Wednesday, December 26, 2012

आग्रह

पार्टी, सरकार,

नेता, संबिधान,

(अ)सहमति, बेथिति ..................

भो छाड यी कुरा

कुन जुगदेखि हामी सधैं दुखैका गीतहरु गाइरहेछौं

दुखको नांग्लोमा वर्काइ फर्काइ दुखैको बिस्कुन फिंजाइरहेछौँ

गुमेका अवसर सम्झेर पछुताईरहेछौं

र बाँकी अबसर समेत गुमाईरहेछौं

यसरी भावुक हुँदै जाने हो भने

हामीलाई आत्महत्या नै गर्न पुग्ने

दुखका फास्टाहरु छन्

गुमेका अबसरका पहाड

र टाठाबाठाहरुका

बेइमानीका पराकाष्टाहरु छन्

किन बन्यो

हाम्रो जीवन नै

गुमेका अवसरहरुको फेरहिस्त झैं ?

र किन निस्के यो देशमा

एक से एक

ब्याकुल, बैरागी र व्यथितहरु ?



भो छाड यस्ता कुरा

अब हामीले बनाउन सक्ने कुरा

हामीले गुमाउन नहुने बर्तमान

र पछुताउन नहुने भविष्य हो

संसार अहिले बजार भएको छ

हजार चिजहरु बेच्न सकिन्छ यहाँ

हामी पनि केही बेच्न तयार होऊँ,

ए हुस्सु बेरोजगारहरु

सडकमा टायर जलाउँदै हिंड्ने चुरीफुरी त्यहाँ बिक्तैन

ए बुद्धु कर्णधारहरु

पाठशालामा ताला लगाउँदै हिंड्ने बहादुरी त्यहाँ बिक्तैन

बिक्दैनन् कहीं एक पैसामा पनि

यी मनगढन्ते क्रान्तिका लफ्फाजी,

यी मनमौजी चन्दाबाजी,

यी भित्तेलेखन र कर्कश अधिबेशन !

यार कुन जुगदेखि हामी यस्तै लफंगा रिवाजहरुमा रमाईरहेछौं

आफ्नै भविष्यका लुटेराहरुलाई अबिर खादा चढाईरहेछौं



हामीले पनि जाग्ने बेला भयो अब

जान्ने बेला भयो

रंगहीन झन्डाहरुका पछि नदौडेर

आफ्नो पाखुरीलाई मान्ने बेला भयो

उठौं

भ्रमका पर्दा तोडेर उठौं

श्रमलाई उँचा सोचेर उठौं

जब संसार बजार भएको छ

हामी पनि यसका अंशियार बनौं

र बेचौं हाम्रा उपहारहरु

हाम्रो आँट, हाम्रो हौसला,

हाम्रो सीप, हाम्रो जाँगर

हाम्रो सौहार्दता, हाम्रो मुस्कान

र हाम्रो आतिथ्यले बुनेका

राम्रा राम्रा उपहारहरु !



भो नहाल थकित सुस्केरा,

कुन जुगदेखि हामी सधैं दुखैका गीतहरु गाइरहेछौं !

दुखलाई आफ्नै सहेली सम्झेर दुखैका पंधेरी धाइरहेछौं,

दुखैको सिरानीमा आड लगाएर निरन्तर परेली भिजाईरहेछौं |


Tuesday, November 27, 2012

हराउनुको पीडा


तिलोत्तमा,

म बेपत्ता हराइरहेको छु

संसार मलाई खोजिरहेछ

म कसैलाई खोजिरहेछु

सागर किनाराको बालुवा झैं

सरक सरक

पाउमुनिको धर्ती खस्किँदो छ

म जोरजोरले कराइरहेको छु

मेरो आवाज

कसैले नसुनेको भान भएपछि

म भित्रैदेखि डराइरहेको छु



यो सपना हो कि बिपना


यो भ्रम हो कि यथार्थ

आफु उभिईरहेकै ठाउँ हेरेर

म सोध्दै छु,

म कहाँ उभिइरहेको छु ?

आफु उभिईरहेकै तरिका हेरेर

म सोध्दै छु

म कसरी उभिइरहेको छु ?

म साँच्चै उभीईरहेकै त छु ?

मलाई पागल नठान तिमी

आफ्ना अदना प्रश्नको समेत

गतिलो जवाफ नभेटेर

म पल पल आत्तिइरहेको छु

यो अन्तहीन धरापबाट

उम्किने बाटो नदेखेर

म समयसंग च्याँठठिरहेको छु



म यसरी किन हराएँ ?

मलाई हिसाब चाहिएको छ
कसका कारणले म हराएँ ?
मलाई निसाफ चाहिएको छ



कतै पत्रिकामा देख्यौ कि मेरो फोटो,
तिलोत्तमा ?

कतै रेडियोमा सुन्यौ मेरो सूचना ?

बिन्ति,

कतैबाट एक हस्को गन्ध आयो भने मेरो

कतैबाट एक फुस्को सुस्केरा सुनियो भने मेरो

मलाई त्यहीं रोक्नु, त्यहीं खोज्नु

धुंईपत्ताल खोज्नु मलाई

चिच्याएर बोलाउनु -“ गौतम !” भनेर

नदेखे झैं नगर्नु

तिमीलाई पत्यार नलागेको होला, तिलोत्तमा,

म बेपत्ता हराइरहेको छु

संसार मलाई खोजिरहेछ

म आफैंसमेत आफुलाई खोजिरहेछु


Thursday, October 18, 2012

फुर्सतका कुरा

“हेलो, ...................

कार्यक्रम बन्यो, हतार हतार

लगभग सबथोक भैसक्यो तयार

भोलि नबिर्सी आउनु नि यार ! ”



छुट्टी गनी बसेको

शनिबार भनी बसेको

रहरका बिबिध योजना

मनमनै बुनी बसेको

अलपत्र पार्न पनि कठिन

पछिलाई सार्न पनि कठिन

निम्ता हार्न पनि कठिन

भोलि छ्यास्स भेट हुँदा तिमीसंग

कुराले टार्न पनि कठिन

हे भगवान !

गोष्ठी गरेपछि

सभा गरेपछि

एकाबिहानै घरबाट

निस्कन परेपछि

फुर्सत कहाँ रह्यो साथी मेरो

तिमीले हरेपछि ?

------------------------------------------

मुश्किल भो छुट्टी भेट्न छुट्टी भनेकै दिन

साँचेर राख्ने यौटा, माग्ने कति पो हुन ?

Wednesday, October 17, 2012

जवानी / कहानी

यार हाम्रो पनि जवानी थियो

रिसानी खुशानीको लगानी थियो

साँझसम्मै हराउने बिहानी थियो

घरै पनि बिर्साउने कहानी थियो



नसोध कहाँ कहाँ गएका थियौ ?

कुन आश / मीठासमा बहेका थियौ ?



जब हर नजरमा दिवानी थियो

सारा शहर लहडकै चलानी थियो

पत्थरै जब नरम सिरानी थियो

हरेक स्वप्न सुन्दर, रुमानी थियो



नसोध के कस्ता बहाना जुटे ?

क-कस्ता तरंग, तराना उठे ?



जब नौनीदिलै खुद मदानी थियो

हर श्वास बहानाको खानी थियो

छटपटी, हुटहुटी, हैरानी थियो

मनै मनको बेहद उडानी थियो



न धर्ती पाउमुनि, न पानी थियो

नयनभित्र उत्ताल राजधानी थियो

यो कच्चा उमेरको निशानी थियो ?

या सच्चा जीवनको फूलदानी थियो ?



पक्षीपंख खुलेझैं क्यै बाणी थियो

यार हाम्रो पनि जवानी थियो.......

