Sunday, January 8, 2017

झ्याल र पर्दा



संगसंगै जुटेका हौँ हामी
झ्याल र पर्दा भएर
तर, त्यहींबाट शुरु भयो हाम्रो टक्कर

संगसंगै बसेको नाता
हामी संगसंगै खुल्नुपर्थ्यो
हामी संगसंगै बन्द हुनुपर्थ्यो
झ्याल बन्द हुँदा समेत
पर्दा अझै खुल्न मिल्थ्यो

छ्या, शितल बतास र न्यानो प्रकाश
तिमीलाई किन निको नलागेको ? 

तिमी पर्दा भएर सोच्यौ – म त पर्दा हुँ
खुल्नु आबश्यकता नै होइन मेरो
म झ्याल भएर सोचें – म त झ्याल हुँ
खुल्नु धर्मै हो मेरो
यस्तै हठलाई
हामीले आ-आफ्ना पराक्रम ठान्यौं

आखिर, आजित भएर टुटें म एकदिन   
तिमीलाई ख्यालै भएन

कारण, तिमी बाहिर हेर्दैनथ्यौ
घाम चिन्दैनथ्यौ, जुन चिन्दैनथ्यौ
झरी नजान्ने, हुरी नजान्ने तिमीलाई
गमलामा हुर्कंदै गरेको मनिप्लान्ट
खतरामा छ भन्ने के थाहा ?

लौ म हिंडे,
ए, भित्र कोही त होला
  यो कक्रिएको पर्दालाई पन्छाएर 
एकपल्ट बाहिर चियाइहेर्नु 
यतिन्जेलको मेरो उफानी सकस 
चर्केका खापाका डोबहरुमा पढ्नु |

1 comment:

  1. हेर्नुहोला साहित्यकार तथा पत्रकार दिया चन्दको यो लभर नम्बर वानको भिडियो
    ttp://www.imandarmedia.com/2017/01/lover-number-1_9.html

    ReplyDelete

javascript:void(0)