Saturday, August 30, 2014

बाटो र याद

  
ढुंगाका छपनी टाँसेर
ढुंगाकै बिसौनी राखेर
वरपर पर्खाल उठाएर
फूल र रुखहरु लगाएर 
कसले बनायो होला यो बाटो
पछिसम्मलाई सोचेर

यो बनाउँदा उसको हरेक साँझ
बाटोकै चिन्तनमा डुब्यो होला
सपनामा बाटो नै घुम्यो होला
बिहान उठेर धेरैबेर
छपनीकै छनौटमा गम्यो होला
हिंजोभन्दा आज बोटहरुको उचाई
आँख-आँखै दांज्यो होला
छिटछिटो भएको हेर्ने हतारो या   
बेचैनीले गाँज्यो होला

मनको लामो शृंखलाबाट निकालेर
त्यत्रो धैर्यका साथ
कसले जन्मायो यो सुन्दर कला ?

ख्वै,
ऊ कहाँ छ, पत्तो छैन
बर्षौंअघि बितेको पनि हुनसक्छ
बाटो बनाएकै कहिले हो, थाहा छैन
तैपनि हरेक बटुवा उसलाई कल्पन्छ | 

1 comment:

javascript:void(0)