Friday, November 13, 2009

हामी बांचेका होइनौं, बचेका हौं

(भूपी शेरचन या हरिभक्त कटुवाल (जस्तो लाग्छ), कुनै एकजना प्रतिष्ठित कविले आफ्नो कविताको अन्तिम हरफमा 'हामी जीवनमा फँसेका हौं' भनेर लेख्नुभएको छ धेरै पहिले पढेको हुनाले मैले कविताको शिर्षक समेत भुलें, क्षमा चाहन्छु तर उक्त कविताको आधुनिक संस्करणको रुपमा मैले यो कविता प्रस्तुत गरेको छु)

हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, धन्य भए
हामी बांकी जो छौं, फँसेका हौं

जीवन त आफ्नो स्वेच्छाले बाँच्ने पो!
दिनभरी काम गरी निर्भय हाँस्ने पो!

हामी त प्रत्येक पल तर्सेका छौं
बिहान घरबाट निस्केको मान्छे
मुश्किलले साँझमा फर्केका छौं
भोलिको झन भयाबह दृश्यमा
आधाजसो निंद्रा खर्चेका छौं

हामी मुठभेडमा नपरेका हौं
पर्ने त परी गए, धुलो- पीठो भए
बांकी जो छौं, शिर-पाउ डरेका हौं
















जीबन त आफ्नो पौरख कुँद्ने पो !
जीबन त आफ्नो गौरब उन्ने पो !

रोजानै महंगी र बेरोजगारीको पीर
उसमाथि अनिकाल र महामारीको पीर
पीरै पीरमा मीठो बैंश अर्पेका छौं
(सरकार त लुलो छ, उस्कै पीर ठूलो छ)
एकै पुरिया जीवनजलको निम्ति
पशुपतिनाथतिर फर्केका छौं

त्यसैले,हामी लाशका राशमा छुटेका हौं
मर्ने त मरीगए, रामराम भए
बांकी ढुन्मुनाउँदै उठेका हौं

रोजै अपहरणकारी छल्दै बंचेका छौं
नशाचुरका सवारी छल्दै बंचेका छौं
चंदाका फन्दाको त हिसाबै छैन हजुर
दश-थरि बंदूकधारी छल्दै बंचेका छौं

हामी फिरौतिमा नजंचेका हौं
तिर्ने त फर्कीआए, पुनर्जन्म पाए
नतिर्नेको खबर सोद्धै बसेका हौं

हामी सुराकीमा नपोलिएका हौं
पोलिने त छोडी गए, उठीबास भए,
बांकी अर्को सूचि कुर्दै घोरिएका हौं

आफ्ना रंगले कोर्ने जीवन, खोइ ?
आफ्ना धुनले भर्ने जीवन, खोइ ?
















हामीसंग जीवन छैन,ज्यान मात्रै छ
त्यो पनि
बाटो छोड़दै बग्ने कोशीतीरको कृपा
बाटो तोडदै बग्ने कृष्णभीरको कृपा
कृपै कृपामा नुहेका छौं
नुहिन त पर्यो उसै, भोलेनाथका पाउमा
फोहोरका डङ्गुर पनि सुंघेका छौं

हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, मुक्त भए
हामी बांकी जो छौं, फँसेका हौं


9 comments:

  1. सार्है मिठो शैलीमा कविता लेख्नुहुँदो रहेछ चैतन्यजी। ब्लगको नामजस्तै मिठा लागे तपाईंका कविताहरु पनि।

    ReplyDelete
  2. वाह चैतन्यजी वाह! एकदम सटीक र सशक्त कविता! कविताभित्र धेरै कविता र गजलहरु समेटिएजस्तो, ब्यापक र गहन। अरु पनि यस्तै कृतिहरु आईराखुन्!

    ReplyDelete
  3. आफ्ना रंगले कोर्ने जीवन, खोइ ?
    आफ्ना धुनले भर्ने जीवन, खोइ ?

    a wonderfully penned poem! it's always a pleasure to read you. keep it up, Chaitanya ji.

    ReplyDelete
  4. कविताले आफ्नै देशको दयनीय स्थिति देखाए पनि साह्रै मन पर्‍यो !

    ReplyDelete
  5. 'हामी लाशका ह्राशमा छुटेका हौं
    मर्ने त मरीगए, रामराम भए
    बांकी ढुन्मुनाउँदै उठेका हौं'
    * *
    हामी बांचेका होइनौं, बचेका हौं
    मर्ने त मरीगए, धन्य भए
    हामी बांकी जो छौं, फँसेका हौं

    हाम्रो काँचो बस्तुता हो यो चैतन्यजी | जहाँबाट प्रेरणा ग्रहण गरे पनि कविता राम्रो छ |

    ReplyDelete
  6. बाह!! क्या लेख्नु भयो। हाम्रो समाजको यथार्थ चित्रण। बास्तबमै हामी जो छौ फँसेकै हो। तपाईको कबिता खुव मन पर्‍यो है।

    ReplyDelete
  7. i could not find any word for this.....really fantastic one....wanted to read the original version too.....really really very nice.....
    हामी बांचेका होइनौं, बचेका हौं
    मर्ने त मरीगए, मुक्त भए
    हामी बांकी जो छौं, फँसेका हौं

    ReplyDelete
  8. गज्जब ले नेपाल को परिप्रेछ मा सुहाउदो छ . सारै चित्त बुझ्यो/ येसरी सोच्ने नेता नेपाल मा भए???? हामी कति मजा ले निदौथेउ होला
    !!!!

    ReplyDelete
  9. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ! पन्थीजी र लुइँटेलजीलाई ब्लगमा स्वागत गर्छु|

    ReplyDelete

javascript:void(0)