Tuesday, September 1, 2020

ए हरि जिन्दगी !


यार दम्भ कति, राम आत्मरति

धार शब्द कति, भोले यो छ मति

ए हरि जिन्दगी....................४

 

रिस उठ्छ कति, झोंक चल्छ कति ?

झिल्का छुट्छ कति, आगो बल्छ कति ?

साँप टोक्छ कति, बिष बोक्छ कति ?

साँढ मैमत्त छ, माथ ठोक्छ कति ?

 

माथ ठोक्छ कति, लात ठोक्छ कति

ए हरि जिन्दगी -----------------२

 

यार पुग्नु कहाँ, राम उड्नु कति ?

'वाह वाह', शिव! ताली सुन्नु कति ?

बेग दाब्नु अझै ! थाम्ने खै संगती ?

श्याम हुन्न खति ? रोक त्यो दुर्गति !


कृष्ण सुध्रोस् मति, दूर होस् दुर्गति 

ए हरि जिन्दगी ...................२ 

 

मिल्नु मट्टि न हो, जल्नु अग्नि न हो

बग्नु पानी न हो, लग्नु साँच्चै के हो ?

भोग, मोह कति, तृप्ति, श्री संचिति 

भेद, भाँती भरम, ए हरि जिन्दगी !

 

धार शब्द कति, प्यार आत्मरति 

ए हरि जिन्दगी .................२

Wednesday, August 26, 2020

सवाल-जवाफ

 

‘हामीले न्याय पाएकै छैनौं, हजुर’

जनताले सोधे-  

‘हामी कसरी न्यायप्रेमी जनता भयौं ?’

उहाँले भन्नुभयो-

‘न्यायप्रेमी हुन न्याय पाउनैपर्छ भन्ने छैन,

न्यायलाई प्रेम मात्रै गरे पुग्छ

जस्तो कि एउटा केटाले केटीलाई प्रेम गर्छ’

 

‘हामीले कुनै मुक्ति देखेकै छैनौ, हजुर

भोकबाट, रोगबाट, शोकबाट या निराशाबाट’   

जनताले सोधे-

‘हामी कसरी मुक्तिकामी जनता भयौं ?’

उहाँले भन्नुभयो –

‘मुक्तिकामी हुन मुक्ति पाउनैपर्छ भन्ने छैन,

मुक्तिको रहर मात्रै गरे पुग्छ,

जस्तो कि भगवानका भक्तहरुले गर्दछन,

कृष्णजीका, शिवजीका !’

 

‘हामी आजसम्म कुनै चिजका मालिक बन्न सकेका छैनौं

न घरको, न खेतको, न नदीको, न सिमानाको’      

जनताले फेरि सोधे-

‘हामीलाई किन सार्वभौमसत्ताका मालिक भनियो ?’

उहाँले भन्नुभयो – ‘त्यो त संबिधानमा लेख्नै पर्ने भएर हो

त्यो सबैले जान्नैपर्ने कुरा पनि होइन,

त्यो नलेखी परिवर्तन सम्भवै थिएन, त्यसैले ’

  

‘अनि, अब अन्तिम प्रश्न नेताज्यू

हामीलाई बिबेकशील, चेतनशील नागरिक चाहिं

किन भन्नुभयो नि हजुरहरुले ?’

उहाँले भन्नुभयो-

‘ए, यो त साँच्चिकै, प्रमाणितै कुरा पनि हो,

यसको जवाफ म यसरी दिन्छु 

ध्यान दिएर सुन्नुहोला - 

तपाईंहरुकै तीब्र चेतनाको भरमा

तपाईंहरुकै बिबेकशील निर्णयको आधारमा  

अहिले हामी सत्तामा छौं

र सहर्ष यो भनिरहेका पनि छौं

कि तपाईंहरु ढुक्क हुनुस्,

हामी इमान्दारीपूर्वक,

बिना कुनै हिच्किचाहट

त्यो पछिसम्म पनि भनिरहेका हुनेछौं |’

Wednesday, June 3, 2020

पश्चाताप

प्रेतात्मा भएर घुमिरहेको
एउटा उहिल्यैको मृत मानिस
सुस्केरा हाल्दै भनिरहेको थियो-
साथी हो, म कसरी बाँचें
त्यतिविधि कुरूप जीवन
त्यतिविधि विभत्स शृंखला रचेर
यो जता हेर्यो उतै सुन्दर धर्तीमा
मैले किन काँडा र पर्खाल मात्रै देखें ?
मैले किन आक्रमण र प्रतिरक्षा मात्रै सोचें ?
किन जोकोहीलाई दुश्मन या साधन मात्रै सम्झें
सामान्य मानिस भन्दा अलग्गै रुपमा ?
यतिबेलाको जस्तो निरपेक्ष बोध
किन भएन त्यतिबेला, म बाँचुन्जेल ?
साँच्चै मैले मभित्रको संसारमा
कतिबिधि फोहोर थुपारेको रहेछु
या कोही थियो ममा त्यो भरिदिने ?
मैले त्यसो किन गरें ?
हरे,
मसंग आज शरीर छैन
र छैनन् इन्द्रियहरु
कसैसंग कुनै सम्पर्क गर्ने माध्यम पनि छैन
तर एउटा सुन्दर जीवन
सुन्दरताको अनुभव बिना नै गुमाएको
पश्चातापमा छटपटाउँदै
म घुमिरहेको छु |

