Saturday, September 29, 2012

यात्रानिर्णय

शहरसँग मैले रहरहरुको कुरा गरें

शहरले भन्यो –  म अलि सांगुरै छु

तिमीलाई त अटाएकै छु आजसम्म

 तिम्रा रहरहरुलाई अटाउन सक्तिन


त्यसपछि मैले

सडकसित आफ्नो यात्राको कुरा गरें

सडकले भन्यो – त्यति दुर पुग्न सम्भव होला र ?

तिमीलाई त हिंडाएकै छु आजसम्म

तिम्रो यात्रालाई हिंडाउन सक्तिन


त्यसपछि पहाडसंग राखें मैले आफ्ना आकांक्षा

पहाडले भन्यो – मेरो छाती टेकेर उठ्ने यतिसम्मै हो

उठ्यौ,

तिम्रा आकांक्षाको उचाईसम्म उठ्न म कहाँ सक्छु र ?


ताराहरुलाई अझै उचाइमा देखेर

आफ्नो गन्तब्य सुनाएँ

ताराहरुमा पनि अन्यौल रहेछ:

भने - यत्तिका हामी टिल्पिलाएर पनि

आकाशमा थुप्रै अंध्यारा खोल्सा छन्

हराउने प्रबल सम्भावनाहरु छन् ,

भो आफ्नै धर्ति सम्हाल्नु बेश होला

एउटा यात्रा टुंगियो भने

अर्को थाल्नु बेश होला


यस्ता थुप्रै सुझावहरु सुनेपछि

कसैसंग केहि नसोधी

नदिको किनारै किनार

एक्लै हिंड्न शुरु गरें म |

No comments:

Post a Comment

javascript:void(0)