Monday, February 18, 2019

शब्द-सारंगी














ढुंगाको छानु, माटोको छानु
टिनको छानु, सुनको छानु
आ-आफ्नो कमाइ, आ-आफ्नो मानु
कस्ले पो छ र, अरुको खानु
के छ र हजुर बोकेर लानु
आखिरी बेलैमा
बरै, दुइदिने चोलैमा ! 
बरै, दुइदिने चोलैमा !

मै राम्रो भन्नु,मै जाती भन्नु
लोकैको कहनु, कौडीमा गन्नु
सांचामा मान्छे सत्तुर पार्नु
झूठामा मान्छे अंगालो मार्नु
जतिन्जेल रहुला सत्ताको राप
त्यतिन्जेल रहुला लुच्चाको धाप
बलेको आगो, पोलेको मासु
भोकोमा मान्छे रोऊँ कि हाँसु
दाइँ हात तान्नु, बाइं हात तान्नु
देख्नेले सोधे, पोल्दैछु भन्नु
अंगेनामाथि घेरै पो हाली
झुन्डिएको सुकुटी
राजै, राष्ट्रको ढुकुटी !
राजै, राष्ट्रको ढुकुटी !

क्यामा दिउँ भोट, क्यामा लाउँ छाप
यस्पाली हो कि घामैको राप
रुखको छायाँ रुखैमा गढ़यो
दुर्जनको संगत्, ऐठन  पर्यो 
बैरीका सामु, शिर ठाडो पारी 
शानको बोली, बोल्नेले फेरि 
दुइ पाटी मिलाई, स्थिरैको सर्कार
बनाउंछौं भन्छन्,गरिबको घरबार
घरिमा घरि, दश औंला जोडी
घुमेका घुम्यै छन् वरिपरि
बिलौना सुनी, लौ त नि भनी
मालैमा उनी, फुलैमा उनी  
छाप है दिई,लइनमा बसी
अबिरै घसी
पठाइयो दरबार ......
कठै, घांटीको तरबार ! 
कठै, घांटीको तरबार !

श्रीतिन्का पाला, राजैका पाला
निमुखो जाति, नबोली खाला
जैलेमा होला रैतीको शासन्
तैलेमा होला न्यायको आसन्
भन्दै नभन्दै आइगयो पालो  
सबैको थिति भैजाला भलो 
गरिबकी छोरी, भोरैमा परी
'ऐया नि आमा !' भन्दैमा मरी !
पशुका नंग्रा, पापका भारी 
आफूले मारी सोझालाइ पारी   
दोषीमा बस्यो दर्बारमा छिपी
बाटोमा हिंड्ने मान्छेलाई टिपी
आँखामा छारो, शैतानी पारो 
'मै हुँ' भन् नत्र होलास् नि ठाडो  
गोलीको  निशानी
कठै, न्यायको फुटानी !
कठै, न्यायको फुटानी !

उँधैमा शिर, उँभैमा खुट्टा
यो अधम् केटी केजाती भट्ट
भन्याको मानी ठीकै छ जानी
भन्या नमानी, खन्याइदेऊ पानी
'ऐया'मा भन्ली अरु के गर्ली
तर्सेर आखिर फतक्कै पर्ली
मैले हो भन्ली योजना गर्या
मेरै हो कारण निर्मला मर्या
मैले नै ल्यायाँ निर्मला खान्या
हत्यारा दौतरी
बरै, साधुलाई शुली,
चोरलाई चौतारी !

टुटेको निसाफ निभेको बत्ति   
कैलेमा खुल्ला आँखाको पट्टि 
सत्ताको छुवाई मस्ती र मर्जी 
रैतिको रुवाइ बेकामे फर्जी 
सुकिमा जान्छ गरिबको आँसु
गरिबको रगत, गरिबको मासु 
हावाले लुट्छ ओठको हाँसो 
मुटुको नासो गलाको पासो 

ढुंगाको छानु, माटोको छानु
टिनको छानु, सुनको छानु
आ-आफ्नो कमाइ,आ-आफ्नो मानु
कस्ले पो छ र, अरुको खानु
के छ र हजुर बोकेर लानु
आखिरी बेलैमा
बरै, दुइदिने चोलैमा ! 
बरै, दुइदिने चोलैमा !

No comments:

Post a Comment

javascript:void(0)