Tuesday, October 27, 2009

जुनको वर्षा















आज जुन झरी भएर बर्षियो
पानीका प्रत्येक बुँद बुँदमा
जुनको आभा छल्कियो
भोलिलाई जुन बाँकि नरहे नरहोस
आजलाई जुन धर्ति डुब्ने गरी घर्कियो

आफ्नो त जुनसंग बर्षौंको नाता
जुनकै उजेलीमा खेलियो हुर्किईयो
आज जुन छानै छाना ओर्लिंदाखेरि
बलेंशिमै शिर थापी पर्खिईयो
म त पग्लें साथी जुनले भिजेपछि
जुन मन बराल्दै दर्कियो
भोलिलाई मन बाँकि नरहे नरहोस
आज मन जुनसंग सल्कियो

आँगनमा सल्बलाएर झर्नै लाग्दा जुनले
अधैर्य भै अश्रुधारमा टल्किइयो
जुन पनि पुलुक्क फर्कियो
अंगालोमा बेरयो साथी मलाई त जुनले
जुन अझै हौसिंदै चर्कियो
अब जुनको भएपछि जुनसंगै बग्नलाई
तन पनि जुनलाई अर्पिइयो
भोलिलाई दिन बाँकि नरहे नरहोस
जुनकै खातिर एक जिन्दगी खर्चिइयो

भोलिलाई जुन बाँकि नरहे नरहोस
आज जुन एक जुग भै बर्षियो !

6 comments:

राजेश बुढाथोकी 'नताम्स' said...

चैतन्य जी, निकै राम्रो कविता । तपाईको ब्लगमा डुबुल्की मार्न यसअघि कहिल्यै आएको थिइन । सार्‍है राम्रो ब्लग । तपाईको ब्लगको पाठक आज देखि म पनि भएँ है । निरन्तरताको शुभकामना । कवितात्मक टाँसोका लागि धन्यवाद ।

ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

Jotare Dhaiba said...

रोमान्टिक फ्लेभर लिएर आएछ कविता ।
हृदयका मैला पाना चोखिए-चोखिए जस्तो भो । तर तपाईंको कविताको असली मजा भने देश-पीडामै पाएँ मैले ।
यो पनि नछोड्नुस् ।

Basanta said...

गज्जब! जूनसंगको प्रेमकथा, त्यो पनि यति मोहक शब्दजालले बेरेर! आनन्द आयो पढेर!

Khagendra Raj said...

म के भनु यो त असाध्यै राम्रो कबिता भईदियो, जुनसरीको कोमल हृदयमा कति मजाले छाइदियो । यस्तै यस्तै फेरिपनी पढ्न पाइयोस शुभकामना !

DEEPENDRA said...

Awesome poem Chaitanya ji! just loved it.

Chaitanya said...

'नताम्स'जीलाई धन्यवाद र यो ब्लगमा स्वागत ! धाइवाजी, बसंतजी, खगेन्द्र मामा र दिपेंद्रजीलाई पनि प्रशंसाको निम्ति मुरी मुरी धन्यवाद | यो मेरो अत्यन्तै ताजा रचना हो | देश-पीडा मन पराउनुहुने धाइवाजीले यसपछिको रचना पक्कै पढ्नुहुनेछ भन्ने ठानेको छु|

Post a Comment