कविताको
बिषय खोज्दै थिएँ,
चेतनले
भन्यो,
हामी
स्कूलको होस्टेल बस्दा
आलु
ताछ्थे एकजना दाई,
चालीस बर्ष
आलु
ताछेरै बित्यो उनको,
आखिर
एकदिन
आलु
ताछ्दाताछ्दै
ड्यांङ्ग लडेर बिते उनी,
आह
! जीबन यसरी पनि कट्दो रहेछ !
उस्का
कुरामा कुनै काब्य-तत्व नभेटेर
भित्तातिर
फर्कें,
र
एकछिन सोचिरहें,
हठात्
सम्झें,
म पनि चालीस बर्ष पुगें
म पनि चालीस बर्ष पुगें
थाहै
नभई,
टीक-टीक
बजिरहेको भित्तेघडी देखाएर
बुझक्कड झैं, उसलाई भनें –
हेर,
धेरै सालपछि भेट्यौं हामी,
संसारलाई
यसरी कुदाउने घडी त
आफु
जहाँको त्यहीं रहन्छ,
र
एकदिन प्वाक्क खसेर फुट्छ, भुइंमा
जीवन
त्यस्तै न हो !
उसले
के बुझ्यो, कुन्नि !
आफ्नै
उत्तरले असन्तुष्ट म भने
अझै
पटक पटक झस्किन्छु -
कतै
म पनि
आलु
ताछिरहेको त छैन,
यस्तै
कविताको नाममा ?