Friday, October 5, 2012

धर्म संक्रमण

मेरै घर अगाडी डबलीमा उभिएर

त्यो मान्छे

हरेक दिन

मेरा आस्थाको बिरुद्ध बोल्छ

मेरा इश्वरको बिरुद्ध बोल्छ

र मेरो धर्मको उपहास गर्छ

अनि भन्छ

जाउँ हिंड चिया खान

पहिलो दिन

मलाई रिस नउठेको होइन

मलाई अनिच्छा नभएको पनि होइन

तैपनि

बिद्रोह गर्न नसकेर

उसको पछि लाग्छु



फेरी अर्को दिन

उसैगरी

सबेरैदेखि मानिस बटुलेर

तिनै कुरा दोहोर्याउँछ

जातभातको कुरा गर्छ

रुढीबादको  कुरा गर्छ

दमन र असमानता

गरिबी र पछौटेपनसहितको दोष

मेरो धर्मलाई लगाउँछ

सदियौंदेखि मान्दै आएका

मेरा परम्परामा खोट देखाउँछ

मलाई घरिघरि

उसका केही कुरा हुन् जस्तो पनि लाग्छ

उसका केही कुरा होइनन जस्तो पनि लाग्छ

उ भन्छ – जाउँ हिंड चिया खान

म लुरुलुरु जान्छु र चिया खान्छु



प्रत्येक दिन यसरी सुन्दै जांदा

प्रत्येक दिन उसकै पैसाको चिया खाँदा

बिस्तारै मलाई

त्यो मान्छे मन पर्दै आउँछ

उसका धेरै कुरा सही ठहर्दै आउँछ

उसले हातमा थमाएका

पटपटाउँदा रंगिन किताबहरु

मलाई  प्रिय लाग्न थाल्छन


कसैसंग केही नभने पनि

कसैसंग बहस नगरेपनि

आजभोली एक बिहान मात्रै पनि

कोठामा एक्लै बस्नुपर्दा

मलाई उसैसंग जान मन हुन्छ

उसकै कुरा सुन्न छटपटी हुन्छ

त्यो मान्छेले

कसरी कसरी मलाई मोहनी लगाउँछ

मलाई अनुयायी बनाउँछ

Saturday, September 29, 2012

यात्रानिर्णय

शहरसँग मैले रहरहरुको कुरा गरें

शहरले भन्यो –  म अलि सांगुरै छु

तिमीलाई त अटाएकै छु आजसम्म

 तिम्रा रहरहरुलाई अटाउन सक्तिन


त्यसपछि मैले

सडकसित आफ्नो यात्राको कुरा गरें

सडकले भन्यो – त्यति दुर पुग्न सम्भव होला र ?

तिमीलाई त हिंडाएकै छु आजसम्म

तिम्रो यात्रालाई हिंडाउन सक्तिन


त्यसपछि पहाडसंग राखें मैले आफ्ना आकांक्षा

पहाडले भन्यो – मेरो छाती टेकेर उठ्ने यतिसम्मै हो

उठ्यौ,

तिम्रा आकांक्षाको उचाईसम्म उठ्न म कहाँ सक्छु र ?


ताराहरुलाई अझै उचाइमा देखेर

आफ्नो गन्तब्य सुनाएँ

ताराहरुमा पनि अन्यौल रहेछ:

भने - यत्तिका हामी टिल्पिलाएर पनि

आकाशमा थुप्रै अंध्यारा खोल्सा छन्

हराउने प्रबल सम्भावनाहरु छन् ,

भो आफ्नै धर्ति सम्हाल्नु बेश होला

एउटा यात्रा टुंगियो भने

अर्को थाल्नु बेश होला


यस्ता थुप्रै सुझावहरु सुनेपछि

कसैसंग केहि नसोधी

नदिको किनारै किनार

एक्लै हिंड्न शुरु गरें म |

Thursday, September 13, 2012

ऐक्यबद्धता

(पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणका लागि)



सैंतिस साल पर्खायौ

पीठ फर्कायौ

तर्कियौ, तर्कायौ

समय घर्कायौ

अब फेरी कति समय माग्छौ ?

यो ढाँटको खेति केले ढाक्छौ ?

यहाँका तालहरु झैं थामिएका छौं हामी

यहाँका हिमालहरु झैं धानिएका छौं हामी

अब पोखरामा बिस्फोटन नरोज

न्याय देऊ यसलाई, आन्दोलन नखोज


Thursday, August 9, 2012

नाम फेर्ने सम्मति


तीर्थ दाई,

आउनुस्

लाहुरे फूलको नाम फेरौं

तपाईं र म मिलेर

एउटा नयाँ नाम हेरौं

शिलालेख झैं यसको चिनामा लेखिएका

“मुग्लान” र “भर्ती” जस्ता शब्दावली केरौँ

अब यसको चिनारीमा “स्वावलम्बन” लेखे कसो होला ?

