Thursday, October 31, 2019

खराब हावाको सकस





















यही बाटो भएर हिंडेको छ
चोर पनि, अपराधी पनि
यही हावामा सास फेरेको छ
ज्यानमाराले पनि, हत्याराले पनि
यहींको मूलको पानी पिएको छ
यिनै चार भन्ज्यांगभित्र छ उसको बासस्थान
र यहीं छन् उसका आफन्त पनि, नातेदार पनि

मलाई निम्ता बोलाउनेले बोलाउँछ उसलाई पनि
मलाई इज्जत गर्नेले तारिफ गर्छ उसको पनि
मैले गतिला ठानेका मान्छे पनि
उठबस गरेको देख्छु उसंग
संसार यस्तै हो कि म खराब हो
कहिलेकाहीं मै पनि ‘नमस्ते’ साटासाट गर्छु उसंग
र पछि पछुताउंछु
किन यति ढिट भएको हुँला म
सारा जगतले सजिलो मानेको बेला ?   

जब
उसलाई र मलाई
संगसंगै पुरस्कृत गर्छ सरकारले -एउटै अलंकारले
बधाइका घन्टी बर्सन थाल्छन् साउने झरी झैं
मेरो होश हवाश उड्छ
झन् उसैको समेत फोन आउँदा
मलाई धिक्कार लाग्छ
जिउंदै मरे झैं लाग्छ

हजुरबा भन्नुहुन्थ्यो –
हावाको ख्याल गर्नु
खराब हावा बगेको बेला
चोर साधु झैं बन्छ
साधु या त दुला पस्छ,
या चोर करार भई कुटिन्छ- चोरकै साटोमा
हावा खराब भएको बेला मानिस चिन्न गाह्रो पर्छ 
अहिले मलाई आफैंलाई चिन्न गाह्रो भैरहेको छ | 


No comments:

Post a Comment

javascript:void(0)