Tuesday, June 4, 2013

सरकार हुनुको अर्थ

बिचरा !

सरकार हुनुको अर्थ

तिमीले के जानेका छौ ?

कहिल्यै हात राखेर

धर्तीको स्पन्दन छामेका छौ ?



सरकार भएको ठाउँमा

गहिरो खाडल देखिन हुन्न भन्छन

कालो बादल मडारिन हुन्न भन्छन

पहिरो जाँदैन सरकारको नजरमुनि,

बाँध भत्किंदैन,

आली खस्किंदैन भन्छन




जब एक एक टुक्रा उर्बर देश

सीमा काटेर

मरुभूमिको तातो बालुवामाथि पछारिंदै

उँटका पाइला गन्दैछ – एक, दुई, तीन

तिमी कस्को सरकार चलाईरहेछौ, महाशय !

कस्तो सरकार चलाईरहेछौ ?



सरकारको छाती ठूलो, हृदय चाक्लो हुन्छ, महोदय

धर्तीको नयनभित्र छिपेको

हराभरा स्वप्न अनुभूत गर्नसक्छ त्यसले !



तिमी भने,

ऐनका ठेलीले

आँकुरा भाँच्ने पाप रच्दै बसेका छौ

धर्तीको सारा ओस चुसेका छौ



के आश तिमीसंग ?

बिचरा !

जुका झैं कुर्चीमा टाँसिएर उँघेका छौ ,

सरकार हुनुको संवेग

तिमीले के बुझेका छौ ?

No comments:

Post a Comment

javascript:void(0)