Thursday, April 12, 2012

शहर बढेपछि

शहर बिस्तार भयो भन्छन

सांघुरिनु नै यसको नियति भएको छ


साँघुरा घर/ बस्ती

साँघुरा स्कुल/ कार्यालय

साँघुरा सडक / गल्ली

र सांघुरै सबारी साधनहरु

मान्छेको भीड मात्रै ठूलो

टेक्ने ठाउँ जहाँतहीं साँघुरो

शहर ठूलो भयो भन्छन

नपुग्नु / नअट्नु नै यसको परिणति भएको छ


बच्चाबच्चीलाई खेल्ने चौर छैन

बुढाबुढीलाई टहलने पार्क छैन

अस्पताल त व्यस्त सडकमै छन्

नदी किनारैमा पनि

उभिएर हेर्ने ठाउं छैन

अब त 

फेवाताल पनि साँघुरियो/ घेरियो रे !

कहांबाट खिचुं हजुर, माछापुच्छ्रेको तस्बीर

शहर अग्लिंदा समेत

रहर खस्किने गरी क्षति भएको छ


ए विकासे अड्डाका ...साहेबहरु !

मन फुकाउनलाई

चाक्ला ठाउँहरु कतै रहन देउ न

तिम्रा तर्कना / योजना पनि

सेतीको खोंचभन्दा

झन् कति साँघुरा हुन् ?


शहर फैलियो भन्छन

मनै खुम्चिएर पो दुर्गति भएको छ !

2 comments:

  1. अन्तिमको कुरो छुट्ला र कमेण्टमा त्यै लेखौँला भनेको...छुटेन । हो नि खासमा साँगुरिएको त मन न हो । कविता पढिरहँदा यहि यौटा शब्द खोज्या खोज्यै भएछु ।

    ReplyDelete
  2. शहरको प्रगतिको झ्यापझ्यापी काखीकै एक कुनोमा छिप्पिएर बसेको दुर्गातिको किस्सा जति भन्यो, अपरम्पार छ !

    ReplyDelete

javascript:void(0)