Tuesday, October 26, 2010

शरद

तिमी अखबारमै घोत्लिइरहू गम्भीरमान
म त शरद पढ्न हिंडें












दिउँसोको न्यानो घाममा

मस्त पलेंटी कसेर बसेको शरद

मच्चिइ मच्चिइ

रुखका पात पातमा

पालिस लगाउंदै रहेछ

गृष्मको आरनमा रन्किएर

बर्षाले झ्वाइंयँ पारेका रुखहरु

सानी छोरीले

आमासंग कोरीबाटी मागें झैं

आनन्दले थापिइंदा रहेछन

शरदसंग



साँझ नपर्दै

फेरि शरद

कमिजका बाहुलाबाट सुस्तरी भित्र छिरेर

देहको न्यानोमा उँघिरहेका

रौँ रौंलाई उठाउंदै

मलाई बाहिर निस्कन अह्राउँछ

लौ

कानका डिल डिलै हुत्तिएर झरेको ऊ

सुनौला धानका बालाहरुमाथि

नौका शयर गरेको देख्छु म

नागबेली झैं रुखलाई बेर्दै

हर्लक्क बढेका झालपातहरुले

निहुरी निहुरी

तलाउमा ऐना हेर्दै गरेको बेला

नदेखे झैं गरी

त्यहींबाट सुटुक्क तैरिंदैजाने शरद

मक्ख हुँदै

जंगल पसेर रयाइं रयाइं गाएको सुन्छु म



बर्षको एकपल्ट

खरानीमा पकाएर धोएको तन्नाजस्तै

सुकिलो बादललाई

आकाशको एकछेउमा झुन्ड्याएर

जब शरद घुम्न निस्कन्थ्यो नि

घर पोत्न कमेरो र रातोमाटो खन्दै गरेकी

मेरी आमालाई देखेर

ऊ पनि

बुकीफूल र मखमलीलाई साउती मार्थ्यो
विस्मय भावले सयपत्रीलाई घुरेर हेर्थ्यो
हेर त,

यसपाली पनि शरदले

आँखाका भित्ताहरुमा अनगिन्ति रंग पोत्दै छ

नाकका भित्र भित्रसम्म सुबास जोत्दै छ



फेरि शरद

मलाई चंगा बनाएर उडाउँछ

पिङमा झुलाउंछ

हाट बजार डुलाउँछ

दशैं, तिहार, जमरा, भाइटीका....



असंख्य मिहिन, शीतल औंलाहरुले मुसारेर

सान्त्वनाले मलाई भुलाउन खोजेपनि

वर्षभरिका भन्दा धेरै सम्झना फुकाउँछ शरद

बर्षभरिको भन्दा धेरै प्रबास दुखाउँछ शरद



तिमी कोठा भित्रै गुम्सिइरहू गम्भीरमान 

म त शरद भर्न हिंडें

11 comments:

  1. Nikai ramro kavita prastut garnu bhyao chaitanya ji.. dherai pachhi aaye mafi chanhanchhu.. hajurlai pani dashain ra tiharko mangalmaya shubhakamana!

    ReplyDelete
  2. Sarad laai herne dristi kon praaya kavi haurma yehi nai ho. Tara kavita ko bhaav ra prastuti malai asadhyai man paryo! Farak kisimle euta ritu laai byakti waachak ma dhalera kavita ma maulikta chharnu bhaeko chha! Ra sabda haru pani atyanta mitha! Kavita prasansa yogya laagyo!

    ReplyDelete
  3. वाह !

    असंख्य मिहिन, शीतल औंलाहरुले मुसारेर
    सान्त्वनाले मलाई भुलाउन खोजेपनि
    वर्षभरिका भन्दा धेरै सम्झना फुकाउँछ शरद
    बर्षभरिको भन्दा धेरै प्रबास दुखाउँछ शरद

    तिमी कोठा भित्रै गुम्सिइरहू गम्भीरमान 
    म त शरद भर्न हिंडें .............

    ReplyDelete
  4. nice poem on the best season.......

    ReplyDelete
  5. Hello Chaitanya Sir, I am feeling sooooooooo happy and proud to know your reality as a poet!!!! Its feeling more like being in a real movie: a nice revealation after a long chat!!! :) Thank you so much for welcoming me into your blog!!! Will surely enjoy onwards reading your poems in my leisure!!! Urs, Shanker from Matsuyama

    ReplyDelete
  6. सुन्दर प्रकृतिप्रेमी कविताको लागि सरल शब्द र मीठो भावका धनी चैतन्यजीलाई धेरै धेरै धन्यबाद छ | मलाई आफ्नै गाउँको सम्झना दिलायो कविताको तस्बीरले !

    ReplyDelete
  7. गम्भीरमानको कोठा भित्रै बसन्त फुले जस्तो छ, न शरद न शिशिर |
    तर कविता पनि तोडिलो छ | बाहिर निस्क गम्भीरमान, हेर एस्तो समय आएको छ - जुन तिमि बसन्तमा कहिले देख्न पाउदैनौ |

    ReplyDelete
  8. प्रकृतिको यति मिठो वर्णन पढ्दा कतै म आफैँ पो 'गम्भीरमान' भएछु कि जस्तो लाग्यो :)

    वर्षभरिका भन्दा धेरै सम्झना फुकाउँछ शरद
    बर्षभरिको भन्दा धेरै प्रबास दुखाउँछ शरद

    यी हरफले हामी प्रवासी सबैको साझा अनुभूति बोकेका छन् शायद!

    ReplyDelete
  9. Sarai Ramro, Prakriti premi! Wish u all the best.

    ReplyDelete
  10. प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)