा वर्काइ फर्काइ दुखैको बिस्कुन फिंजाइरहेछौँ

गुमेका अवसर सम्झेर पछुताईरहेछौं

र बाँकी अबसर समेत गुमाईरहेछौं

यसरी भावुक हुँदै जाने हो भने

हामीलाई आत्महत्या नै गर्न पुग्ने

दुखका फास्टाहरु छन्

गुमेका अबसरका पहाड

र टाठाबाठाहरुका

बेइमानीका पराकाष्टाहरु छन्

किन बन्यो

हाम्रो जीवन नै

गुमेका अवसरहरुको फेरहिस्त झैं ?

र किन निस्के यो देशमा

एक से एक

ब्याकुल, बैरागी र व्यथितहरु ?



भो छाड यस्ता कुरा

अब हामीले बनाउन सक्ने कुरा

हामीले गुमाउन नहुने बर्तमान

र पछुताउन नहुने भविष्य हो

संसार अहिले बजार भएको छ

हजार चिजहरु बेच्न सकिन्छ यहाँ

हामी पनि केही बेच्न तयार होऊँ,

ए हुस्सु बेरोजगारहरु

सडकमा टायर जलाउँदै हिंड्ने चुरीफुरी त्यहाँ बिक्तैन

ए बुद्धु कर्णधारहरु

पाठशालामा ताला लगाउँदै हिंड्ने बहादुरी त्यहाँ बिक्तैन

बिक्दैनन् कहीं एक पैसामा पनि

यी मनगढन्ते क्रान्तिका लफ्फाजी,

यी मनमौजी चन्दाबाजी,

यी भित्तेलेखन र कर्कश अधिबेशन !

यार कुन जुगदेखि हामी यस्तै लफंगा रिवाजहरुमा रमाईरहेछौं

आफ्नै भविष्यका लुटेराहरुलाई अबिर खादा चढाईरहेछौं



हामीले पनि जाग्ने बेला भयो अब

जान्ने बेला भयो

रंगहीन झन्डाहरुका पछि नदौडेर

आफ्नो पाखुरीलाई मान्ने बेला भयो

उठौं

भ्रमका पर्दा तोडेर उठौं

श्रमलाई उँचा सोचेर उठौं

जब संसार बजार भएको छ

हामी पनि यसका अंशियार बनौं

र बेचौं हाम्रा उपहारहरु

हाम्रो आँट, हाम्रो हौसला,

हाम्रो सीप, हाम्रो जाँगर

हाम्रो सौहार्दता, हाम्रो मुस्कान

र हाम्रो आतिथ्यले बुनेका

राम्रा राम्रा उपहारहरु !



भो नहाल थकित सुस्केरा,

कुन जुगदेखि हामी सधैं दुखैका गीतहरु गाइरहेछौं !

दुखलाई आफ्नै सहेली सम्झेर दुखैका पंधेरी धाइरहेछौं,

दुखैको सिरानीमा आड लगाएर निरन्तर परेली भिजाईरहेछौं |


javascript:void(0)