तिमी भन्दा हौ,
यो कवि हो
खुब कविता लेख्छ,
खासमा यसले लेखिदिए मात्रै पनि
कविता बन्छ,
त्यस्तो होइन यार,
कविता मेरो पेशा होइन
मेरो नशा पनि होइन कविता
यो दशा हो मेरो हर हमेशाको
बरु कविताले नै मलाई
नशा बनाएर पिउँछ कहिलेकाहीं
पेशा बनाएर जिउँछ कहिलेकाहीं
चाहेर पनि म उकहाँ
जान सक्तिन
ऊ नै मकहाँ आउँछ
खोज्दा कहिल्यै नभेटिएको ऊ
धेरैजसो यस्तो हुन्छ
म भोकले रन्थनिएर
केहि खाने हतारमा हुँदा
ऊ मस्त गफ मार्ने सुरसारमा हुन्छ
म बाहिर निस्कन भनेर
जुत्ताको तुना कस्दै गर्दा
ऊ भित्र पस्दै हुन्छ
र जब म
बस छुट्ने पीरले दौडिरहेको हुन्छु
पछाडिबाट उसैको आवाज सुन्छु
अक्सर ऊ यस्तै, व्यस्तै बेलामा आउँछ
कहिले जरुरी खबर पढिरहेको बेला
कहिले ज्यानमारा खोला तरिरहेको बेला
कहिले भीरमा, कहिले तीरमा
मलाई खोज्दै आइरहन्छ
धाई रहन्छ ऊ
जब छेवैमा आइपुगेर
चुपचाप उभिन्छ नि कविता,
अलिकति भाउ दिनुपर्छ उसलाई
अलिकति ठाउँ दिनुपर्छ उसलाई
'बस' मात्रै भनिदिनुपर्छ
धन्यबाद पनि नभनी
थचक्क बस्छ
नत्र गएँ पनि नभनी
सरक्क जान्छ,
कता कता, क-कसकहाँ जान्छ कुन्नि
फेरी उही रुपमा
कहिल्यै फर्की आएको याद छैन मलाई,
नितान्त बेग्लै भएर आउँछ ऊ
पुरानो रिस त रत्तिभर देखाउँदैन
तैपनि कहिलेकाहीं गुनासो पोख्छ -
'तिम्रो बालसखा हुँ म
एकछिन बसेर भलाकुसारीका बात गर्न पनि
समय छैन तिमीलाई?'
ख्वै, होला पनि,
(म सुन्छु मात्रै
मनमनै गुन्छु मात्रै |)
खास कुरा के हो भने नि,
जब म फुर्सदमा हुन्छु
र आइदेओस् भनेर उसलाई कुर्छु
ऊ दुर दुरसम्म पनि देखा पर्दैन
फुर्सदमा अरुलाई नै भेट्छ सायद उसले,
जब म काममा हुन्छु
ऊ बेनाम आउँछ र
मसंग नाम माग्छ
बिश्राम माग्छ
झ्यालबाटै पनि भित्र घुस्न खोज्छ कहिलेकाहीं
सडकबाटै कौशीमा उक्लन खोज्छ कहिलेकाहीं
'पर्ख' भन्छु म
र बाटो देखाउंछु,
कहिले सरासर आउँछ
कहिले बाटो बिराउँछ र उतै हराउँछ,
धन्य ! यो कविताको ज्यान छैन र बचेको छु म !
नत्र न जागिर रहने थियो मेरो,
न कसैले सहने थियो मलाई !
(स्कुल पढ्दा
मसंग नोट माग्न धाइरहने
यौटा यस्तै साथी थियो मेरो
मभन्दा पनि घरकाहरु रुष्टै थिए उसंग |)
घमण्ड त पटक्कै देखाउंदैन यार,
आएँ भनेर हात पनि तेसार्दैन
गएँ भनेर लात पनि बजार्दैन
कुरा यत्ति हो
एकै झलक
जब मसंग बातै गर्न नपाई
ऊ फर्किन्छ नि,
चैनले मलाई सुत्न दिंदैन
काममा ध्यानसंग जुट्न दिंदैन
हे भगवान,
यो कविताले
मलाई हैरान बनाउँछ|
Great
ReplyDeleteसरल अनि मिठो कविता .. चैतन्यजी यो कविताको जातले बेला बेला मलाइ' नि हैरान बनाउछ भन्या ।
ReplyDeleteत्यस्को जातै त्यस्तै छ र ,
ReplyDeleteतर ,
कबिता सबै कहाँ आउँदैन ,
सबैकहाँ धाउँदैन ।
न चकटी राखेर बस् भन्दैमा बस्छ ।
ऊ लाखौंको अगाडि घुर्की देखाउँछ ,
हजारौंलाई छोए जस्तो मात्रै गर्छ ।
अनि औंलामा गन्न सकिने ,
थोरै मात्रलाई ,
यस्तो ब्यबहार गर्छ ।
राम्रो ब्यबहार गर्छ ।
घच्ची लाग्यो कबिता ।
कबिताले तपाईंलाई जुगजुग सम्म यसरीनै सताइरहोस् लौ जा सरापें पो मैले त ।
ठ्याक्कै एक महीनापछि सरको कवितामा कमेन्ट लेख्नेमा परेछु:)
ReplyDeleteकविताको जातै यस्तो! 'कविताको हैरानी' र 'कविताको हैरानी' नभैदिँदाको हैरानी दुवै उस्तै।
(स्कुल पढ्दा
मसंग नोट माग्न धाइरहने
यौटा यस्तै साथी थियो मेरो
मभन्दा पनि घरकाहरु रुष्टै थिए उसंग |)
कोष्ठक चिन्हभित्र पनि कस्तो मिठो विम्ब!
kabi ra kabita ko sambhanda nai yosto cha
ReplyDeleteसाच्चि नै जहिले नि यहाँको कविताले छुट्टै पहिचान दिन्छ नै !
ReplyDeleteयो त कविताको हैरानी हैन ...बरु लाइफमा यसो मोरीहरुले पो पछ्याएर - हैरान ला'छैनन् कतै ??? कतै विम्ब छाड्ने कोसिस त गर्नु भएको होइन - मलाइ त त्यस्तै लाग्यो !
निकै राम्रो !
प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete