Monday, August 30, 2010

राजनीति / बिनसित्ति

भो, अब बिनसित्तिका कुरा नगरौं
सबैले देखे जानेको
राजनीतिका कुरा नगरौं

भर्खरै
तिमीले मलाई 'चोर' भन्यौं
बदलामा मैले 'घूसखोर' भनें
तिमीले 'दलाल' र 'पुच्छर' भन्यौ
बदलामा मैले 'गुप्तचर' भनें
अब तिमीले
मलाई 'शत्रु' भन्यौ भने
तिमीलाई 'पत्रु' भन्ने छु
मलाई 'हरुवा' भन्यौ भने
तिमीलाई 'पानीमरुवा' भन्ने छु
शब्दको के नै कमि छ र?
हाम्रो राजनीति,कमसेकम
एउटा उर्बर शब्द भण्डार जो बनेको छ !
खूब कडकिंदै तिमीले
'शिशामहलबाट ढुंगा हान्ने' का कुरा गर्यौ भने
म पनि 'पहरामा टाउको ठोक्ने' का कुरा गर्नेछु
तिमीले 'बाह्र बर्षदेखिको ढुंग्रो'को कुरा गरे
म पनि 'आफ्नो आंगको जुम्रो'को कुरा गर्ने छु
र यसरी त्यो कण्ठस्थ शब्दकोशको
हामी भरपुर उपयोग गर्नेछौं

जति खोश्र्यो, उति रन्कने
कोइलाको आगो जस्तो
यो शब्दयुद्धमा
बाजी मारेरै देखाईछोडुंला भनेर
घरै नगई
तिमी र म यहिँ टुंडिखेलमा बाझ्दै बसेपनि
साँझ पर्ला,
रात समेत झर्ला,
अहँ,
हामी दुबैले जित्ने छैनौं
जित्ने जोशमा
जबर्दस्त तर्क कुतर्क पर्गेल्दै
कसौंडीमा बफाएका कर्कलाका पात झैं
हामी दुवै लखतरान पर्नेछौं र
अझै नछोड्ने बहाना गर्दै
पर पर सर्नेछौं
र जब
आक्कल झुक्कल आउने बिजुलीले
करेन्ट लागेर छुटेको झैं
भारी टाउको लिएर
गृहप्रबेश गर्नेछौं
घरमा चुलो कुरेर बस्नेको
हैरानीको फेला पर्नेछौं

त्यसैले
भो अब चल्तीका कुरा छोडौं
मिल्तीका कुरा गरौं

एकैपल्ट,
तिमीले मलाई
'साथी' भनेर हेर त
म पनि तिमीलाई 'नजाती' भन्न कहाँ सकुँला ?

भो, अब बिनसित्तिका कुरा नगरौं
घांटीसम्मै भरिंदै आएको
राजनीतिका कुरा नगरौं

9 comments:

  1. great creation......great poetry.......

    ReplyDelete
  2. राम्रो सोचाइ व्यक्त भएको छ कवितामा ।
    हो, नकारात्मकताले नकारात्मकता नै खोज्छ र सकारात्मकताले सकारात्मकता नै । आफू सकारात्मक भए अरू पनि सकारात्मक नै हुने सम्भावना हुन्छ । त्यसैले राजनेताहरूले सबैभन्दा पहिले सकारात्मक नै हुन सिक्नु पर्छ, अनि मात्र सही निकास निस्कन्छ ।
    यो कविता नेपाली राजनीतिको गालीगलौजवादी, आत्मकेन्द्रित तथा निकृष्ट निर्णयहीनताप्रति दह्रो प्रहार हो । विषयवस्तु पस्काइको दृष्टिले स्तरीय छ ।

    ReplyDelete
  3. Wonderful thinking ! But would they understand and follow it !!

    ReplyDelete
  4. तिमीले मलाई 'चोर' भन्यौं
    बदलामा मैले 'घूसखोर' भनें
    तिमीले मलाई 'दलाल' भन्यौ
    बदलामा मैले 'नमकहलाल' भनें

    etc, jayadai ramailo sanga Rajniti Prastut garnu bhako raicha, Nepali li Rajniti prati lageko Ghrina ookalnu bhako raicha, ramailo Lagyo.
    RAJNITI bhanne Hindi film herne suggestion garchu, bahut ramro cha, aru dherai prosphutan Hunecha!!1

    ReplyDelete
  5. तपाईको कविता पढ्दा सुरूमै दाँतमा लाग्यो। तपाईले 'दलाल'को जबाफमा प्रयोग गर्नु भएको 'नमकहलाल' शब्दको अर्थगत सम्बन्ध देखिएन । यसको अर्थ नुनको सोझो गर्ने हुन्छ र तपाईले 'नमकहराम' भन्ने अर्थमा प्रयोग गर्नुभएको छ ।

    रमेश समर्थन

    ReplyDelete
  6. रमेश समर्थनज्यूलाई धेरै धेरै धन्यबाद ! एउटा गम्भीर गल्तीलाई औंल्याई दिनुभएकोमा | यहाँको धारणा पढ्नेबित्तिकै मैले सच्याएँ | गल्ती नगर्न प्रयास गर्नेछु तर फेरि फेरि पनि यस्ता गल्तीहरु फेला पार्नुभएमा बताइदिनुहोला|म आभारी छु यहाँप्रति |

    ReplyDelete
  7. हामी अझै कति समय यसरी आरोप -प्रत्यारोपमै बिताउँछौं होला । अन्य समाज ,देश छोटो समयमा धेरै परिबर्तन गर्छन् , हामी त्यहि अबस्थामा छौं जुनमा जन्मिएका थियौं र यो नमरुन्जेल सम्म चाहिं नरहोस । हामी पनि द्रुत प्रगति को रसस्वादन गर्न चाहन्छौं ।
    बास्तबिक कबिता चैतन्य जी ।

    ReplyDelete
  8. 'भो अब चल्तीका कुरा छोडौं
    मिल्तीका कुरा गरौं'

    एकदमै चित्त बुझ्यो। निकै मिठो र मननीय कविता!

    ReplyDelete
  9. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)