शोकगीत
झरीले केही लेखिरहेछ
पोखरीको पानीमा
स्मृति विस्मृतिका भुल्काहरु खोपेर
छालहरू फुट्दै फैलिंदै बिलाइरहेछन्
छेवैका अग्ला रुखहरु पनि सोचमग्न छन्
सेता फूलहरु शोकमा डुबे झैं देखिन्छन
आज यो काठको बार पनि तप्तपाइरहेछ
कैयौं आँखा रसाए झैं गरी
हिंड्ने बाटो पनि चिप्लो देख्छु म
भाउजु चिया पकाउंदै हुनुहुन्छ चूलोमा
आगोले पनि
पानीकै भाषा बोल्दोरहेछ कहिलेकाहीं-
मौनता
असीन- पसीन हुँदै
दाई छिर्नुहुन्छ पसलमा
र भन्नुहुन्छ -
आज शहरको महसूर खेलाडीले जर्सी साट्यो
मैदान छोड्नै नमान्ने मानिस आज थाक्यो
उसंग
एउटा अन्तिम गोलको आशमा थियौं हामीहरु ......
बिहानैदेखि
भाउजुलाई पसल सुम्पेर
उसैको अबसान हेरेर फर्किंदैछु म
झरीले केही भरिरहेछ
आँगनको खोल्सोमा
आफैंले जमाएको पानीमाथि
------------------------------------------
हराएको मान्छेको बयान
आज सबै विवरण भरेर आएँ
नछुटाई दस्तखत गरेर आएँ
तिर्नुपर्ने सबैको, तिरेर आएँ
प्रिये, आज म हिंडेर आएँ
चोक गल्ली सबै नापेर आएँ
दिनभरिका घाम तापेर आएँ
आज सबै बत्ती कुरेर आएँ
शहरका सबै झ्याल घुरेर आएँ
हर भित्ताका नारा पढेर आएँ
सबै खण्डहरमा अडेर आएँ
सुन, आज सबैकहाँ पसेर आएँ
चिया पिउँदै एकछिन् बसेर आएँ
नबोल्नेसित पनि बोलेर आएँ
ओस्सिएको नाता खोलेर आएँ
सबैका पुरै कुरा सुनेर आएँ
आज मनमनै गुनेर आएँ
प्रिये, आज म यसरी हराएँ
कि आफ्नो शहर चिनेर आएँ
र बाँकि हिसाब छिनेर आएँ
Subscribe to:
Post Comments (Atom)
साह्रै यथार्थ। आफू वरिपरिका सबैलाई चिन्नु र बुझ्नु नै हो रहेछ यथार्थता। तर ककस्लाई बुझ्ने यो चाहिँ समयलाईनै छोडे मैले।
ReplyDeleteकविताहरू मिठा छन् । अझ सम्प्रेष्य भए राम्रो होला ।
ReplyDeleteगजबको छ। अत्यन्तै सुन्दर लेखाई।
ReplyDeleteखुब समय सान्धर्बिक छ, बिशेष गरी
ReplyDeleteआज शहरको महसूर खेलाडीले जर्सी साट्यो
मैदान छोड्नै नमान्ने मानिस आज थाक्यो....
साह्रै मार्मिक छ /
कीप इट अप
पहिलो कविताको झरीले त भिजायो मजैले । कविताको शीर्षक नै शोक गीत, कति सार्थक ठहरियो । झरीलाई मानवीकृत गरेर पोखरीमा कलम दिएर पठाउनुभएको छ । अनि आँखा रसाएर चिप्लो बनेको बाटो पनि कम्ता शोकपूर्ण छैन ! त्यो बाटोमा त पछिल्ला यात्रीले आँसु टेक्दै कसरी हिँड्लान बाबै भने जस्तै लाग्यो ।
ReplyDeleteसहरको महसुर खेलाडी विम्ब केवल खेलाडीको परिचयमै सीमित छैन, यसको आयाम जहाँ पनि फराक बनाएर हेर्न सकिन्छ , मैदानको मानिस पनि त्यस्तै हक्की, नेतृत्वदायी र साझा मानिस हो ।
धन्यवाद पहिलो कविताको रचनाका लागि ।
नबोल्नेसित पनि बोलेर आएँ
ReplyDeleteओस्सिएको नाता खोलेर आएँ
सबैका पुरै कुरा सुनेर आएँ
आज मनमनै गुनेर आएँ.....
खुब सन्धर्बिक लाग्यो ....
आफ्नो टोल छिमेक बुज्नु त राम्रै हो तर कैले काही दिक्क लाग्छ बडी बुजियो भने !!!!!!!!!!
चैतन्य जी पहिलो को भाव निकै राम्रो लाग्यो दोस्रो को चाहि पढ्न ताल को लाग्यो ! समग्रमा राम्रो लेखाई रहेको छ - दूबै को |
ReplyDeleteपहिलोले कति सटीकसंग यथार्थको चित्रण गरेको छ! कलात्मकताले भरपूर पनि छ। साह्रै सुन्दर लाग्यो। हामीकहाँ मैदान छोड्नै नमान्ने खेलाडीहरुको भिड छ, गोल गर्ने क्षमता गुमाईसक्दा पनि तिनले मैदान छोड्न मान्दैनन्। र तीनलाई महान मानेर पूजिरहने हामी छौं, तिनले गोल गरिरहन्छन् भनेर मान्ने हामी छौं, तर खेलाडीको पनि एउटा याम हुन्छ गोल गर्ने। बिम्ब र प्रतीकहरुको कस्तो बेजोड संगम।
ReplyDeleteतर एउटा रेफ्री छ जसले सबैलाई मैदानबाट हटाउन सक्छ। त्यो रेफ्रीको स्मरण सबैलाई सधैं भईदिइरहे यो संसार यति कुरुप हुने थिएन शायद।
दोश्रो कविता पनि उत्तिकै दमदार छ। जीवनका नभोगेका पाटाहरुलाई, नचिनेका बाटाहरुलाई भोग्ने र नाप्ने लालसा बढाईदियो मनमा।
सलाम यी दुबै कविता र यिनका जनकलाई!
शोकगीत निकै नै कलात्मक लाग्यो। खेलाडीले जर्सी साटेको कुरालाई जसरी पनि अर्थ्याउन सकिएला तर अझै उसैसँग अन्तिम गोलको आशा गरिएको प्रसङ्ग चाहिँ शायद यो समयको सबैभन्दा ठूलो विडम्बना हो। अनि 'हराएको मान्छे' ले के के गर्न भ्याएको हो, म त रनभुल्ल पो परेँ :)
ReplyDeletesarai ramra kabita haru..................
ReplyDeleteआज शहरको महसूर खेलाडीले जर्सी साट्यो
ReplyDeleteमैदान छोड्नै नमान्ने मानिस आज थाक्यो
उसंग
एउटा अन्तिम गोलको आशमा थियौं हामीहरु ......
मैदान छोड्न लागेको खेलाडीमाथि पनि अन्तिम गोलको आशाले मन छोयो......तर त्यो भन्दा पनि हराएको मान्छेको गीत मार्मिक अनि समय सान्दर्भिक लाग्यो........
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete