Sunday, June 16, 2013

बन्द ?



बन्द ?
आज फेरि बन्द  ?
तिम्रो बन्दले
हाम्रो  चेत खुलेको छ
एकछाक कमाइ खानेको
रोटी खोस्न उद्धत 
तिमीजस्ता  परपीडक, परजीबी  
रक्त पिपाशुहरुको डरले
आज सडक  थर्कमान भएपनि
कुनै दिन फलामे  बुट लगाएर
हिंड्न आतुर
हाम्रा उत्सुक पाइलाहरुमा
चाबी त ठोक्न नसकौला नि ?
त्यसबखत  
क्रान्तिका  गुड्डीलाई   
लुते कुकुरको पुच्छर झैं लुकाएर  
पछिल्तिरको दैलोबाट सुटुक्क
तिमी भागेको हेर्नलाई  
हामी कहीं जानुपर्ने छैन |

Thursday, June 13, 2013

हिंसा / मैत्री



बरु,
तिम्रो छोरीलाई नभन्नु यो कुरा,
छोरालाई नसिकाउनु !

एकचोटी जो हिंसा गर्यौ तिमीले
तिमी हिंस्रक मानिस हौ,
भोली जहाँकहीं
कुनै अनौठो कारण निकालेर
हिंसा बजार्न सक्छौ तिमी
मेरो टेबल, मेरो कुर्ची
मेरो घरका झ्यालका सीसा......
यी त तिम्रा
आफ्नै खेलौना भैगए,
तिम्रा तर्कमाथि फूलगुच्छा नबर्साए
मेरो ढाड तोड्न सक्छौ तिमी,
मेरो घाँटी निमोठ्न सक्छौ,
एकचोटी ट्रिगरमा बसिसकेको हात
एकदुई गोली
भ्याच्चै ठोक्न पनि सक्छौ,
आज “छैन, छोडें” भनौला, म पत्याउँला,
भोली सखारै
त्यही भिरेर फूर्तिसाथ
गौंडा छेक्न सक्छौ तिमी !

मन जो यत्ति हिंस्रक हुँदैनथ्यो,
दुर्भाग्यबश, 
त्यही तिम्रो मन भएको छ !

भैगो साथी,
आजलाई बिदा हौँ,
तिमी सद्दे र समझदार छँदै
तिमीसंगको मैत्रीबारे
हजार कुरा सोच्नु पर्छ मैले,
हजार चोटी !

Tuesday, June 4, 2013

सरकार हुनुको अर्थ

बिचरा !

सरकार हुनुको अर्थ

तिमीले के जानेका छौ ?

कहिल्यै हात राखेर

धर्तीको स्पन्दन छामेका छौ ?



सरकार भएको ठाउँमा

गहिरो खाडल देखिन हुन्न भन्छन

कालो बादल मडारिन हुन्न भन्छन

पहिरो जाँदैन सरकारको नजरमुनि,

बाँध भत्किंदैन,

आली खस्किंदैन भन्छन




जब एक एक टुक्रा उर्बर देश

सीमा काटेर

मरुभूमिको तातो बालुवामाथि पछारिंदै

उँटका पाइला गन्दैछ – एक, दुई, तीन

तिमी कस्को सरकार चलाईरहेछौ, महाशय !

कस्तो सरकार चलाईरहेछौ ?



सरकारको छाती ठूलो, हृदय चाक्लो हुन्छ, महोदय

धर्तीको नयनभित्र छिपेको

हराभरा स्वप्न अनुभूत गर्नसक्छ त्यसले !



तिमी भने,

ऐनका ठेलीले

आँकुरा भाँच्ने पाप रच्दै बसेका छौ

धर्तीको सारा ओस चुसेका छौ



के आश तिमीसंग ?

बिचरा !

जुका झैं कुर्चीमा टाँसिएर उँघेका छौ ,

सरकार हुनुको संवेग

तिमीले के बुझेका छौ ?

Monday, June 3, 2013

बोधराजजी.........

बोधराजजी.........!
तपाईं पनि विदेशै पलाउनु भो,
एकजुग उतै हराउनु भो
सुन्छु,
धन निकै कमाउनु भो,
जीबन कति बनाउनु भो ? 

कोही भन्छन, अब...
उतै रमाउनु भो,
साथीभाइ समेत नयाँ पाउनुभो,
सम्झने र सोधीरहने
हाम्रो के कुरा भो र ?
जब मनै उता खन्याउनु भो !

बाह्र बर्षमा
खोलो पनि फर्किन्छ भन्छन,
यहाँले त्यो समेत कटाउनु भो,
न कुनै चिट्ठी पठाउनु भो,
न सम्झी कसैसंग जताउनु भो !

बोधराजजी,
स्वप्न त स्वदेशकै ठूला ठूला थिए,
तपाईं पनि विदेशै पलाउनु भो,
याद हाम्राजति जलाउनु भो,
स्वप्न आफ्ना कति फलाउनु भो ?

बोधराजजी.........!

हजुर, यहाँ त....



हजुर, यहाँ त प्रोफेसर पो,
पार्टीकै भरियामा मुकर्रर भो ?
यो हजुरकै क्षमताको कदर हो
या गाडी बंगलाको रहर हो ?

पाठशालामै ब्यापार सदर भो ?
एक पन्थ, दुइ काज नजर भो ?
हजुर, यहाँ त प्राध्यापक पो,
यो लालच बेढब, अनाहक हो !

हजुर, यहाँ त प्रोफेसर पो,
कुमति हजुरकै ठहर भो !
न आफू सफा, न कुर्ची सफा
चारपाउ हिलोमै, जहर भो !

हजुर, यहाँ त प्रोफेसर पो,
सरकार, पत्रकारको के डर भो ?
प्राज्ञबल त ठूलो आत्मबल पो,
देख्तादेख्तै त्यो बल ढलपल भो !


javascript:void(0)