यत्ति धमिलो कहिल्यै थिएन माछापुच्छ्रेको मुहार,
यत्ति अमिलो कहिल्यै थिएन सरांगकोटको अनुहार,
पानीले आफ्नो धीत छोडेर
लपकपाउँदो आगो बोकेको
अलच्छिन पहिरोलाई छातीमा टाँसेर
संहारको हुंकार गाउँदै जब हिड्यो
बस्तीहरु बगे
जीबन फूलहरु चुँडिए
धर्ति डगमगायो, रुखहरु रोए
र पहाडहरु चिच्याए असह्य पीडामा
अकल्पित अनपेक्षित
त्यो आतंकमयी घडीमा
शहरको मुटु चि...सो भएर भक्कानियो
उसले रच्दै गरेको गीतका सुन्दर हरफहरु गायब भए
उसले ताप्दै गरेको घामका न्याना किरणहरु गायब भए
र शोकको घुम्टोमा डुब्यो शहर
एक साल पछि आज फेरी
त्यही पानीको स्वर सुन्दै
शहर खारापानी आएको छ
उसंग अहिले पनि शब्दहरु छैनन्
सम्झनाहरु मात्रै छन्
बिछोडको झोलुन्गेमा हल्लिरहेका
बेदनाहरु मात्रै छन्
बिकृत सपना जस्ता लाग्ने बिपनाहरु छन्
बास्तबमा ,
यत्ति नमीठो कहिल्यै थिएन शहरको सपना
यत्ति अमिलो कहिल्यै थिएन शहरको सम्झना !!
No comments:
Post a Comment