अविश्वास
शंका
घृणा
लालच
अहंकार
इर्श्या
प्रतिस्पर्धा
क्रोध
कटाक्ष
बदला
प्रतिशोध 
अपमान
अपशब्द
घोचपेच
पक्षपात
शोषण
दमन
जालसांजी
झूठ
.......................................
आदि आदि !

ए सुन, मेरो कुरा ध्यान दिएर सुन-

अरुप्रति खराब सोच्दा सोच्दै सकिन्छ
खराब मान्छेको जीवन शक्ति
आफ्नै बडप्पन गाउँदा गाउँदै घटेर
सानो भैसक्छ अभिमानी व्यक्ति

सुन्दैछौ नि, अझै सुन !

अरुलाई नराम्रो देख्दा देख्दै निभ्छ
नराम्रा मान्छेको आँखाको ज्योति
अरुलाई नराम्रो भन्दाभन्दै
सकिन्छ……………………
नराम्रा मान्छेको जिन्दगी !

हो,
म त्यही नराम्रो मान्छे थिएँ,
र आज
एउटा सुन्दर जीवन खेर फालेको पश्चातापमा
भट्किरहेको छु, भट्किरहेको छु |

Monday, May 25, 2020

कमरेड मोहन सुनारका नाममा एक सांसदको पत्र


कमरेड !
यो कोरोनाले आक्रान्त समयमा
गत चुनावको बेलामा जस्तै
चाहेर पनि तपाईलाई अंगालो मार्न सक्तिन
देशमा अनन्त सम्भावनाहरु छँदाछँदै पनि
अरबको खाडीमा पुगेर देहान्त भएका
आफ्नो भाइको शोकमा डुबेका तपाईंलाई
नजिकै, छेवैमा पुगेर  
सहानुभूति प्रकट गर्न पनि सक्तिन
यो प्रदेशका
सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनताको
सम्वृद्धि र उन्नतिको लागि
बिकासको खाका कोर्दाकोर्दै  
अत्यन्त व्यस्त समयका बाबजूद
संसद भवनको क्यान्टिनबाट
खाली एउटा तार पठाएको छु
एक अनन्य मित्र,
एक सहृदयी सुभेच्छुकका नाताले
असीम प्रेमको प्रस्ताव राख्दै
यो समाचार पठाएको छु
कमरेड, मलाई अप्ठेरो नपार्नुस् !
हेर्नुस्, अहिल्यै कहाँ आइपुगेको छ र
हामीले खोजेको व्यवस्था,
अहिल्यै कहाँ छोडिसकेको छ र
समाजले संस्कृति र परम्परा ?
कहाँ भैसकेको छ र चीनको
कमरेड माओले चलाएजस्तो सांस्कृतिक क्रान्ति ?
हामी त निरङ्कुश र सामन्ती ब्यबस्था तोडेर
एक कदम अगाडि पुगेको मात्रै न हो
तपाईंजस्ता अग्रगामी सोच भएका
मुक्तिकामी जनताको भोटले म सांसद भएको
यो त बल्ल सुरुवात न हो परिवर्तनको
अन्तिम शानदार बिजयको खातिर
एक कदम तपाइँ हार्नुस्
कमरेड, मलाई अप्ठेरो नपार्नुस् !

बडो दुक्ख लागेको छ मलाई
मेरो आफ्नै भाइजस्तो
तपाइंको भाइको निधनको खवरले
तर मलाई किन लखेटिरहेछन् कोही
दुश्मनकै तवरले ?

कमरेड, यहाँले भन्दा
दश बीस ठेली मार्क्सबादका किताब
बढी नै पढे हुंला मैले
यहाँले भन्दा दुई चार दर्जन नै बढी
देश विदेश घुमेहुँला म
शोषण उत्पीडनबाट मुक्तिका खातिर
बर्ग संघर्षको आबश्यकतामाथि
कैयौं ठाउँमा कैयौं प्रशिक्षण पनि दिए हुंला
निरङ्कुश शासनका बेलामा
लाठी मुन्ग्रा पनि खाएँ, सहें हुंला
त्यसैले त अहिले म म भएको छु र
मैले तपाईंलाई पनि तपाईं बनाईदिएको छु
कसैले केही नगरिदिए
कसको के बन्छ र नेपालमा ?

