“आज पहिलो दिन, म के बनाउँ”
कलाकार गुरुले सोधे
स्कुले नानीहरुले मजाकमै भने
आँखाको नानी सर !
एउटा असाध्यै ठूलो – तपाईंभन्दा
पनि ठूलो
र अर्को असाध्यै सानो-
हामीभन्दा पनि सानो |
कलाकारले पहिले ठूलो नानी
बनाउन बसे
आकार बढ्दै गएर नानी गुच्चा
जत्रो भयो
स्याउ जत्रो भयो
भकुण्डो जत्रो भयो
त्यसपछि
जाँतो, ट्रकको पांग्रा, बौद्ध
स्तुपाको पिंध, दशरथ स्टेडियम,
रिंगरोड जत्रो हुँदै हुँदै ...................
पृथ्वी जत्रो
सौर्यमंडल जत्रो
आकाशपुन्ज र ब्रम्हाण्डजत्रो
भयो
कलाकार अत्तालिए
उनले भने - रंगहरु असाध्यै
फिका हुँदै गए
पुरै चित्र
असंख्य
फैलिईरहेका, हराइरहेका,
फेरि निस्किईरहेका
पानीको फोकाजस्तै धब्बाहरुको
कम्जोर संयोजन बन्यो
मेरो कुची रंगमा चोपिन
नपाउंदैमा
मेरा रंगहरु क्यानभासमा
पोतिन नपाउंदैमा
कुनै असती बेग हावाले उडाए
झैं
रंगहरु टाढा टाढा भागिरहेको
देख्दैछु
म चक्कर खान थालेको छु |
“भो सर”, केटाकेटीहरुले
डराएर भने –
“अब सानो नानी बनाउँ”
कलाकार सानो नानी बनाउन बसे
आकार घटेर नानी
पहिले कागतीको बियाँजत्रो
भयो
त्यसपछि तिलको दानाजत्रो
भयो
र क्रमश : बालुवाको कण,
किबोर्डको डट, ज्यामितिको बिन्दु ,
सियोको टुप्पोजत्रो हुँदै
हुँदै गयो
बिध्यार्थीहरुले अरु देख्न
छोडे
कलाकारले आखाँ खुंच्याएका
हुन् कि चिम्लेका
थाहा भएन
उनको हात भने चलिरहेकै थियो
बरु कुचीको टुप्पा भने
रंगमा चोपिनु अगावै
उठिसकेको देखिन्थ्यो
त्यो क्यानभासमा पुरै
छुन्नथ्यो पनि
एकछिनपछि ध्यानभंग भए झैं कलाकारले
भने –
आज दिन राम्रो छैन
यो सानो आँखाभित्र पनि
ठ्याक्कै म अघिकै बिशाल दृश्य
देखिरहेछु
असंख्य अति सुक्ष्म कणहरु
बादलको मुस्लो झैं
सल्बलाईरहेको देखिरहेछु
मुटुको धड्कन झैँ भटक भटक बल्किरहेको
देखिरहेछु
यो कस्तो लीला हो, म तीन छक
परिरहेछु
मेरो आफ्नै मुटु जोर जोरले
धड्किन लागिरहेछ
केटाकेटीहरुले भने – भैगो
सर, छाडिदिनुस्
आजलाई पुग्यो
आँखा त आँखै हो नि,
आँखाले देख्ने चिज पनि उही हो
तपाईंको र हाम्रो आँखा पनि
त उस्तै हो !
त्यसपछि गुरुले कहिल्यै
आँखा बनाएनन् |