Monday, May 23, 2011

यो गाउँ

यो गाउँ
चराहरुको पनि गाउँ हो
कीराहरूको पनि गाउँ हो
यसलाई ध्वस्त नगर
तिमीमात्र होइन ,
असंख्य जीवहरुको बस्ती हो यो
यसलाई संरक्षण गर

भर्खरै सुन्दर गूंड लगाएको छ गौंथलीले
सिन्का, रौँ र नल-परालहरु यत्नपूर्बक उनेर,
भर्खर फुल फुटाएको छ धोबिचराले,
तित्राका बचेराहरु उड्न सिक्दै छन्
ताते ताते गर्दै,
र माउचराहरु चारा टिप्दै छन्
यो गाउँ तिनको पनि जन्मभुमि हो
यो गाउँ तिनको पनि कर्मथलो हो
आफ्नो मात्रै सीमा नठेल
अरुका पनि साँधहरु हेर

हेर कत्ति रहरलाग्दो फुलेको छ लालुपाते
कति मस्तसंग झुलेका छन् पिपलका मुना
कुमालकोटी आलो माटो ओसार्दैछ
छेवैको पोखरीबाट
अब नयाँ घर लिप्नेछ उसले

यसरी नै
अनेकौं रहरहरुको बिस्कुन छ यहाँ
कुनै मेला उत्सबमा झैँ
छरपष्ट सल्बलाइरहेका जीवनधुन छन् यहाँ
यो गाउँ आफैंमा ठूलो सदरमुकाम हो
यसलाई स्याहार, नबिगार

सुस्तरी हिंडाउ तिम्रा पाइलाहरु
जथाभावी नफिंजाउ फोहर मैलाहरु
किनभने
यो गाउँ पुतलीहरुको पनि मामाघर हो
माहुरीहरुको पनि चरनस्थल हो
गाइने किराको पनि उडान क्षेत्र हो यो
नाग-राजाको पनि पाहार केन्द्र हो,
त्यसैले
कर्यांगकुरुंगहरुलाई आउन देऊ
ढुकुर कोइलीहरुलाई गाउन देऊ
दुम्सी लोखर्केलाई पनि
निस्फिक्री खेल्न भन
गङ्गटालाई यसैगरी लुक्न देऊ ढुंगामुनि
बकुल्लालाई यसैगरी ढुक्न देऊ पानीमाथि
चमेरा, भंगेरा, कमिला, धमिरा, ............
यो गाउँमा तिनको पनि लगानी छ
तिनको पनि बचपन, जवानी र जिन्दगानी छ
सुन,
तिम्रो ससानो असाबधानिले
एकै चिहान बन्न सक्छ यो गाउँ
अलिकति होश गर
यो गाउँलाई बेहोश नगर

8 comments:

  1. Beautiful lines Chaitanyaji! Loved the embedded message:
    यो गाउँमा तिनको पनि लगानी छ
    तिनको पनि बचपन, जवानी र जिन्दगानी छ
    It's always a pleasure to read you.

    ReplyDelete
  2. सरल शब्दमा जटिल विषयको वयान र बखान क्या स्वाद सँग गर्नु भयो !
    हो यो चराहरुको पनि गाउँ हो
    कीराहरूको पनि गाउँ हो

    मैले फेसबुकमा सेयर गरेँ है :)

    ReplyDelete
  3. हो, यो सबैको गाउँ हो । आफ्नै बाउको बिर्ता ठानेर देश खान बसेका नेताहरुलाई सुनाउन पर्यो ।

    ReplyDelete
  4. सरल तर गहिरो भावार्थ बोक्ने तपाईंका कबिताहरुमा यो पनि स्वादिलो लाग्यो।

    ReplyDelete
  5. कवितामा प्रकृतिप्रेम छताछुल्ल भएर पोखिएको छ, सृष्टिका सम्पूर्ण अवयवहरुको समान अस्तित्वलाई सम्बोधन र सम्मान गरेको छ कविताले ।

    ReplyDelete
  6. मरुभूमिमा बेस्मारी फन्को लगाएपछि भेटिन पुगेको स्वादिलो जलघडासँग तुलना गरें कवितालाई । मानवतावादी भावको कवितामा चराचर जगत् त अटाएको छ नै, प्रकृतिप्रेमी मनलाई खुबै निमेकले पस्किनुभएको छ ।
    "गङ्गटालाई यसैगरी लुक्न देऊ ढुंगामुनि
    बकुल्लालाई यसैगरी ढुक्न देऊ पानीमाथि ..."
    सरल प्रवाह ।

    ReplyDelete
  7. प्रतिकात्मक शैलीमा प्रस्तुत गर्नु भएको भावहरु एक दमै सान्दर्भिक र अनुसरणीय रहेको छ !
    यो हरफहरु पढी रहदा मलाइ भूपिको केहि लाइन हरु ...को झस्को आयो ..
    " यो देश तिम्रो जती कै मेरो पनी देश हो
    अंश बण्डा गर्ने हो भने पनी
    यो देशको एक करोड टुक्राहरु मध्ये
    एउटा टुक्रा माथी मेरो पनी छाप्रो हुने'छ
    र त्यो देशका असंख्य बगरहरू मध्ये
    एउटा बगरमाथि मेरो पनी चिता हुने छ । "

    ReplyDelete
  8. प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)