त्यसैले, छाड्नुस, कमरेड छाड्नुस्
बितिसकेको भाइको क्रिया बस्न नपाएको
जाबो एउटा क्रियाघरको बिषयलाई लिएर
हृदयमा खील नगाड्नुस्
असीम धैर्य हुनुपर्छ, हामी क्रान्तिकारीहरुमा
क्रान्ति सम्पन्न नहुन्जेल
क्रान्तिका नायकहरुलाई
ससाना कुराले बिथोल्न हुँदैन
क्रान्तिका सहयोद्धाहरुले
नायकको तिलस्मी बलिदान पनि भुल्न हुँदैन
कमरेड,
हामीले अझै कहाँ ल्याइसकेका छौं र साम्यवाद ?
कहाँ निर्माण भैसकेको छ र समतामूलक समाज ?
प्रयास हुँदैछ,
र म जुटिरहेको छु त्यसको अथक प्रयासमा
र जुटिरहन्छु  निरन्तर
अझै दुइ चार वटा चुनाब हामीले नजितुन्जेल
कहाँ पुरा हुन्छ र हाम्रो सपना
त्यसैले कमरेड, छाड्दिनुस्,
तपाइंको मनमा यतिबेला
अपमानको आलो घाउजस्तो
म जे देखिरहेछु  
त्यसलाई अब नकोट्याउनुस्
यो महान पार्टीका दुश्मनहरु हाँस्ने गरेर
समबेदनाको नदी नबगाउनोस्

कमरेड, कृपया
तपाइंले यत्ति बुझिदिनुस्
बुर्जुवा पुंजिबादको चेपुवामा
हामी यसरी परेका छौं कि
'संसारको सबैभन्दा सुन्दर चिज
जनताको मतदान नै हो' भन्नु परेको छ   
र फेरि पनि
त्यही सबैभन्दा दुरुह भएको छ
त्यसैले, हाम्रो अन्तिम लक्ष्यका खातिर
बीच बाटोमा
जे जे अभिनय गर्नुपरेपनि म छंदैछु
ममाथि भरोसा गर्नुस्
यतिबेला तपाईं
प्रतिगामीको जालमा नपर्नुस् |

Friday, May 8, 2020

तेजोवधको घोषणा र बुद्धपुर्णिमा


थोरै भए पनि अँध्यारोमा
एक एक दियोहरु बलिरहेको बेला

गाह्रै भएपनि अक्करमा

एक एक फूलहरु फूलिरहेका बेला

मानिसहरु आफ्नो धर्म सम्झेर

भोकालाई खुवाउन
र रोगीलाई बचाउनको लागि
आफ्नो छाक त के
प्राणसम्म उत्सर्ग गर्न तयार भएको बेला

एकथरी सिनोमा घुमिरहने गिद्दहरु

सिनोबाहेक केही नसोच्ने मांसभक्षीहरु

उन्मादको आगो ठोस्दै

अहंकारको गीत गाउँदै

दुखीहरुलाई सराप्दै

पौरखीहरुलाई खिसिट्युरी गर्दै

संरक्षक हुनुको अभिनय गरिरहेछन्


'कसैको घरमा बोको काटेमा....

कसैको घरमा दुलही भित्र्याएमा.....

कसैले दान,यज्ञ, भोज चलाएमा.......'
आह,
लिगलिगकोटका मानसिंको झल्को दिनेगरी

घोषणा पढिरहेका छन्-


"ए चाकडी नबजाउने प्रहरी !
ए चाप्लुसी नजानेका डाक्टर !
ए खोट मात्रै खोस्रने इन्जिनियर !
ए भोट मात्रै घटाउने पत्रकार !
ए भ्रष्टाचारको राग गाउने कलाकार !
ए स्वस्ति गर्न नजान्ने प्राध्यापक !
ए देखेको कुरा फटाफट बोलिहाल्ने 
पाईलट या प्रशासक !
.........
अब, कान खोलेर सुन !
नभए, इतिहास पल्टाएर हेर !
भीम काजीहरुको क्षति र गेहेन्द्र समशेरको नियति 
'मकैको खेति' र सुब्बा कृष्णलालको दुर्गति 
यो मुलुकको मूली जो छ 
उस्ले आफ्नो खिलाफ ठान्यो भने    
निमोठ्न सक्छ सहजै फूलहरुको कण्ठ

या उखेलेर फालिदिनसक्छ बोट  

पोखिदिन सक्छ दियोको तेल

या निकालेर फालिदिन सक्छ ज्योति-धागो
अरुलाई लागेको निषेध उसलाई लाग्दैन

अरुमा हुने लज्जाबोध उसलाई हुनुपर्दैन 
मात्र उसलाई सिनो पुगिरहनुपर्छ
पर्याप्त, स्वादिष्ट सिनो !  
जसका निमित्त ऊ 
इन्द्रेनीका रङ्गहरु पनि

