Thursday, September 5, 2019

पांच टुक्रा


भित्ताको प्रश्न 

घडीका सुइहरु
जब प्वाँख भएर उड्ने तयारीमा थिए
दासताको बिरुद्धमा
जोर जोर नाराहरु घन्के
ब्याट्रीहरुले पनि दिए बर्षदिनको झट्का
र संगसंगै उडे,
भित्ता उदास भयो
 एकछिनपछि
उसले किल्लालाई सोध्यो-
साँच्चि तिमीले कहिल्यै घोचेका थियौ र उसलाई ?
किल्ला नाजवाफ थियो |    


आँशुको अनर्थ  

हठात् मेरो आँखामा पर्यो
सानो कीरा
र आँसुमा भिजेर त्यो मर्यो
मलाई खूब नमज्जा लाग्यो
मेरो आँसुले कहिल्यै
कसैलाई पोलेको थाहा थिएन |


सिरकको जवाफ 

जंगल छिचोलेपछि 
घामसँग बिदाबादी हुँदै
चिसो बताससंग हल्लिंदै

म पुगें
लेकका चिटिक्क परेका लजमा
र 
कोठाको सिरकलाई सोधें –
न्यानो त छौ नि ? 
म खूबै चिस्सिंदै आएको छु 

सिरकको जबाफ थियो –
म पनि दुइ तिन दिन भयो
कठान्ग्रिएर बसेको
तिम्रै संसर्गले
न्यानो हुने आशामा छु |


फूल 

फूल, बस् ,
आफैंमा यति सुन्दर छ कि
तारिफमा उसलाई  अबिर लाइदिन पर्दैन
कसैले हार पहिर्याईदिन पर्दैन
उसको वरपर दियो पनि बालिदिन पर्दैन
फूललाई पूजा पटक्कै मन पर्दैन
तर ऊ नै नभई कुनै पुजा हुँदैन | 


शंका/ उपशंका  

कोही कोही मानिसहरु शंका खोज्दै हिंड्छन
जरूर तिनले भेट्टाउँछन् यसलाई
र यसैको 'ब्रेकफास्ट' गर्छन्

बीचमा टुप्लुक्क देखापर्छ- उपशंका
त्यो झन् अद्भूत मीठो ठहर्छ

र यसरी 
शंका र उपशंकाको खुराकले  
दिनभरि शहर चाहार्न पुग्छ | 

No comments:

Post a Comment

javascript:void(0)