पुरै आकाशलाई राजमार्ग ठानेर
बादललाई बाहन मानेर
बतासहरु यात्रा हाँकिरहन्छन
कहाँ पुगेर फर्किने हो
या बेसुरमै कतै अड्किने हो
केहि थाहा छैन
कुनै गन्तब्य पनि छैन
तिमी भन्छौ-
बादल कहाँ पो जान्छ र ?
बगर महेन्द्रपूल चल्ने ट्याक्सी झैं
यहीं वरपर घुमिरहन्छ
हिउँद वर्षा रुंगिरहन्छ
मैले त कहिलेकाहीं आकाश शुन्यै पाएको छु
चारैतिर आँखा बिछ्याउँदा
एक टुक्रा बादल नभेटेको छु
माछापुछ्रेको आँखामा सजाउन
एक ठुन्को गाजल नभेटेको छु
फेरि सुटुक्क के लिन आउँछ कुन्नि
खोंचमा बिसाएको देख्छु एकाबिहानै
झोंकमा पुत्ताएको, फन्फनाएको देख्छु
जथाभावी तेर्सिएर
घामलाई छेल पार्छ यो
पहाड पर्बत छेकिदिएर
मनमै ओझेल पार्छ यो
बतास यसलाई ट्यांकर बनाउँछ र
एक मैदान पानी खन्याउँछ
बतास यसलाई लरी बनाउँछ र
एक पहाड हिउँ खन्याउँछ
कहिले खाली खाली यसै पनि कुदाउँछ
कहिले मध्य आकासमै भाइ-भाइ जुधाउँछ
बतास जस्तो अल्लारेको इच्छामा बहकिएर
बादलहरु आकाशमा नाचिरहन्छन
बादल कहाँ पो जान्छ र ?
ReplyDeleteबगर-महेन्द्रपूल चल्ने ट्याक्सी झैं
यहीं वरपर घुमिरहन्छ ...
कति सजिलो गरी लेख्नुभएको छ । बादललाई पात्रात्मक परिचयसहित प्रस्तुत गरेको अझै मन पर्यो । तपाईँको सरल कविता पढिरहँदा ढुक्कको उडानमा छु जस्तो अनुभूति हुन्छ ।