थुतेर मिल्काउन सक्छ 
मध्यरात्रिको सन्नाटामा 
कसैको घर फोड्ने तारतम्य रच्छ
र नसके 
एक पोलो बारुला उडाएर 
स्वजनहरुकै समेत सातो लिन्छ 
थाहा छ ?
बिहानको कलिलो घामको पनि
तेजोवध गर्नसक्छ उसले

साँझको शितल चन्द्रमाको पनि

तेजोवध गर्न सक्छ उसले

लुट्नसक्छ उसले पौरखीहरुको पसिना

र निल्न सक्छ ज्यानै पनि !"

तथागत,

यत्रो हिंसाको भय लट्काएर शिरमाथि   

यत्रो अहंकारको तमासा मच्चाएर आँखै सामुन्ने

तेजोवध गर्दै यो बुद्धभूमिको

उही स्टाटस लेखिरहेछ हजुरको नाममा

र बाँडिरहेछ ओठे शुभकामना -

'अप्पो दीप भव:

अप्पो दीप भव:

बुद्धम शरणं गच्छामी !'

Monday, April 13, 2020

नयाँ बर्ष र भयाक्रान्त स्वरहरु











पाठक महोदय !
यो कविता होइन, समाचार हो 
र यसमा आजैको खबर छापिएको छ 
अघि कहिल्यै कसैले नजानेको  
यो 'लकडाउन' र 'क्वारेन्टाइन'को समयमा सुनिएका 
अनपेक्षित र अनमेल आवाजहरू 
यहाँ यथारूप प्रेषित गरिएका छन् 
  
खबर आफैंबाट शुरु गरौं,
मध्यरातमा
चराहरु सधैं झैं निदाइसकेका हुन्छन्
सडक चकमन्न हुन्छ,
एकाएक कोठाभित्र
किताबको दराज मचक्क गर्छ,
झ्यालका खापा कक्रक्क पर्छन्,
ढलानघरको छतको रड टन्ग्रंग बज्छ
र टिनको छाना समेत कटक्क गर्छ 
बादल एकपल्ट गडंग गर्छ
र पानीका दुइचार थोपा मात्रै झारेर 
हठात् चुप लाग्छ,
कुनामा थन्क्याएको मेरो किबोर्ड समेत 
आफैं कर्र कर्र गर्छ
यसरी शुरु हुन्छ, यो पल्टको नयाँ बर्ष !

अब देशका कुरा गरौं,
धेरै भयो, अखबार आएका छैनन्
तर खबर असाध्यै धेरै आएका छन्
प्रधानमंत्रीको 'भिडियो कन्फरेन्स'देखि  
पत्रकारका 'लाइभ रिपोर्टिंग' समेत 
कुनै क्षण खालि छैनन् 
कोरोनाबिरुद्ध सरकारको तयारी र 
राहत वितरणका समाचारहरुले,  
तर, 
कतैबाट पनि आश्वस्त हुन नसकेर 
यसैबीचमा 
भोकले मर्नुभन्दा 
बहुलाउनु निको ठानेर 
मध्यरातमै कोही मजदूर
फिटिक फिटिक चप्पल बजाउंदै
सात आठ दिनको संकल्प गरेर  
राजधानीबाट मधेश झर्छ
र उ हिंड्दा हिंड्दै 
लखतरान भएर सुस्ताएको बेला 
बाटैमा शुरु हुन्छ नयाँ बर्ष !

त्यसरी नै
सीमापारिको क्वारेन्टाइनबाट भागेर  
पुलिसलाई छल्दै छल्दै
झाडी, बस्ती र खरबारी छिचोल्दै
अबैध बाटोबाट घर फर्किन
बिल्कुलै जनावरजस्तै चारपाउ गर्दै
मध्यरातमै कोही जंगलमा खसर खसर गर्छ  
या महाकालीमा झ्वाम्लांग हाम्फालेर
फ्याँ-फ्याँ गर्दै वारि तर्छ,
यसरी शुरु हुन्छ यो पल्टको नयाँ बर्ष !

हुन त म पत्रकार हुँदै होइन 
तैपनि, 
कुनै कबिताभंदा आकस्मिक 
आजको समाचार भएको छ 
हामी बाँचेको यो मुलुकमा 
संबिधान र सरकार बर्करार छँदा छंदै
यी पछिल्ला 
भयाक्रान्त आवाजहरुले 
मेरो अस्मितामा प्रहार भएको छ 
मेरो स्वाभिमान डगमगाएको छ| 

त्यसैले 
पाठक महोदय .............



javascript:void(0)