भर्खरै भरिभराउ भएर
एउटा बस हुइंकिएर गयो
चमेरो झैं झुन्डिएर जाने आँट भएन
सडक-पेटीमा उभिएर
हामीले ट्याक्सी रोक्दै गर्दा
चप्पल पडकाउँदै
लखर लखर हिड्दै गयो एउटा मान्छे
एकाध घण्टा पछि
बजारमै फेरि जम्काभेट भयो उसंग
छोरोलाई अनौठो लागेर सोध्यो-
बाबा, यो मान्छे त अघि हिडदै थियो
हाम्रो घरैअघिबाट
यहाँसम्म ऊ किन हिंडेको ?
मैले मनमनै भनें -
बाबु त्यो पैसा हो, उसलाई हिंडाउने
ऊ त बस , सके ट्याक्सीमै पनि आउन चाहन्थ्यो
सरर गाडी चढ्न कसलाई मन हुँदैन ?
अर्को दिन
लुगा-कपडाको पसलमा
ओल्टाई पल्टाई गर्दै
कुनै चिज हेरिरहेको देखें उसलाई
निकै बेरपछि टोकरीमा हाल्यो त्यो
र लम्किंदै हिंड्यो ढोकातिर
अलिपर पुगेपछि
के के सम्झेर
टक्क उभियो ,
एकछिन टोलायो
र वर पर हेर्दै
लुसुलुसु फर्की आएर
उठाएको चिज त्यहीं थुपुक्क राखेर
अनिच्छाले खुट्टा लतार्दै
पसलबाट सुटुक्क बाहिरियो
यसरी कि,
मानौं, ऊ त्यहाँ आएकै थिएन
काँधमा बसेको मेरो सानो छोरोले
मलाई सोध्यो -
बाबा, त्यो मान्छे किन नकिनी गएको ?
मैले मनमनै भनें -
बाबु, त्यो पैसा हो, किन्न नसक्ने
मानिसलाई त अझै किन्न मन थियो
मन परेको कुरा किन्न कसलाई मन हुँदैन ?
घरबाहिर घुम्न निस्कंदा
पटक पटक
छोरो यसरी नै प्रश्न गर्छ मसंग
जब ऊ देख्छ
खाजाघरको डिस्प्ले-मेनुनेर कोही घोरिइरहेको
या हाटबजारमा रित्तैझोला घुमिरहेको
अक्सर भोको या निनाउरो
छायाँ जस्तो अनुहार
उसलाई बताउन मिल्ने जवाफ नहुनाले
चंगा देखाएर दंग पार्न खोज्छु उसलाई
बेलुन दिएर भुलाउँछु
तैपनि,
ऊ ठूलो र बुझ्ने हुँदासम्म
यस्ता प्रश्नहरु नरहिदिए
कति खुशी हुन्थें होला म !