Monday, January 10, 2011

केहि थुंगा कविताहरु

'हाइकु' शब्द स्कुल पढ्दै थाहा भए पनि यसको वास्तविक परिचय प्राध्यापक अभि सुबेदीको किताबमा पढेको थिएँ | ५-७-५ अक्षरको बन्देजले गर्दा हामीले लेख्ने यस्ता साना साइजका कवितालाई ठ्याक्कै हाईकु भनिहाल्न नमिल्ने भए पनि केहि जापानी साहित्यकारहरुले बिदेशी भाषाका कवितालाई पनि ५-७-५ जापानी शब्दमा ढालेर हाइकुको दर्जामै राखिदिएका छन् |

छोटा, टुक्रा, खुद्रा, साना आदि नाम दिंदा तिनले कविताको अर्थ र गरिमालाई सही ढंगले प्रकट गर्न सक्दैनन् भन्ने मलाई लाग्छ |

मुक्तकभन्दा पनि साना र सांकेतिक खालका यस्ता कवितालाई मैले 'थुंगा कविता' नाम दिएको छु | सापेक्षिक रुपमा हेर्दा हामीले अक्सर लेख्ने कविताहरु फूल, पात, डांठ, जरा र हाँगाबिंगा समेत सबै बुझिने खालका हुनाले ती रुख कविता हुन् भने प्राध्यापक सुबेदी स्वयंका (मैले पढेका) कविता चाहिं

झुप्पा (

गुच्छा ?) कविता जस्ता लागे मलाई |

(यहाँ केहि थुंगा कविताहरु प्रस्तुत छन्, जो पृथक पृथक सिलसिलामा लेखिएका हुन् |)


सखारै

गुराँसथुंगा चढाईएका ! 

लेकका पंधेराहरु

.......१.......


झिस्मिसेको कुहिरोले

सिनित्तै पुछी गएछ

दिनको झ्याल

.......२.......

एक्लो गोब्रेच्याउ

वर्षा लाग्नासाथ

छाता फुकाउँछ

.....३.......

साँझको वर्षा

बिजुली चम्काउँदै

कसको पिछा गर्दै हो ?

.......४.......

आकाशमै कोरेपनि

आगोको हस्ताक्षर

धेरैबेर रहँदैन

.......५..........

ठुलो हुरी र झरीपछि

सबथोक बिर्सिसकेको हुन्छु

विषमज्वरले छोडे झैं

.......६.......

इन्द्रधनुष,

तिम्रो द्वारमा

एउटा पिङ्ग बाँध्न मिल्थ्यो कि ?

.......७.......

तह तह पातहरुमा

शीत झर्दैछ

भरेंग ओर्ले जस्तै

........८.......

पहिलो हिमपात

बचेराहरु

झन् झन् टाँस्सिदैछन्

.......९........

रुखहरु

जताबाट हावा चलेपनि

'नाईं' भन्दैनन्

.......१०.......

छक्क माहुरी

रेलभित्र केही फन्का मारेर

छिट्टै बाहिरिन्छ

.......११.......


(पछिल्लो टुक्राले यसप्रकारका कविता लेख्ने मेरो प्रयासलाई प्रतिबिम्बित गर्छ |)

10 comments:

  1. टुक्रै–टुक्राहरुको उत्कृष्ट संग्रह रहेछ, राम्रो लाग्यो !!

    ReplyDelete
  2. सबै थुंगाहरु सुन्दर लागे । मिठा थुंगाहरु!

    ReplyDelete
  3. धेरै थुंगा रैछन, कुनै भन्दा कुनै कम नही,
    एती धेरै थुंगा संगै भए पछि त गुच्छा भएन र ?
    सबै बहुत राम्रा भए नि....

    आकाशमै कोरेपनि
    आगोको हस्ताक्षर
    धेरैबेर रहँदैन

    यो चाइने अत्ति उत्तम लग्यो, शुभकामना छ, अरु थुंगा जोड्न को लागि!!

    ReplyDelete
  4. आफू जानकार नभएकोले टुक्रा, थुङ्गा, हाइकु वा अन्य कुन विधामा पर्ने हुन थाहा भएन । तर पढ्दा सबै मस्त र उत्कृष्ट लागे । यस भित्रका पनि केही थुङ्गा त साह्रै मन परे र खुसुक्क कपि पेस्ट गरेर अफलाइन हेर्न मिल्ने गरी आफ्नै काखेमा राखेको छु :)

    सुन्दर प्रस्तुती !!!

    ReplyDelete
  5. Once again you have posted something really interesting! liked them all. especially,
    आकाशमै कोरेपनि
    आगोको हस्ताक्षर
    धेरैबेर रहँदैन

    ReplyDelete
  6. थुंगा नै भनौ, भाव पक्ष एकदमै प्रबल छ ! हरेक थुंगा भावका पृथक झोक्कासाथ फक्रिएका लागे !

    ReplyDelete
  7. चैतन्य जी ! सार्है चोपिला रसपुर्ण थुँगाहरु ले आनन्द दिनु भो । धन्यवाद तथा बधाइ ।

    ReplyDelete
  8. I best liked the 9th one.
    .......९........
    रुखहरु
    जताबाट हावा चलेपनि
    'नाईं' भन्दैनन्

    We Nepalese people are रुखहरु, still believe our political leaders.

    ReplyDelete
  9. थुँगाहरुले मन चोरे चैतन्य जी ।

    ReplyDelete
  10. प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)