Thursday, February 18, 2010

हिउँ छरेको दिन

आज हिउँ छर्ने दिन रहेछ
कामको छट्पटीले
रातभरि निद्रा नपरेर होला,
सबै सुतेको मौका छोपेर
अंधेरैमा उठेर
खोइ कसले हो कुन्नि,
यत्रो हिउँ छरिभ्याएछ

उठ्ताखेरि
अलि बढ्तै उज्यालोले पोल्यो आँखामा
अलि बढ्तै सुनसान घुल्यो बिहानीको भाकामा
ओहो, लौ हेर,
लतमन्न हिउँ सुतेको खेतबारी
(धानका निहिन भन्दा बढ्ता!)
मानौं, यसैको कुनिउं लाउने हो यसपाली,
मानौं, यसैको बाली भित्र्याउने हो यसपाली,

झ्याल खोलेर हेर्न खोज्दा
अलि गाह्रो गाह्रो पर्यो,
साह्रो साह्रो पर्यो,
र कतर - कतर बज्यो पनि
ए, लौ हेर..
कस्तो ढंग नपुर्याई छरेको होला यो हिउँ?
यहाँ झ्यालका कापसम्म आइपुग्ने गरी,
यो हिउँ छर्नेलाई
घरका झ्याल हुन्छन भन्ने पनि थाहा छैन कि कसो ?
घरका ढोका हुन्छन भन्ने पनि ज्ञान छैन कि कसो?
आँगनमा पनि छरेको छ,
छानामा पनि छरेको छ
कसको जग्गा, के लाउने हो
केही पर्वाह छैन उसलाई,
खेल्ने चौर र हिंड्ने बाटो त कुरै छोडौं
कहिं ठाउँ नै नपाए झैं गरी,
फुक्ला रुखमा पनि सेतै भरेको छ

हे भगवान !
न जमीन जोतेको छ,
न भुईं खोपेको छ,
झार फाल्ने र ब्याड हाल्ने त
नामोनिशान छैन
एकछत्र सबैतिर छोपेको छ!
यसरी, बिनसित्ती,
किन छरेको होला यत्रो हिउँ ?

मुठ्ठी फुस्किएर अलि धेरै बिउ
एकै ठाउँमा पर्दा त बाली बिग्रन्छ,
यसरी अँगालो अंगालो हिउँ
एकै ठाउँमा छर्दा के सप्रिएला ?
............................................

कतै त्यो हिउँ छर्नेवाला
आफ्नै हिउँको धरापमा फँसेर
घर फर्कने बाटो समेत नचिनेर
रणभूल्ल पर्दै
यतैतिर
पंधेरीको ढुंगे पर्खालमा
या पार्कको बेन्चमा
घसमस्स सुतिरहेको त छैन,
हिउँकै बर्को ओडेर ?

गाउँलेले भेटे भने
पाटी नै पाटीले बजाउने छन् उसलाई
आँगन र मोठ मात्रै होइन,
जुठेल्नो र गोठ पनि
सोहोर्न लगाउने छन् उसलाई!

13 comments:

  1. प्रकृति र व्यङ्ग्यकविता ! मिठो लाग्यो ।

    ReplyDelete
  2. तपाइको लेख्नै शैली छुट्टै छ सायद... यो कविता पनि एकदमै रमाईलो लाग्यो ।

    मैले यस्तो हिँउको खेती नदेखेको केही वर्ष नै भैसकेको थियो। यो मिठो कविताले पुराना दिनहरुको याद ताजा गराईदियो ।

    ReplyDelete
  3. हामी त दक्षिनी गोलार्दका बासिन्दा परिएछ बाबु !
    हिउको त नामै छोडौ असिना पनि देख्नपाइन्न
    बाबुको कविता पढ्दा त साह्रै घत लाग्छ
    तर माफी बक्क्षियोस् बाबु,
    बेफुर्सदि दिनचर्याले गर्दा राम्ररी मनन गर्ने भ्याईन्न !

    ReplyDelete
  4. राजनीतिमा खुबै रुची राख्ने र कविता खासै नपढ्ने मेरो यौटा साथीले यो कविताप्रति गरेको दुर्लभ प्रतिक्रिया यस्तो छ: ठाउँ कुठाउँ राजनीति भयो भनेर लेखेका हौ, साथी ?

    ReplyDelete
  5. व्यङ्ग्य शैली मन पर्‍यो है !

    ReplyDelete
  6. tapaiko lekhan shaili beglai chha , kati samanya kuraharulai kati gahiriyera pokhna saknu hunchha tapai anya kabita jastai sahrai man paryo yo kabita pani .

    ReplyDelete
  7. मुठ्ठी फुस्किएर अलि धेरै बिउ
    एकै ठाउँमा पर्दा त बाली बिग्रन्छ,
    यसरी अँगालो अंगालो हिउँ
    एकै ठाउँमा छर्दा के सप्रिएला ?

    एकदमै चित्त बुझ्यो। समाजमा आपसी चिसो भड्काएर आफ्नो निहित स्वार्थ सिद्ध गर्न खोज्नेहरुका विरुद्ध हिउँको विम्ब सशक्त छ।

    ReplyDelete
  8. लौ चैतन्य जी ! यो कविता लाइ चै माने ...कस्तो सिर्जनशीलता ...बडो अनौठो तालले ....लेख्न पुग्नु भएको रहेछ ....घरि घरि त ..हैन के के ...सोचेर लेख्नु भएको रहेछ भनेर जस्तो लागेर ....हासी बसे ....
    तर मेरो त दिल खुस भयो ...धन्यबाद ...मोठो भाका र लेखाइ को लागि !

    ReplyDelete
  9. सच्चाई नै सुन्दर रा प्राकृतिक छ,रमाइलो लाग्यो, तर पानी केमिस्ट्री को लह लहै माँ लगेर मैले ता कबिता को बास्ताबिकता पो बुझ्न गारो भो|

    ReplyDelete
  10. धेरै आयाममा बुझ्न सकिने सुन्दर कविता!

    ReplyDelete
  11. कडा कविता... हिउँ छर्नेलाई कविताले राम्ररी धरापमा पारेको छ

    ReplyDelete
  12. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)