Sunday, September 26, 2010

लघुकथा (घाम/जुन र पहिलो भेट)

दिनभरी यतै थियो
उ त्यो डाँडामाथि पुगेपछि
उज्यालो समेत सोहोरेर
घाम सुटुक्क कता लाग्यो
'ओइ !' भन्दै थिएँ
साथीले बोलाएर भन्यो
'अब घर फर्कने बेला भो
उ , घाम डुब्यो '
मैले सोधें – ‘पानीमा ?’
साथी बोलेन
(उसको बानि नै हो -
पुरा जवाफ कहिल्यै फर्काउँदैन)
मनमनै सोचें -
निर्बस्त्र पौडिन लाज लागेर
अंध्यारो रोजेको होला !
साइकल ठेल्दै
उसको पछि लागें

एकछिनपछि
मलाई समेत कसैले पछ्याए झैं लाग्यो
हेर्छु त
अलि मलिन
तर घाम जस्तै
उस्तै, उत्रै
हिंडिरहेको छ आकाशमा
'रुक, एकछिन !'
साथीलाई भनें
र कम्पित हुँदै आकाशतिर देखाएँ
'कतिन्जेलदेखि यो हाम्रो पिछा गरिरहेछ'
उसले भन्यो – ‘त्यो जुन हो ‘
सोचें- 'हेर्दा घाम जस्तै छ
पानीमा डुबेपछि
घाम जुन बन्दो रहेछ कि !
घाम निसास्सिएर
भूत पो बन्यो कि शायद ? '
डरले नछोडेपनि
पर पुगिसकेको साथीलाई
फेरि रोकेर सोध्ने कुरा भएन


बाटोभरि जुन मैसँग हिंडिरह्यो
घरि घरि फर्की हेर्दा
मिचिक्क हाँसिरह्यो
हिंडे/गुडेजस्तो समेत देखिन्न
न खुट्टा छ, न पांग्रा
बाटुलो अनुहार मात्रै छ
फेरि
जति कुदेपनि भेटेकै छ
डाँडाको छेलमा पनि देखेकै छ
उछिनेर आफू अघि जाने पनि होइन
जहाँ पुग्यो उहीं टक्रेको छ
अति भो भन्ठानेर
म चिच्याएँ -
‘तिमी को हौ ?’
(अंग्रेजीमा समेत सोधें - हु आर यु ?)

उसले विनम्रतापुर्वक जबाफ दियो -
‘म जुन हुँ ’
नबुझेर मैले सोधें- ‘घाम हौ ?’
‘होइन,’ उसले भन्यो –‘घाम मैले देखेको छु’
(अग्लो ठाउँमा हुनाले देख्यो होला, शायद
घामको नालीबेली सोध्न मलाई मन लागेन )
त्यसपछि
उसले कवितामा झैं भट्यायो -
‘कहिले छरपष्ट घाम हुन्छ
कहिले अँध्यारो सुनसान हुन्छ
अरु दिन घामछायाँ दोसाँध भेट्छु
यो बाटो भने म नबिराई हिंड्छु ’
किन हिंड्ने हो
त्यो त थाहा भएन
तर उसको कुरा नजाती लागेन

यत्तिकैमा
पर पुगिसकेको साथीले
चर्को स्वरमा भन्यो -
‘छिटो आऊ !
यो चालले त घर पुग्दासम्म
घाम उदाउँछ’
कुरो नबुझेर मैले सोधें-
‘घामलाई डुबेर पुग्यो ?’
(पानी बढ्तै पो चिसो भयो कि !)

Wednesday, September 22, 2010

बर्षातको सङ्गीत

पर्ख, बादलको पर्दा सर्न देऊ
बर्षातको सङ्गीत झर्न बाँकी छ


















ढम्म ढोका थुनिएको
बिशाल रंगमंचका दर्शक झैं
हरियो चौरमा बसेर
ब्यग्रतापूर्वक माथि हेर्दै
हामी कुरिरहेका छौं
आज फेरि आकाशमा
बृहत संगीतसभा बसेको छ
असंख्य सुरहरुका सारंगी
अनगिन्ती धूनहरुका बाँसुरी
कुन छंद र द्वन्दले
छलांग मार्ने हो आज
ठूलो खलबल छ
ठूलो छलफल छ
त्योदेखि बिल्कुलै अन्जान हामी
बेखबर, बेठेगान छौं
अबोध नानीहरु जस्तै
हलचल नगरी बसेका छौं
एकतमास हेरी बसेका छौं

पर्ख, बतासलाई निम्तो पस्किन देऊ
फूलको कम्मर लच्किन बाँकि छ
 
एकै छिनमा
बेतको मसिनो छडी सर्काएर
सभा नाइकेले
झिलिक्क संकेत गर्नासाथ
ढर्र ढर्र ड्रमहरु बज्नेछन्
र झर्र झर्र, स्यार्र स्यार्र
सुरहरुको तानाबाना गुन्जिनेछ
सबथोक फेरिनेछ त्यसपछि
हामी आफैं सङ्गीत बन्नेछौं
हामी आफैं गीत रच्नेछौँ
श्रोता र संगीतकारमा
औंला र गितारमा
कुनै भेद रहने छैन त्यतिबेला
अहँ,
संगीतले नछोपेको
कुनै ठाउं रहनेछैन त्यसपछि
त्यतिन्जेलको हाम्रो बेचैनी
पाली पालीमा,
डाली डालीमा,
सलल सल्बलाउँदै बगिजानेछ

पर्ख, एक फुर्का समय हुत्तिन देऊ
भुल्का भुल्कामा उत्सब दर्किन बाँकि छ

संगीतले टिलपिल यो घडीमा
रुझिने डरले
घर फर्किन हतारिने
ए मेरा शंकालु साथी,
पर्ख, झ्यालको पर्दा रहन देऊ
बुँद बुँदले सुर-ताल कहन बाँकी छ!
थोपा थोपामा झंकार बहन बाँकी छ!
javascript:void(0)