Friday, August 18, 2017

यात्रामा निस्केपछि

यात्रामा निस्केपछि मानिस उही रहँदैन
म पनि उही रहिन
मेरा प्वाँख पलाए र म पन्छी भएँ
मेरो श्वास लहरायो र म बायुपंखी भएँ
मेरा नशाहरुमा अनौठो करेन्ट चढ्यो 
र पैतालाहरुले भुइँ छाडे
चौड़ेपींग खेल्न आतुर केटाकेटी झैँ
थोरै डराए पनि म धेरै खुसी थिएँ
यात्राले मानिसलाई खुसी पार्दो रहेछ
कि यात्रा नै खुसिहरुको फेरहिस्त हो ?
मैले बाटामा जो जो भेटें बेखुस यात्रीहरु
तिनीहरु आफूलाई यात्री होइन
दुखहरुको सुरुंगघडीमा सुई झैँ घुम्ने घोडा ठान्दा रहेछन्
म भनें पल पल रोमान्चित थिएं
यो लामो खुसीको उपलक्ष्यमा
स्वभावत:
अलिकति कविता लेखुं या गीत रचुं भनेर घोरिएकै हो
तर
मैले लेखेका बाहेक सारा चिज कविता भए र मलाई बगाए  
मैले रचेका बाहेक सारा चिज गीत भए र मलाई बहकाए
मैले पढेका बाहेक सारा चिज पाठहरु भए र मलाई सम्झाए
यात्राको सम्झनामा 
मैले केही तस्बिरहरु पनि खिचें
तर हरेक पल्ट सम्झना बाहिरै छुट्यो     
तस्बिरका चौघेराभन्दा बाहिरै घुम्यो मूलदृश्य
यात्रामा निस्केपछि एकथोक सोच्दा अर्कैथोक हुँदोरहेछ
यात्रामा हार्नुको पनि मजा हुँदोरहेछ 














म पलपल नयाँ भएँ
यात्रामा निस्केपछि
हावाले मलाई धकेल्यो र भन्यो – तिमी स्वतन्त्र छौ, उड
पानीले मलाई घचेट्यो र भन्यो – तिमी निस्फिक्री छौ, बग
मै रहेछु आफूलाई अटूट बन्धनमा राख्ने - स्वतन्त्रताको नाममा
र अरुलाई दोष देखाएर अल्झिईरहने  
त्यो बन्धन टुटेछ
यात्रा भन्नु नै मुक्तिको अर्को नाम रहेछ
यात्रामा निस्केपछि घाउहरु घाउ रहेनन्, हराए
यात्रामा निस्केपछि चोटहरु चोट रहेनन्, बिलाए
यात्राले सबथोक बगाई लैजाँदो रहेछ खोलाले जस्तै
र मिसाउँदो रहेछ समयको समुद्रमा
गाढा, गहिरो काँडा जस्तै लाग्ने बर्तमानलाई पनि
टाढाको अस्पष्ट डाँडा जस्तै कुहिरोमा छाड्दो रहेछ यात्राले
यात्रा अघि म शहरको मालिक ठान्थें आफैंलाई
अब नदी किनारमा बालुवा खेल्ने बालक जस्तै भएको छु
यात्रामा निस्केपछि 
यात्रा मात्रै आफ्नो हो भन्ने हुँदो रहेछ         
बाहिरका भाँती चिज देखाएर यात्राले
यात्रीलाई आफूभित्र छिचोल्न लगाउँदो रहेछ
यात्रामा निस्केपछि बल्ल
आफूलाई चिनिँदो रहेछ 
यात्रा हिंडेको निकै पछिमात्र 
एउटा अन्जान अज्ञात स्वरले    
मेरो कानैमा फुस्फुसाउँदो रहेछ,
कि, जन्मैदेखि तिमी एउटा यात्रामा छौ |

1 comment:

javascript:void(0)