जब
बांचिराखेको जिन्दगी
र सांचिराखेका सपना
फर्लक्कै पल्टिएर निमेषमै
छिया छिया बन्छन बिपनीमा
तब
सम्झाउने कोही हुनु र
सम्झिनुभन्दा अर्को बिकल्प हुँदैन बिपत्तिमा
फुकुशिमा !
सदियौंदेखिको धर्तिको गुम्फनले
जब बाटो खोज्यो बिष्फोटनको
र हठात्
असह्य झाँक्री कम्पन निकालेर यसले
घचक्कै काँधमा उठाएर महासागरलाई
घोप्ट्यायो मानव बस्तीहरुमा
स्थिरताका हर नियम उल्लङ्घन गर्दै
उर्लिएर आयो पानीको राक्षस पहाड
र त्यसले
तासका थुप्रालाई झैं
तान्दै पछार्दै गर्यो -
असंख्य जीवन बहार
सभ्यताका हर सुन्दर उपहार
घर, मन्दिर, स्कूल, अस्पताल
बाटा, खेत, बन, पैदावार …….
निमेषमै सबथोक गले, ढले क्रुर भुँवरीमा
छोडेर सारालाई अथाह अश्रु जलधिमा
यो के भयो फुकुशिमा !
कहिले रंगीबिरंगी पातले
कहिले सेतै फूलले
र कहिले सेताम्य हिउंले
छ्पक्कै छोप्थ्यो यहाँ,
सधैंभरी पार्कहरुमा
बच्चाबच्चीहरु रमाई रमाई खेल्थे
प्रौढ़हरु टहलाउंथे
हानाबी र हानामी मनाउँथे - फूलसंगको सामिप्यतामा
आज जमिन छ, खेत छैनन्
कहीं खेत छन्, घर छैनन्
घरमात्रै छन् कति, मानिस छैनन्
मानिस भएकै ठाउंमा पनि
सबैथोक सुनसान छ
घरबाहिर दिउँसै मसान छ
बडेमा कुडाकर्कटका पहाडहरु
र तिनमा समेत लुकीढुकी बसेको
न आँखाले देखिने, न छामेर भेटिने
कुन बिषले ढाक्यो, हरे ! यो भूमिमा
फर्की बस्न समेत
निषेध टाँसेको, आफ्नै मझेरीमा
फुकुशिमा !
छिया छिया छ सबथोक-
कहांबाट फेरि के के जोड्ने हो थाहा छैन
जिन्दगीलाई फेरि कसरि खोज्ने हो थाहा छैन
जो गुम्यो त्यहि नभए पनि
केहि त गर्ने अठोटले,
सम्झाउने कोही हुँदा
सम्झिनुभन्दा अर्को सन्तोष हुँदैन बिपत्तिमा
फुकुशिमा !
सुन्दर कविता! त्यो महाचुनामीमा जीवन गुमाउनेहरुमा हार्दिक श्रद्धाञ्जली! बाँच्नेहरु र सबै जापानी जनतामा ऐक्यबद्धता!
ReplyDelete