जरैदेखि शिरा-शिरामा “स्वाभिमान” राखे कसो होला ?


धेरै भो, यो परदेशी नामले सताएको

घरको पिंढीबाट रौनक हराएको

अत्यासको डढेलोले बैंश सुकाएको !

भो ! अब यस्को नाम गाम-बेंसीकै राखौं

हिमाली, पहाडी या मधेसीकै राखौं

कुना काप्चा नभनी स्वदेशीकै राखौं



उदेकलाग्दो गरी,

अझै कतिन्जेल सुन्नु, भो !

फूलको गीतमा पनि लाहुर

फूलको कथामा पनि लाहुर

नाटकमा पनि लाहुर

उपन्यासमा पनि लाहुर !



तीर्थ दाई,

आउनुस्

यो अटुट शृंखलालाई तोडौं

लाहुरकै एकल स्वप्नमा रम्ने

यो असंगत रीतिलाई मोडौं



आजैबाट

यही नयाँ नाम लिएर

तपाईं पुतलीहरुलाई जम्मा पारेर भन्नुस

म माहुरीहरुलाई भेला गरेर भन्छु

तपाईं आकाशलाई सुनाउनुस

म बतासलाई सुनाउँछु

तपाईं घामसंग कुरा गर्नुस

म जूनको कान भर्छु



हुन्छ,

तपाईं बाटोलाई पनि भन्नुस

म माटोलाई भनुँला

तपाईं मल/जलमा मंतर्नुस

म बादललाई खबर गरुंला

तपाईं जंगल छिचोल्नुस

यही नामका साथ

म पर्बत छिचोलुंला



त्यतिले पनि भएन भने

यो नयाँ नाउँलाई

एउटा ठूलो बेलुनमा लेखेर

गाउँ शहरका सबैले देख्ने गरी उडाउँला,

केटाकेटीहरुलाई बुझाउँला

र तन्नेरीहरुलाई सुझाउँला,



बिगतमा जे भयो, धेरै भूल भयो

पसिनाको मूल्य कति असूल भयो ?

रगतको पैंचो समेत फजुल गयो !

अब भने यो फूल “नेपाल-फूल” भयो


Thursday, July 12, 2012

झरी-बिशेष थुंगाहरु


दिनभरी उभिईरहने पहाडलाई


किन चाहिएको होला


कुहिरोको पेटी ?






छाता छैन भने


किनिहाल


यो पोखरा हो






सडक हुँदै


खोला हिंडेको


नदेख्ने को छ ?






जलमग्न सडक


सोचमग्न म,


तिमी पनि यहीं छौ ?






आकाशको प्रदर्शन


सडकमा भल


कौशिमा मानिस






झरी रोकिंदा समेत


बलेंसिको गीत


एकतमास बजिरहेछ






सडकभरी गेगर थुपारेर


कहाँ पुगेको होला


भलको पानी ?




अफिस छुट्दा पनि


पानी नपरेको


आज अचम्मै भो !






आज रुझिएन


माथि के मिलेनछ


क्यै बुझिएन

Sunday, June 17, 2012

यात्रामा भेटिएका .......





















यात्रामा भेटिएका जूनहरु राता थिए

बतासमा महक छोड्ने सफा अनि ताजा थिए

कस्तो कस्तो मन बोकेर हिंड्दै थिएँ म नेपाल खाल्डोबाट

हर नदी, जंगल, पहाड, हर खोंचमा आँखा थिए



बाटो उही भएपनि ...... यात्रा बिल्कुल फरक थियो



यात्रामा सुनिएका धुनहरु गाढा थिए

भर्दै दम हर कदममा पुग्ने ठाउँ टाढा थिए

कस्तो कस्तो स्वप्न खोपेर निस्कँदै थिएँ म सुदुर शहरबाट

हर फाँटमा बिहानी थियो, हर बस्ती जागा थिए



यात्रा हो धूप, धुवाँ, धुलो, हिलो हुने नै भो

भोक, प्यास, थकान, अत्यास, असजिलो हुने नै भो

रुक्ने बहाना गर्नेलाई अनगिन्ति बाधा थिए

तीखा ढुंगा, काँडा थिए, भीर,पहरा, डांडा थिए



तैपनि म हिंडीरहें, हिंडीरहें, हिंडीरहें.....

