Wednesday, May 22, 2013

हल्ला महिमा



भूपिजी
माफ़ पाऊं,
यो हल्लै हल्लाको देश अबश्य हो
यहाँ हल्लाहरु फिजाउँदै घाम उदाउंछ
तर त्यो अस्ताउने बेलासम्ममा
एकाध मीठा मसिना हल्लाहरु
कागती  झैं कसैले निचोरिसकेको हुन्छ   
वाईघात नमीठा हल्लाहरुजति  
जम्मै पाकेर
भोगटेको डल्ला जस्तै साकार भईसक्छन्  
र मध्यरात सम्ममा
ती  हाम्रा शिरैमाथि खस्छन  
यसरी  कि, हाम्रा  सारा सपना टुट्छन्   
र तिनका पात्रहरु
निकम्मा, निर्लज्ज र गतिहीन बन्छन         

त्यसैले
यो हल्लाबाट डल्ला बन्ने  देश हो
चन्ड़ालहरु चोकैमा बसेर  
हल्ला भुक्दै, फुक्दै गरेर दिउँसोभरि  
घरि सकार्दै, घरि नकार्दै   
बेलुकासम्ममा त्यसैलाई
"ओम फट् " भन्ने देश हो

भूपीजी, माफ पाऊँ,
तिम्रो कबितामा ट्युमर थपेकोमा
तिमीले देख्न नपाएको नियति खोपेकोमा,

बास्तबमा ,
अरु केहि नगरी    
यो हल्लालाई नै दोसल्ला ओढाइबस्ने  देश हो |
यो हल्लालाई नै धूप बत्ति चढाइबस्ने देश हो |

Tuesday, May 7, 2013

यार्सागुम्बा उत्सब


सिरान कोठाबाट
फेरी घन्टी बज्यो
मुखियाबाको समाचार आयो
उठ, पत्थर-पाटन उठ
यार्सागुम्बा पलायो
अब टिप्ने बेला आयो

उर्दी मुताबिक ,
सबैले एउटा बर्को अबश्य ओढ्नु
घाममा नडढनु
हिउमा नलड्नु
भीड नगर्नु र
आफ्नो जोहो गर्नु ,
मुखियाबालाई अप्ठेरो नपार्नु |

उर्दीले नभने पनि
पत्थर-पाटनले यो समेत बुझेको छ  -
यो कमाउने याममा
इमान जमान घरमै छोडीजानु   
आफ्नो आफन्त नभन्नु  
साथी सन्त नबन्नु
यतिबेला यार्सागुम्बा मात्रै सोच्नु
बाँकी पछिलाई छोड्नु  |

बुढाबुढीदेखि केटाकेटीसम्म
हरेकका मनमा
यार्सा गुम्बाको टुसा पलाएको छ,
पत्थर-पाटनमा उत्सब आएको छ |

Monday, May 6, 2013

शहरको सम्झनामा खारापानी




















त्ति धमिलो कहिल्यै थिएन माछापुच्छ्रेको मुहार,
यत्ति अमिलो कहिल्यै थिएन सरांगकोटको अनुहार,

पानीले आफ्नो धीत छोडेर
लपकपाउँदो आगो बोकेको
अलच्छिन पहिरोलाई छातीमा टाँसेर
संहारको हुंकार गाउँदै जब हिड्यो
बस्तीहरु बगे
जीबन फूलहरु चुँडिए 
धर्ति डगमगायो, रुखहरु रोए
र पहाडहरु चिच्याए असह्य पीडामा
अकल्पित अनपेक्षित
त्यो आतंकमयी घडीमा
शहरको मुटु चि...सो भएर भक्कानियो
उसले रच्दै गरेको  गीतका सुन्दर हरफहरु गायब भए
उसले ताप्दै गरेको घामका न्याना किरणहरु गायब भए
र शोकको घुम्टोमा डुब्यो शहर

एक साल पछि आज फेरी
त्यही पानीको स्वर सुन्दै
शहर खारापानी आएको छ
उसंग अहिले पनि शब्दहरु छैनन्
सम्झनाहरु मात्रै छन्
बिछोडको झोलुन्गेमा हल्लिरहेका    
बेदनाहरु मात्रै छन्
बिकृत सपना जस्ता लाग्ने बिपनाहरु छन् 

बास्तबमा ,
यत्ति नमीठो कहिल्यै थिएन शहरको सपना
यत्ति अमिलो कहिल्यै थिएन शहरको सम्झना !!

javascript:void(0)