Friday, January 22, 2010

मनको संगत

यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली

हतासिन्छ खालि
बतासिन्छ खालि
यो कस्तो सबारी
बिना क्यै तयारी ?

म भन्छु एकैछिन
बिसाउँ देउरालीमा
ल हेर, ऊ कुद्छ
फूलमा, डालीमा!

न पुग्ने किनारा
न रुक्ने सिमाना
जे नै देख्छ राम्रो
त्यसैको दिवाना!

बेसुरैमा डुल्छ
बेहोशी भै भुल्छ
जब गल्ती खुल्छ
मसंग असुल्छ!

छिनैमा गमिलो
छिनैमा अमिलो
कति पार्छु संग्लो
ऊ बन्छ धमिलो!

रातोदिन् चाहारी
बिना जिम्मेवारी
मनै पो छ भारी!
म हिँडछु घिसारी

यो मनको संगालो
यो मनको भंगालो
कहाँ साट्न मिल्ला
यो मनको अंगालो ?

यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.......

16 comments:

  1. सुन्दर भाव - चैतन्य अधिकारि जी ! कति मज्जाले लेख्नु भएको रहेछ - सबै एक से एक छन् तर पनि त्यसमा भएको ४ र ५ औ (पार्ट) चाही अलिक मनमा गडे (अति बाँकि परेको लाग्यो - यानी राम्रो लाग्यो )
    अनि मैले पनि दोह्रयाए है अधिकारि जी -
    "यो मनको उकाली
    यो मनको ओराली
    हिंडेकै छु साथी
    आफूलाई सम्हाली....."

    ReplyDelete
  2. ...यो कस्तो सबारी
    बिना क्यै तयारी ?...

    साह्रै राम्रो लाग्यो ।

    ReplyDelete
  3. awesome!

    Liked especially the lines:

    "...यो कस्तो सबारी
    बिना क्यै तयारी ?"
    ...
    "न पुग्ने किनारा
    न रुक्ने सिमाना..."

    just love the way you express your thoughts!

    ReplyDelete
  4. हेर्दा गध्य जस्तो लाग्ने तर पढ्दा त पध्य पो भयो कविता!!!
    सधैँझैँ फेरिपनि साह्रै मन पर्यो यो लेखाई.......

    यो मनको उकाली
    यो मनको ओराली
    हिंडेकै छु साथी
    आफूलाई सम्हाली.....

    ReplyDelete
  5. कबिताहरु सर्सर्ती पढ्दा निकै रफ्तारमा प्रगती भएको पाय

    यि दुई हरफले दियो

    यो मनको रङ
    के भनु म त
    छु आफै दङग।


    छिनैमा गमिलो
    छिनैमा अमिलो
    कति पार्छु संग्लो
    ऊ बन्छ धमिलो!

    यो मनको उकाली
    यो मनको ओराली
    हिंडेकै छु साथी
    आफूलाई सम्हाली.......

    ReplyDelete
  6. रातोदिन् चाहारी
    बिना जिम्मेवारी
    मनै पो छ भारी!
    म हिँडछु घिसारी

    सारै राम्रो कविता लाग्यो | हामी सबैको मनोदशा एकै हो | मन बिनाको बाँच्न पनि नसकिने, मन लिएर बाँच्दा मनको मनपरी पनि हुने ! तर यो खोजी मै आनन्द छ जिन्दगीको -

    यो मनको संगालो
    यो मनको भंगालो
    कहाँ साट्न मिल्ला
    यो मनको अंगालो ?

    गजब छ |

    ReplyDelete
  7. छोटा छोटा तर चोटिला हरफहरुले फेरि पनि मस्त बनायो !!

    ReplyDelete
  8. अशेषजीले प्रस्तुत गर्नुभएको 'केदारजी' को मनोदशा र यो कविताको भावलाई जोडेर पो हेर्न मन लाग्यो। साँच्चिकै बुझिनसक्नु छ यो मनको उकाली र ओराली!

    ReplyDelete
  9. यो मनको संगालो
    यो मनको भंगालो
    कहाँ साट्न मिल्ला
    यो मनको अंगालो ?

    निकै सुन्दर कविताहरु फेरि। बाह!!

    ReplyDelete
  10. यो मनको उकाली
    यो मनको ओराली
    हिंडेकै छु साथी
    आफूलाई सम्हाली.......


    चैतन्य जी, एकचोटी फेरी मन छुन कविता टाँस्नुभयो है तपाईले । ‘मन’ चितुवाको रफ्तार भन्दा छिटो दौडन्छ अरे ! तपाईको मन पनि त्यहि गतिमा दौडिएछ । कवितामा दोडिएका विम्ब र भावहरु र कविप्रति एकचोटी सलाम गर्छु है ।

    ReplyDelete
  11. सुन्दर! मन छुने कविता!

    ReplyDelete
  12. सुन्दर कवि ताहरू चैतन्य जी ।

    ReplyDelete
  13. गज्जब छ... थोरै शब्दले धेरै भाब बोक्नु पर्ने गहन काम सजिलो संग गर्नु भएको छ....

    ReplyDelete
  14. यो मनको उकाली
    यो मनको ओराली
    हिंडनै पर्ने रैछ साथी
    आफूलाई सम्हाली.......
    तर क गर्ने साथी
    अब त हुन लाग्यो सारै भारी, अति सारै भारी...
    एस्पेसिअल्ली फॉर हामी नेपाली ........................
    सारे दामी लाग्यो चैतन्य जी, कीप इट अप .............

    ReplyDelete
  15. `रातोदिन् चाहारी
    बिना जिम्मेवारी
    मनै पो छ भारी!
    म हिँडछु घिसारी`

    हो र भन्या ?

    ReplyDelete
  16. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)