Sunday, March 8, 2020

फेरि पनि महाराज जुद्धसम्शेरकै नाममा


















महाराज जुध्दशमशेर,
धत्तेरिका !
कसले लुट्यो हजुरको मास्क ?
कि हजुरले नै
कसैलाई दिईबक्सेको हो, करुणाबश ?

बर्षौंदेखि यो काकाकुल शहरको
धुलो, हिलो, धुवाँ र दुर्गन्धले
आजित भैसकेको म,  
विश्व बाताबरण दिवसको साइतमा
प्रदुषणमुक्त शहरको सपना बोकेर सखारै
'स्वच्छ, सफा, हराभरा काठमाण्डौ' को प्लेकार्ड उचाल्दै  
जब गुज्रंदै थिएँ न्युरोड-गेट हुँदै
झट्ट हजुरको शालिक देखेर
मैले नै चट्ट लगाईदिएको थिएँ
हजुरको मुखमण्डलमा एउटा मास्क !
त्यसपछि
कहिलेकाहीं त हेर्ने गरेकै हुँ मैले  
गुगल इमेजमा हजुरको त्यही तस्बीर |   

तर,
म भोरमा परें, मालिक !
माफी बक्स्योस,
यो सरकार फरार भएको देशमा  
कहिले प्याजको भाउ सोध्दै बजार बजार भौतारिंदा
कहिले लसुनको भाउ सोध्दै पसल पसल चाहार्दा
मैले ध्यानै दिन भ्याएनछु हजुरलाई
आज
कोरोना भाइरसको हल्लाले चिमोटेर   
मास्ककै भाउ बुझ्न हिंड्दा बजारमा
बल्ल याद आयो हजुरको !

मालिक, त्यो को हो,
जसले थुत्यो हजुरको मुखैबाट मास्क ?
र जसले गायब गर्यो सारा बजारबाट समेत,
हजुरले च्याप्प समातिबक्सन पर्दैनथ्यो त्यसलाई ?
र जोर थप्पड लगाईदिबक्सन्थ्यो भने त्यसको गालामा ?
हजुरको एकदुइ शब्द गर्जनैले पनि
सातो उड्थ्यो त्यसको,   
नब्बे सालको महा-भूकम्पपछि  
हजुरको हुकुमैले काठ तस्करको हुर्मत लिएको  
कसले भुलेको छ र ?

होइन,
कि हजुर निदाईबक्सेको थियो ?

मालिक !
अबदेखि ध्यान दिईबक्सेला,
हजुरको शालिक बरु साँचो होला    
यो शहरमा धेरै कृतिम मानिसहरु छन्
कृतिम हल्ला फिंजाएर देशलाई
फनफनी भूमरीमा जाक्नेहरु छन्
आकासमा चील उडेको देखाएर
भुइंका कुखुरा ताक्नेहरु छन्
हजुरको गद्दी टुटेको  
यो सत्तरी सालपछि पनि
उतिबेलाको संस्कार टुटेको छैन  
सिंहदरबारमा
सातसय पल्ट बदलिएपनि
झन्डावाल र कुर्चिवाल
हाम्रो मनोबल अझै उठेको छैन
महाराज, अबदेखि 
हजुर साबधान होइबक्सेला,
समय बदलिए जस्तो देखिएको मात्र हो,
धोका नखाईबक्सेला
बिन्ति, अबदेखि ननिदाईबक्सेला ! 

No comments:

Post a Comment

javascript:void(0)