Friday, February 7, 2020

माड्साबलाई सुझाब

















माड्साब, यो त भएन
जोड-घटाउ जानेको आधारमा
गणितलाई बिज्ञानसंग नजोड्नुस् 
थरि थरिका जीवनतत्व एकत्र गरी
हिसाबको जुंगेकोष्टभित्र नछिराउनुस्
यूरोको खातामा रुपियाँ पठाए झैं 
यस्तो अमिल्दो काम नगर्नुस्  

E=mc2,     g = 9.8 m/sec2
h2=p2+b2,    x = [- b ± ( b2-4ac)]/2a

बाबै, यी अंकमाथि अंक बुई चढेका संख्याहरू
यी अक्षरमाथि समेत अंक चढेका समीकरणहरु
उतिबेलै मैले बिर्सिसकेका कति कुरा
सम्झी सम्झी भन्न बाध्य नपार्नुस्
हेर्नुस् त यो नचाहिँदो सकस र भार
कलिला मस्तिष्कमाथिको अत्याचार

स्कूल पढ्न छोडेर
३६० गीगाटन बिषालु कार्बनको डल्लो बोकेर
संसार हल्लाउँदै हिंड्ने 
ग्रेटा थनबर्ग किन चाहियो हामीलाई ?
सोलार कम्पनीले नै मिस्त्री पठाउने भएपछि
घामको पाता कति डिग्रीमा कता फर्काउँदा ठीक हो,   
त्यो नालीबेली किन चाहियो हामीलाई ?
उत्तर चीनबाट हिमाल काटेर आउने रेल
किलोमीटरमा गुड्छ कि माइलमा,
किन सोधिराख्न पर्यो हामीले ?     

पल्लो डाँडामा स्कूलको घन्टी बजेपछि
घरबाट झोला बोकेर दगुर्ने हर्कबीरको प्रवेग  
मकै पिन्ने पानीघट्टको आरपीएम 
धरहरा ढाल्ने भूकम्पको रेक्टर स्केल    
कृष्णभीर खसाल्ने झरीको मिलिमिटर
फुस्रेमाथिको पुलको सेफ्टी फ्याक्टर
पुछ्रेताराबाट आउने तरंगको आवृत्ति  
नारायणीको छालको चाल जनाउने अभिव्यक्ति
बारा छिरेको विध्वंसक आंधीको गति
कोशीको क्युसेक र जिउधनको क्षति  
लड्डुको रंगमा सिसाको मात्रा
टेस्ला साइबर-ट्रकको आकार र यात्रा   
फेवातालमा जलकुम्भीले ओगटेको क्षेत्रफल  
लम्जुंग हिमालमा हिउँको घटबढ  
एम्बुलेन्सको माग र दमकलको क्षमता
माटोको चिस्यान र हावाको आर्द्रता  
सम्भावित पश्चिमी वायुको प्रभाव
उफ् यो बिश्वब्यापिकरणको युगमा )
हैन, कतिबिधि गणना चाहिएको !
शेषनागका हजार जिब्राजस्ता  
नानो, पिको, मेगा र टेरा रटाएर
कति साह्रो यातना रचिएको !

त्यसैले,
छोड्नुस् , माड्साब, छोड्नुस्
अब हिसाब पढाउन छोड्नुस्
प्रकाश बर्षका कुराले रल्ल्याएर 
कसैको जिन्दगी अँध्यारो नपार्नुस् 
यो बिकराल समस्याको समाधान देख्ने
विज्ञहरुको बिज्ञानमाथि धावा नबोल्नुस् 
उनीहरुले बुझे जसरी नै बुझ्नुस् 
उनीहरुले बुझेजत्ति नै बुझ्नुस् 
कमलको फूलको स्वप्न बाँड्दा बिज्ञहरुले 
हिलोभित्र त्यसको जरा नखोज्नुस्  

No comments:

Post a Comment

javascript:void(0)