Friday, September 2, 2011

माकुराको घर

जत्ति हेर्यो

उत्ति रहस्यमयी

यो माकुराको घर !


यस्तरी तन्कने

यस्तरी जेलिने

जे छोयो तेसैमा बेरिने

यो माकुराको घर

छिन छिनमा हुत-हुत कुदिरहने यो हावामा

(एकै डल्लो परेर फुत्त नझरिकन)

कसरि झुन्डिरहने होला

यति सुन्दर भएर !









यत्तिका झ्यालै झ्याल भएको

यत्तिका प्वालै प्वाल भएको

जताबाट पसे पनि हुने

जताबाट निस्के पनि हुने

यो अनौठो घर

के अन्दाजले ठड्याएको हो !

कति झिना रेशाले अड्याएको हो !

तैपनि

बिल्कुल निडर र निसंकोच   

यो घरको थानेदारलाई हेर

बसेरै ढुक्कैले आहारा जुटाउँछ

घरैले अरुलाई निशाना लगाउँछ


यार, छानो कता छाउने हो !

यार, चुलो कहाँ लाउने हो !

भुइँ र सिलिंग

भित्ता र दलिन

माथि-तल, सुल्टो-उल्टो

सब एकसमान छन् यसका लागि

कहीं छेकबार छैन, टाँगीदिए पुग्ने

जालमा पर्नेलाई तानिदिए पुग्ने

न घंडेरी किन्नुपर्ने ,

न जग खन्नुपर्ने ,

ढुंगा या इंट्टा नगांसेरै पनि

हेर यसका फुल बुट्टा!


देख्न मिलेपनि प्राय नदेखिने

एकातिर तोडे, अर्कोतिर जोडिने

जो घेरियो फन्दामा

उसैले मात्र बुझ्ने, 

कसैगरी नचुँडिनलाई

अजस्र रेशाहरुको मुहानसंग सम्पर्क भएको…..


जत्ति सोच्यो

उत्ति रहस्यमयी

यो माकुराको घर !

1 comment:

  1. भावुक मनलाई कबिता लेख्न ठुलो बिषय नचाहिने रहेछ । सुलभ बिषयमा सरल कविता !

    ReplyDelete

javascript:void(0)