Tuesday, July 6, 2010

छोरो घर आउँदा















छोरो आयो
र ऊ जताततै छायो
आँगन, पिंढी
छत, बार्दली
कोठा कोठामा
चोटा चोटामा
उही छायो
दौंतरीहरुले भने
छोरो आयो-लौ जाती भयो
अब तिम्रो एकलासको साथी भयो
हामी त मेसो मिले आउने न हौँ
तिम्रा कुरा सुन्ने भन्दा बढ्ता
आफ्नै गन्थन सुनाउने न हौँ
ऊ छोरो आयो
अब तिम्रो पीर हरायो
तिमी आफैंले जन्माएको,हुर्काएको
साथी हुनाले
उसले
तिम्रो कुरा पहिले सुन्ने छ
र यसो पो हो कि भन्ने छ
उसलाई बच्चा ठान्नुहुँदैन तिमीले
मुखले नभनेपनि
तिम्रा शब्द शब्द गुन्नेछ उसले
तिम्रो आकांक्षालाई अन्तर्मनमा उनेर
आफ्नो बाटो चुन्नेछ उसले
हेर आज यो घर
निकै उज्यालो देख्छु म |

हो त, साँच्चिकै
ऊ यहीं छ भन्ने हुँदा
फूलका रंग अझ गाढा लाग्दा रहेछन
झार-काँडाले पनि हेप्न छाड्दा रहेछन
बाटो हिंड्दा ठेस लागेपनि
मनमा उस्तो बिझ्दो रहेनछ
चर्को झरीमा एक्लै रुझेपनि
अत्यासले आँखा भिज्दो रहेनछ
सम्झी सम्झी हरेक कुरा
भरे छोरोलाई भनुँला भनेर
एउटा भरोसाको डोरो बन्दोरहेछ र
त्यसैले आफूलाई तान्दोरहेछ
आज ढुक्कै छु म
छोरो आएको खुशीले
सधैं हिंड्ने गरेको
यो अंधेरीखोला र एक्लेभीरको बाटो पनि
नौलो-पौलो लाग्दैछ मलाई |

धेरै समय बिराएर
घर आएको छोरो
झालमा फलेका लौका,करेला हेरेर खूब रमायो
कलिलो काँक्रोमा पिरो दलेर खूब खायो
हरिया मकै भाँच्न बारीमा पनि गयो
धान रोपेको हेर्न टारीमा पनि गयो
परदेश बसे पनि
छोरो परदेशी हुँदो रहेनछ
पराई झैं गजक्क फुलेर बस्तो रहेनछ
बिरलै बज्ने यो घरको फोन
आज तारन्तार बजिरहेछ
मतिर नहेरी हिंड्ने मान्छे समेत
उसलाई खोजिरहेछ
उफ!बार्दलीबाट चियाउने र बाटोमै घेर्नेहरु !
गौंडा उक्लेर / ओर्लेर उसलाई हेर्नेहरु ! 
आफूलाई त छोरो सानो लाग्छ अझै
छोरो त धेरैको छानो भैसकेको रहेछ
आफ्नो सोच पुरानो भैसकेको रहेछ
आफ्नो स्मृतिमा खेल्ने/ कुद्ने सन्तति
साँच्चिकै सबैको सम्पति भैसकेको रहेछ











अब फेरि छोरो
परदेश जान नपरे हुन्थ्यो नि है !

(साथी बसन्त गौतमजीको स्वदेश फर्कने खबरले उब्जाएका बिबिध तरंगहरुको ज्वार|उहाँलाई हार्दिक शुभकामना र धन्यबाद ! कविताका पात्र र परिदृश्य भने काल्पनिक हुन्|)

10 comments:

  1. would say.....wowwww......this is the true feeling of every parent whose child has left the country for one or the other reason.....

    ReplyDelete
  2. "आफूलाई त छोरो सानो लाग्छ अझै
    छोरो त धेरैको छानो भैसकेको रहेछ"

    सबैको छानो झैँ लाग्ने भइसकेको छोरा बाहिर भन्दा घरमा बस्दानै घरको प्रतिष्ठा बढ्छ ।
    अहिलेको समय बोलेको छ कवितामा !
    (बसन्त गौतमजीलाई शुभकामना र स्वागत छ स्वदेशमा )

    ReplyDelete
  3. कल्पनाको उडानमा लेखिएको साहित्य राम्रो मात्रै हुन्छ, तर कुनै रचना उत्कृष्ट हुन रचनाकार आफ्नो रचनामा ढुब्नुपर्छ । यो कविता पढ्दा यस्तै भान भयो ।

    कविताका प्रत्येक हरफ कल्पना हैन, सम्झना वा यथार्थ झैं लाग्छन् । सोचेर लेखेको हैन, देखेर वा भोगेर लेखेको जस्तो लाग्छ । वाह! वाह!! नै भने मैले त ।

    ReplyDelete
  4. यी आत्मीय शब्दहरुका लागि हार्दिक धन्यबाद चैतन्यजी! नि:शब्द छु।

    र कविताले हाम्रो समाजको पिडालाई टपक्क टिपेर सुन्दर, भावुक शब्दाकार दिएको छ। बाध्यताले नभएर 'रहर' ले बिदेशिने दिन आउन् नेपालीका, यसैका लागि प्रार्थना गरौँ।

    ReplyDelete
  5. Yo kabita padera malai pani ghar jana man lagyo! Chasakka bhayo mero man... malai ta sachhai merai ghar gako jasto lagyo, kakra tipera hariyo khursani sanga khako jasto lagyo!!Ummmm..... Especially i loved it.
    झालमा फलेका लौका,करेला हेरेर खूब रमायो
    कलिलो काँक्रोमा पिरो दलेर खूब खायो
    हरिया मकै भाँच्न बारीमा पनि गयो
    धान रोपेको हेर्न टारीमा पनि गयो
    परदेश बसे पनि
    छोरो परदेशी हुँदो रहेनछ
    पराई झैं गजक्क फुलेर बस्तो रहेनछ

    Love it, congrates to basanta Ji to make the country one step up! Country need people like u...

    ReplyDelete
  6. कस्तो मिठो र घरको अस्याट (न्यास्रो) जगाइदिने कविता! माथि वसन्त सरले भनेजस्तै हामी नेपालीका पनि बाध्यताले नभै 'रहर' ले विदेशिने दिन चाँडै आऊन्।

    ReplyDelete
  7. अब फेरि छोरो
    परदेश जान नपरे हुन्थ्यो नि है !

    ..............
    एकदम मनकै कुरा गर्नु भा'छ चैतन्य जी ले !

    ReplyDelete
  8. Basanta jee Nepal Gayeko sthitima kehi khallo kehi udasi bhayeko thiyo Tara yo kabitale kehi santwana diyo dhanyabaad chaitanya jee .

    ReplyDelete
  9. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete
  10. प्रथमचोटि आज यहाँको भव्य कविता संसारमा पस्नपाइयो। खूब आनन्द लागेको छ। अहिले यहाँका कविताहरूको रसले लट्ट परिबसेको छु। यहाँलाई दिगो कवितायात्राको शुभकामना...

    ReplyDelete

javascript:void(0)