खासैमा हिउँ
टाढाको एउटा मोह रहेछ
तृष्णाको फोस्रो आरोह रहेछ
पहाडहरु माथि चुलिएर
रंगबिरंगले सजिएर
दिनमा चारपटक रुप फेरेपनि
हिउंसंग
खासै सौहार्द्रता केही रहेनछ
खासै आत्मियता केहि रहेनछ
मुक्तिनाथ यात्रामा निस्केका हामीहरु
हिउँ हेर्न भनेर दंग थियौं
हिउँमा हिंड्ने भनेर फुरुंग थियौं
पहाड माथिबाट जहाज उड्दै गर्दा
एक चोक्टा हिउँ कतै देखेपनि
‘ऊ हिउँ’ भनेर कराउँथ्यौं
हिउँको बिशाल फाकट कल्पेर
रहस्यको नगरीमा हराउँथ्यौं
अब भने हामी आफैंप्रति हाँसिरहेछौं
हिउँका चालबाजीका कथा गाँसी रहेछौं
बताससंग फुर्र फुर्र उडेर
आँखा आँखामा बिझाउन आउने
ढिस्का ढिस्का खसेर
ठाउँ कुठाउं
बाटो खोल्सो एकसमान जमाउने
यो के गरेको हो हिउँले ?
हिंड्दा हिंड्दै गुमराह भयौं हामी
खच्चड पो बन्यो हाम्रो कोलम्बस त्यसपछि
उसका पाउछाप हाम्रा राजमार्ग !
यार, त्यत्रो दोस्ती बोकेर गइयो हिउँ भनेर
दिनभरी उसकै प्रदेशमा हिंडियो, लखतरान हुँदै
हर्हरी खरो त उठायो नै,
अनुहारभरि पोतोले डामेको रहेछ
भुवै भुवाले
अटेसमटेस जीउ ढाक्दा पनि
रातै हुनेगरी
नाक, कान र औंलामा छामेको रहेछ
दिउँसो त अरु हेर्न मन भएन,भएन
राति सपनामा पनि
सुकलाम्य सेतोपनले गिथोल्न आइपुगेपछि
हामी हतार हतार घर फर्क्यौं
ए हजुर ,
आफु त्यस्तो चिसो भएर पनि
आगो झैं भत्भती पोल्न खोज्ने
हिउँको बेइमानीको के कुरा गरौँ
घामसंग आफु हारेको रिसमा
पाइला पाइलामा अरुलाई चिप्ल्याउने
हिउँ त खुनी, बैगुनी पो रहेछ
बहुरुपी भएपनि
हिउँ उसैलाई भनेर मरिमेट्नु पर्ने
बहुगुणी चिज होइन रहेछ
हिउँ, ‘आहा’ भनेर मक्ख हुँदै