के के सम्झेर आकाशले रिमझिम बर्षायो मै-माथि

हर बुँदमा शीतल सम्बाद, हर सर्कामा भाका थिए



यात्राका जूनहरु फूल झैं राता थिए

यात्राका धुनहरु धर्तीका गाथा थिए.......


Monday, April 30, 2012

शब्द-संकल्प

जब शब्द छरिन्छ्न हावासरि, तिनको हुँदैन ख्याल  
जब शब्द भरिन्छन् बेलुनमा झैंहेर्नेहरु छ्यालब्याल  
अब शब्द शब्दमा पंख हाल्छु म, शब्दले भर्छु उडान 
शब्द शब्दका स्वप्न कोर्छु म, डाकी सुनौलो बिहान 

जब  शब्दहरुमा शक्ति भरिन्छ, शब्दले ठेल्छ्न ज्वार
शब्द शब्दले तीर खेल्दछन, शब्दले  काट्छन  धार   
अब शब्द शब्दका ताल रच्छु म, शब्द शब्दका छाल
शब्द शब्दमा भर्छु छट्पटीहर छट्पटीमा चाल   

जब शब्द छरिन्छ्न हावासरितिनको हुँदैन सार   
जब शब्द भरिन्छन् पांग्रामा झैंयात्रा चल्छ अपार
अब शब्द शब्दमा ज्यान भर्छु म, शब्द शब्दमा प्राण 
शब्द शब्दमा भर्छु स्वाभिमानस्वावलम्वी पहिचान 


अब शब्दहरुमा रंग भरेर पोत्नुछ यो संसार 
झलमल जगमग इन्द्रेणीमय रच्नुछ ढोका झ्याल
अब शब्द शब्दमा .........

Thursday, April 12, 2012

शहर बढेपछि

शहर बिस्तार भयो भन्छन

सांघुरिनु नै यसको नियति भएको छ


साँघुरा घर/ बस्ती

साँघुरा स्कुल/ कार्यालय

साँघुरा सडक / गल्ली

र सांघुरै सबारी साधनहरु

मान्छेको भीड मात्रै ठूलो

टेक्ने ठाउँ जहाँतहीं साँघुरो

शहर ठूलो भयो भन्छन

नपुग्नु / नअट्नु नै यसको परिणति भएको छ


बच्चाबच्चीलाई खेल्ने चौर छैन

बुढाबुढीलाई टहलने पार्क छैन

अस्पताल त व्यस्त सडकमै छन्

नदी किनारैमा पनि

उभिएर हेर्ने ठाउं छैन

अब त 

फेवाताल पनि साँघुरियो/ घेरियो रे !

कहांबाट खिचुं हजुर, माछापुच्छ्रेको तस्बीर

शहर अग्लिंदा समेत

रहर खस्किने गरी क्षति भएको छ


ए विकासे अड्डाका ...साहेबहरु !

मन फुकाउनलाई

चाक्ला ठाउँहरु कतै रहन देउ न

तिम्रा तर्कना / योजना पनि

सेतीको खोंचभन्दा

झन् कति साँघुरा हुन् ?


शहर फैलियो भन्छन

मनै खुम्चिएर पो दुर्गति भएको छ !

