Wednesday, October 7, 2009

तिहार














यौटा जुन सयौं तारा रातको सहारा
मनको दियो बाल्नेलाई सधैं तिहार

ठूलो आकाश ठूलै धर्ती सानो संसार
आँट बोकी हिंडे टाढा छैन किनार
मनको फाँट फैलाएमा साथी हजार
मनको दियो बाल्नेलाई सधैं तिहार

अमूल्य छ जिन्दगी यो, मूल्य नहार
शीत, वर्षा, हुरी भनी हिंड्न नछाड
सपनीमा घाम साँचे सधैं पाहार
मनको दियो बाल्नेलाई सधैं तिहार

गुराँस फुल्छ पहरामा, हाँसो अपार
पौरखीले आफैं खोप्छन आफ्नो निधार
मनै काँडा, मनै फूल, मनै बहार
मनको दियो बाल्नेलाई सधैं तिहार

यौटा जुन सयौं तारा रातको सहारा
मनको दियो बाल्नेलाई सधैं तिहार

4 comments:

  1. यौटा जुन सयौं तारा रातको सहारा
    मनको दियो बाल्नेलाई सधैं तिहार

    पद्यमा सजिएका सिर्जनाहरुको खडेरी लाग्दै गएको बेला
    सुरिलो भाकामा चैतन्यजीको मिठो रचना पढ्न पाइयो ..

    ReplyDelete
  2. मनको दियो बाल्नेलाई सधैं तिहार

    great! liked the composition.

    Happy Dipawali and Tihar to you and all the visitors of this blog.

    ReplyDelete
  3. "मनको फाँट फैलाएमा साथी हजार
    मनको दियो बाल्नेलाई सधैं तिहार"

    सबैलाई यही हरफले मन चोरेछ । खासमा राम्रो कुराले त सबैको मन जित्छ ।
    सरल, रसिलो र याथार्थिक आयामलाई छोएको कवितामा जीवन छ ।

    ReplyDelete
  4. कृष्णपक्षजी, धाईवाजी र दीपेन्द्रजीलाई धेरै धेरै धन्यवाद | धाईवाजीलाई ब्लगमा स्वागत गर्दछु | यसपाली दशैंको कविता ब्लगमा झुण्डयाएर दशैँ मनाउन घर जाँदा कहिले लेखेर छोडिराखेका यी हरफहरु फेला पारें र तिहारको प्रसंगसँग अलिकति मिल्ने जस्तो लागेर राखेको हुँ | मन पराउनु भएकोमा दंग छु|

    ReplyDelete

javascript:void(0)