Saturday, December 31, 2011

हिउँप्रतिको अनास्था












खासैमा हिउँ

टाढाको एउटा मोह रहेछ

तृष्णाको फोस्रो आरोह रहेछ

पहाडहरु माथि चुलिएर

रंगबिरंगले सजिएर

दिनमा चारपटक रुप फेरेपनि

हिउंसंग

खासै सौहार्द्रता केही रहेनछ

खासै आत्मियता केहि रहेनछ


मुक्तिनाथ यात्रामा निस्केका हामीहरु

हिउँ हेर्न भनेर दंग थियौं

हिउँमा हिंड्ने भनेर फुरुंग थियौं

पहाड माथिबाट जहाज उड्दै गर्दा

एक चोक्टा हिउँ कतै देखेपनि

ऊ हिउँ भनेर कराउँथ्यौं

हिउँको बिशाल फाकट कल्पेर

रहस्यको नगरीमा हराउँथ्यौं

अब भने हामी आफैंप्रति हाँसिरहेछौं

हिउँका चालबाजीका कथा गाँसी रहेछौं


बताससंग फुर्र फुर्र उडेर

आँखा आँखामा बिझाउन आउने

ढिस्का ढिस्का खसेर

ठाउँ कुठाउं

बाटो खोल्सो एकसमान जमाउने

यो के गरेको हो हिउँले ?

हिंड्दा हिंड्दै गुमराह भयौं हामी

खच्चड पो बन्यो हाम्रो कोलम्बस त्यसपछि

उसका पाउछाप हाम्रा राजमार्ग !


यार, त्यत्रो दोस्ती बोकेर गइयो हिउँ भनेर

दिनभरी उसकै प्रदेशमा हिंडियो, लखतरान हुँदै

हर्हरी खरो त उठायो नै,

अनुहारभरि पोतोले डामेको रहेछ

भुवै भुवाले

अटेसमटेस जीउ ढाक्दा पनि

रातै हुनेगरी

नाक, कान र औंलामा छामेको रहेछ

दिउँसो अरु हेर्न मन भएन,भएन

राति सपनामा पनि

सुकलाम्य सेतोपनले गिथोल्न आइपुगेपछि

हामी हतार हतार घर फर्क्यौं


ए हजुर ,

आफु त्यस्तो चिसो भएर पनि

आगो झैं भत्भती पोल्न खोज्ने

हिउँको बेइमानीको के कुरा गरौँ

घामसंग आफु हारेको रिसमा

पाइला पाइलामा अरुलाई चिप्ल्याउने

हिउँ त खुनी, बैगुनी पो रहेछ


बहुरुपी भएपनि

हिउँ उसैलाई भनेर मरिमेट्नु पर्ने

बहुगुणी चिज होइन रहेछ

हिउँ, ‘आहा भनेर मक्ख हुँदै

छुनजाने चिज होइन रहेछ !

2 comments:

  1. प्रकृतिका स- साना कुराहरुले आल्हादित हुने कबीको कोमलो मनमा त्यो "बेइमानी" हिउँले निकै बाक्लो पत्र जमाए जस्तो लाग्यो नि !!

    ReplyDelete
  2. यो पानी कस्तो बेइमानी भनेर केही वर्षअघि नेपाली फिल्मको एउटा गीत खुबै चलेको थियो । अब बैगुनी हिउँ भनेर अर्को किस्सा जोड्नुपर्ने भयो ।

    कविको हेराइ टाढा र नजिकको दाँजोमा छ । टाढाको आकर्षण नजिक पुग्दा चोइटिँदै जाने मानवीय भावनाको झलक पनि कविताले दिएको छ । कुनै पनि वस्तु-व्यक्तिसँग नजिकिंदा तृप्ति भरिएर विरक्ति पैदा हुने एउटा कुरो हो भने त्यो वस्तु-व्यक्ति नै खराब भएर उपेक्षाभाव जाग्नु पनि अर्को पाटोमा छ ।

    ReplyDelete

javascript:void(0)