Thursday, March 22, 2012

पहाडमाथिको अनुसन्धान

चारैतिरबाट मानिसहरु पहाड खोस्रिरहेछन

पहाडमाथि अनुसन्धान भैरहेछ


कोही छिनो फोर्दैछन

कोही तस्बिर हेर्दैछन

कोही रसायन हाल्दैछन

कोही आगो बाल्दैछन्

कोही धुलो झार्दैछन्

कोही दुलो पार्दैछन

कसैसंग पनि असिमित औजारहरु छैनन् यतिबेला

जे छन्, त्यसैले बिचार्दै छन्

पहाडलाई बुझ्ने -आफ्ना तरिका छन्

भिन्न भिन्न सोच

तर एकैखाले अठोट छन्


कहिले उनीहरु आफैंलाई हेरेर हांस्छन्

कहिले अर्कालाई हेरेर हांस्छन्

असमन्जसमा

कपाल कन्याउँछन्

निधार समाउँछन्

र फेरि उर्जा निकालेर

गम्भीर हुँदै काममा लाग्छन

पहाड बुझ्नु सजिलो काम त होइन रहेछ

पहाडभित्र पनि असंख्य पहाड छन् भन्छन कोही

पहाडबाहिर पनि अनगिन्ती पहाड देखिएकै छन्

सम्पूर्ण अनुसन्धान

पहाडको मझेरी छ भन्ने अंदाजमा भएको छ

त्यहाँ पुगेपछि

पहाड बुझिन्छ भन्ने विश्वासमा भएको छ

सबै पहाडहरु भने

बुझिन्छ कि के गर्छ

बिबादमै रहेको छ


पहाडको अनुसन्धानसंगै

ससाना परिणति ठुल्ठुला सम्भावनाका

ढिस्काहरु जम्दै जम्दै 

अर्को पहाड खडा भएको छ

अब पहाड बुझ्न आउनेहरुले

दुवै पहाड नखोस्री धर छैन,

पहाड राम्ररी बुझ्ने अर्को उपाय पनि त छैन !


Saturday, March 10, 2012

फुकुशिमा !

जब

बांचिराखेको जिन्दगी

र सांचिराखेका सपना

फर्लक्कै पल्टिएर निमेषमै

छिया छिया बन्छन बिपनीमा

तब

सम्झाउने कोही हुनु र

सम्झिनुभन्दा अर्को बिकल्प हुँदैन बिपत्तिमा

फुकुशिमा !


सदियौंदेखिको धर्तिको गुम्फनले

जब बाटो खोज्यो बिष्फोटनको

हठात्

असह्य झाँक्री कम्पन निकालेर यसले

घचक्कै काँधमा उठाएर महासागरलाई

घोप्ट्यायो मानव बस्तीहरुमा

स्थिरताका हर नियम उल्लङ्घन गर्दै

उर्लिएर आयो पानीको राक्षस पहाड

त्यसले

तासका थुप्रालाई झैं

तान्दै पछार्दै गर्यो -

असंख्य जीवन बहार

सभ्यताका हर सुन्दर उपहार

घर, मन्दिर, स्कूल, अस्पताल

बाटा, खेत, बन, पैदावार …….

निमेषमै सबथोक गले, ढले क्रुर भुँवरीमा

छोडेर सारालाई अथाह अश्रु जलधिमा

यो के भयो फुकुशिमा !


कहिले रंगीबिरंगी पातले

कहिले सेतै फूलले

र कहिले सेताम्य हिउंले

छ्पक्कै छोप्थ्यो यहाँ,

सधैंभरी पार्कहरुमा

बच्चाबच्चीहरु रमाई रमाई खेल्थे

प्रौढ़हरु टहलाउंथे

हानाबी र हानामी मनाउँथे - फूलसंगको सामिप्यतामा

आज जमिन छ, खेत छैनन् 

कहीं खेत छन्, घर छैनन्

घरमात्रै छन् कति, मानिस छैनन्

मानिस भएकै ठाउंमा पनि

सबैथोक सुनसान छ

घरबाहिर दिउँसै मसान छ

बडेमा कुडाकर्कटका पहाडहरु

र तिनमा समेत लुकीढुकी बसेको

आँखाले देखिने, न छामेर भेटिने

कुन बिषले ढाक्यो, हरे ! यो भूमिमा

फर्की बस्न समेत

निषेध टाँसेको, आफ्नै मझेरीमा

फुकुशिमा !


छिया छिया सबथोक-

कहांबाट फेरि के के जोड्ने हो थाहा छैन

जिन्दगीलाई फेरि कसरि खोज्ने हो थाहा छैन

जो गुम्यो त्यहि नभए पनि

केहि त गर्ने अठोटले,

सम्झाउने कोही हुँदा

सम्झिनुभन्दा अर्को सन्तोष हुँदैन बिपत्तिमा

फुकुशिमा !


javascript:void(0)