Saturday, March 6, 2010

हिउँको जबाफ

( हिउँ छर्ने त कहीं भेटिएन,
हिउँले भने जबाफ पठायो):

प्रिय गुनी जन,
म हिउँ हुँ, शिर्फ हिउँ
म कुनै वीउ होइन
उंचा आकाशबाट झर्नुपर्दा
कसैलाई चोट नपुगोस भनेर
फुस-फुस झर्ने गरेको छु
यो जाडो याममा
काम आउँला कि भनेर
कपासकै सिको गरेको छु
म हिउँ हुँ, सादा सेतो हिउँ
म चिसो छु कि के छु
मलाई के थाहा ?
मानिसहरुले 'हिउँको सिरक' भनेका छन्
मानिसहरुले 'हिउँको पछ्यौरी' भनेका छन्
'हिउँको दोलाईं ', 'हिउँको तन्ना',
'हिउँको बिछ्यौना' समेत भनेका छन्
कवितामा, कथामा, यात्रा-गाथामा
खुबै नै तारिफ गरेका छन्
तस्वीरले पाना भरेका छन्
त्यसैले फुर्किएर,
नौमास पर्खिएर
मंसिरैदेखि
उत्सुकतापूर्वक म कुरिबस्छु
र मौका मिल्नासाथ खस्छु,
वीउ झैं उम्रेर
फेरी वीउ बनाउने र
अनन्तसम्म निरन्तर हुनखोज्ने
कुनै ध्येय छैन मेरो
मलाई भेट्नुछ निर्वाणको पँधेरो

म हिउं हुं, निष्कपट सेतो हिउं

आफ्नै कति रहरहरु थाँती राखेर
सबैको खुशीको निम्ति
विनय र संवेदनले चुलिंदा चुलिंदै पनि
किन हो किन आजभोलि
अनिष्टका शंकाले मन घेरिएको छ
समय निकै नै फेरिएको छ
अग्ला शिखरहरु समेत
खलखली पसिना काढ्न थालेका छन्
'ऊफ, कस्तो गर्मी!' भन्दै
पछ्यौरी उतार्न थालेका छन्
कसैले त तताएकै छ है तलबाट !
काला धुवाँहरु बुर्कुसी मार्दै
उँभो उँभो सरेको मार
मैमाथि पोखिएको छ
'लौ, हिउँ त पग्लियो' भनेर
अखबारमा लेखिएको छ
खडेरी,अनिकाल र बाढीपहिरो समेतका
हर-सम्भावित हाहाकारमा
कारण मेरै देखिएको छ
कसै कसैले फेरि मलाई
'पानीको वीउ' भन्न थालेका छन्
माफ गर्नुस है, ए हजुर,

पग्लेपछि त म नै हुन्न
पानीको जिम्मा म लिन्न,
पानीको जिम्मा पानीलाई
कुवा,खोला,ताल र सागर
पानीका जुनसुकै मुहानीलाई

जाबो यौटा हिउँको जुनी,
यसो गरेपनि नहुनी,
उसो गरेपनि नहुनी !

नोट : यो कविताको प्रसंग केहि हदसम्म यसअघिको कवितासंग जोडिएको हुनाले (पहिला नपढ्नुभएको भए) त्यो समेत पढ़नुहुन अनुरोध गर्दछु

10 comments:

  1. हिउँको जवाफ रमाइलो रहेछ। तर मलाई त त्यो हिउँ छर्नेलाई भेटाएर पाटी नै पाटीले बजाउने मन थियो :)

    ReplyDelete
  2. जती सुकै उपमा दिए पनि हिँउ हिँउनै रहेने रहेछ। साह्रै मिहिन सोचाईका साथ कबिता लेख्‍ने तपाईको शैलीले यहाँ पनि सबैलाई माथ गरेको छ। सोचाई र मिहिनताको यो राम्रो उदाहरण लाग्यो मलाई।।

    यो जाडो याममा
    काम आउँला कि भनेर
    कपासकै सिको गरेको छु

    सही कुरा तर आफ्नो अस्तित्वलाईनै नबुझी कसैको लागि केही दिन खोज्नु हिँउले कतै गल्ति त गरेन जस्तो पनि लाग्यो।
    साह्रै दबदार कबिता गयो यस पाली पनि

    ReplyDelete
  3. पग्लेपछि त म नै हुन्न
    पानीको जिम्मा म लिन्न....

    हिँऊ‍‌को जवाफले साह्रै मन छोयो...... <3 <3 <3

    ReplyDelete
  4. Heart toching, tara Chaitnaya ji ko Hiun ko kabita padera k baihira niskeko matra thiye aaja 2010-3-10 ma daro pito ni ho hiu le, Kapas jasto matra ta hoina rahecha!!!!

    Anyway, very good feeling!

    ReplyDelete
  5. नसकिने भो चैतन्य जीसँग नसकिने भो :) यति सरलसँग यति गहिरा कबिता कसरी झर्छ ? हिउँ परे जस्तै फुस्फुस् ? अति मजा लाग्छ तपाईका कबिता पढेर ।

    ReplyDelete
  6. हिउँको पछ्यौरी.. हिउँको तन्ना...
    हिउँको सिरक, हिउँकै विछ्यौना?
    बिचरा हिउँ.. अनि किन न अलमलियोस त आफ्नै अस्तित्वसंग ?

    कस्तो मिठो संग बहकिनु भएको हिउँको मनसँग चैतन्यजी,
    कवितामा पोखिएको ग्लोबल वार्मिन्गको प्रभाव र त्रासले अब मान्छेको चेतनालाई पनि यसरी नै छुनु पर्छ ।

    ReplyDelete
  7. हिउँको अस्तित्वबोध गर्दै लेखिएको कविताले हिउँको निर्वाण र निष्कपटताको उपेक्षित पाटो उजागर गरेको रहेछ । तर्कको आडमा उभिएको छ कविता ।
    पगलेपछि त हिउँ साँच्चि हिउँ नै रहन्न ।

    अपजसी कर्म !

    ReplyDelete
  8. नि:शब्द बनाउने कविता! सुन्दर शब्दशिल्प!

    ReplyDelete
  9. हरेक कुनाबाट उत्कृष्ट छ कविता | साँच्चै नि:शब्द बनाउने कविता | मलाई त के लेख्ने के लेख्ने शब्दै फुरेन | A++

    ReplyDelete
  10. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)