Sunday, March 4, 2012

राजु भाई र होचा मान्छेहरु

"आज फेरि अर्को होचो मानिस फेला पर्यो"

राजु भाई करायो-

"होइन, कति होचाहरु छन् हौ यो देशमा ?

गिनेश बुकले खोज्नै नपर्ने, अन्त/बिदेशमा "

"चुप लाग" - मैले हपारें-

"कति नै अग्लो पो छौ र हौ तिमी पनि ?

सगरमाथाको फेदीमा जन्मंदैमा

अग्लै हुनुपर्ने त्यस्तो केहि छ ? "


जनस्वास्थ्यको जागिर

हुम्लाको दरबन्दी

बाह्रै मैना देख्छु काठमान्डूमै घरबंदी

काम/कर्तब्य उतै दराजभित्रै होलान

अधिकार भने सुरक्षित,

आफूसंगै बोकेर

संघ र संगठनका बैठक तोकेर

घर/जग्गाको कारोबार समेत धानेर

यहाँ घाममा पलेंटी कस्दै

'कान्तिपुर' र 'नागरिक' पल्टाएर बस्दै

चढाएकै छौ नि हौ बर्षभरिको हांजिरी ?

कसले पो नाप्ने हौ तिम्रो दादागिरी !


अक्षर चिनेकै छौ, भाईसाहब

अन्याय पर्यो भन्दै असुलेको

दुर्गम जिल्लाको गह्रुङ्गो भत्ताले

बिदेशी अखबार पनि किन्न मिल्ला, कहिलेकाहीं

एक प्रति पढेर हेर,

चन्द्रबहादुरको देशको चिनारीमा लेखिएका

शब्द शब्दमा गढेर हेर

सम्झी ल्याउँदा,

तिमीजस्तैले हो देश बिगारेको

कुपोषण र गरिबीले ग्रस्त पारेको

धन्न हैजाले भेटेनछ रिम्खोली

सिमिकोटमा के कसो हुँदैछ हौ, आजभोली ?


यस्तैखाले अनेक ख्यालपातिले गर्दा

चन्द्रबहादुर र खगेन्द्र मात्रै होइनन्

तिमी स्वयम् र म पनि

(यथार्थमा, हामी सबै)

भीमकाय अग्ला शिखरहरुमुनि बस्ने

संसारकै सबैभन्दा होचा भएका छौं

न अरु गढ्न सक्ने, न हर्लक्क बढ्न सक्ने

बेकामका मक्किंदा घोचा भएका छौं

होचिएर पनि हुन्छ र हौ, पर्यटनको प्रबर्द्धन ?

कहिँ नभएको पछौटेपन नै यो देशको बिज्ञापन !


1 comment:

javascript:void(0)