Monday, April 5, 2010

होशियार !

होशियार !
हामी जो मागिरहेछौँ थरि-थरिका अधिकार
देश लुट्ने लुटेराहरुको नबनौं हतियार

 
。。。。अधिकार होइन,
उज्यालो खोज उज्यालो
उज्यालोको अधिकार स्वीकार छ
अँध्यारोमा टाउको ठोकाठोक गरेर
कुम्ल्याएको अधिकार बेकार छ

सुन, म सुटुक्क भन्छु
यो अंध्यारोमा तिमीले त केहि देखेकै छैनौ
(जस्तो, मैले देखेको छैन)
यहाँ अंध्यारोमा आँखा देख्नेहरु छन्
तातो अँगारले
मोटा अक्षरमा
आफ्नो नाम लेख्नेहरु छन्
राम्ररी चिन्नुपर्छ तिमीले ,
तिनैलाई राँको सम्झेर
तिमी फिलिंगो बन्न खोजेका हौ ?
पर्ख,
यसरी नै बहकिंदै गयौ भने
तिनीहरुले आफ्नो पर्खालमा
दरबारको तरबार सजाएको हेर्न
धेरै दिन लाग्ने छैन

सोध तिनीहरुलाई,
‘हामीले तिरेको तिरो खर्चेर
'हिरो' हुँदै विदेश घुम्न जाँदा तिमी
आफ्नो पहिचानबाट
सगरमाथा हटाउन सक्छौ कि सक्दैनौ ?
गौतम बुद्ध घटाउन सक्छौ कि सक्दैनौ ?
(सुनाउन लायक तिम्रै आफ्नो त के छ र!)
निमुखा हामीले छाक जोगाएर घुम्न जाने
गोसाईकुण्ड र मुक्तिनाथसंग
त्रिबेणी र देउघाट साट्न सक्छौ कि सक्दैनौ?
पशुपतिनाथको प्रसाद
रामजानकीधामबाट बाँड्न सक्छौ कि सक्दैनौ?’
सक्ने रहेछन् भने
तिमी र म हार्यौं वीरप्रताप
देश तिनकै मनलागी गरुन

सुन,
यस्तै फटाहाहरुका कारण
यो देशमा अहिले
पीडाले नछोपेको कुनै गाउँ छैन
भोकरोगले नच्यापेको कुनै ठाउँ छैन
अब फेरि पीडालाई
गाउँगाउंका नाममा ढड्याएर
अब फेरि पीडामाथि
जाति प्रजातिको बर्साती चढाएर
तिमीलाई र मलाई लडाएर
तिनले थोत्रो राजनीतिलाई
नयाँ खोल हाल्न खोजेका छन्
होशियार !
पीडालाई नयाँ रंग र रूप दिएर
यो धूपमा तिमीलाई उराल्नेहरुलाई
एकचोटी बेस्सरी चिमोटेर हेर
दुख्छ कि दुख्दैन निमोठेर हेर
किनभने ,
दुख्नेलाई त सबैका पीडा दुख्छ
बुझ्नेले त सबैका पीडा बुझ्छ
आफ्नो पनि, अर्काको पनि

बरु छ नि,
म सुटुक्क भन्छु, सुन
उज्यालो पक्कै दुख्छ तिनलाई

एउटा दियालो उचालेर हेर
एकपल्ट अंध्यारो छिचोलेर हेर

स्वायत्तता होइन
सक्षमता खोज, सक्षमता
सक्षमताको आग्रह स्वीकार छ
‘आदिमता’को आडमा
सहिष्णुताको बहार जोतेर
उभ्याएको स्वायत्तता बेकार छ
सबैजना हिंडिरहेको बाटो छेकेर
तेर्स्याउने तगारो तिरस्कार छ


आरक्षण होइन
प्रशिक्षण खोज, प्रशिक्षण
प्रशिक्षणको अधिकार स्वीकार छ
छातीमा निगाहको बिल्ला टाँसेर
भेट्टाएको संरक्षण बेकार छ



होशियार!
यहाँ धमिलो पानीमा जाल फाल्नेहरु छन्
मान्छेलाई बल्छीमा उनेर
माछा मार्नेहरु छन्

8 comments:

  1. अनेकौ बाहानामा देशलाई विभाजन गर्न खोज्नेहरुलाई तिखो प्रहार हो यो कविता.....धेरै राम्रो......

    ReplyDelete
  2. सुरुको:

    उज्यालो खोज उज्यालो
    उज्यालोको अधिकार स्वीकार छ
    अँध्यारोमा टाउको ठोकाठोक गरेर
    कुम्ल्याएको अधिकार बेकार छ

    देखि नै मन एकाग्र भयो यो पुरै कवितामा, अन्तिम लाईनसम्म पुग्दा "वाह!, वाह!!" का साथ पून सुरुदेखि पढ्न सुरु गरें ।

    व्यंङग्यको प्रचुरता भएपनि शालीनता र समभाव वर्करार रहेकाले गज्जबको सन्तुलन बनेको छ ।
    उत्कृष्ट !!!

    ReplyDelete
  3. कविज्यूले 'सुटुक्क' दिनुभएको सन्देश निकै गहकिलो छ।

    होशियार!
    यहाँ धमिलो पानीमा जाल फाल्नेहरु छन्
    मान्छेलाई बल्छीमा उनेर
    माछा मार्नेहरु छन्

    ReplyDelete
  4. 'देश हाँक्ने हामी मात्र हौँ' भन्ठान्नेहरूलाई दरो झापड !

    ReplyDelete
  5. निमुखा हामीले छाक जोगाएर घुम्न जाने
    गोसाईकुण्ड र मुक्तिनाथसंग
    त्रिबेणी र देउघाट साट्न सक्छौ कि सक्दैनौ?
    पशुपतिनाथको प्रसाद
    रामजानकीधामबाट बाँड्न सक्छौ कि सक्दैनौ?’....................................
    सारै समय र नेपाली परिप्रेअछय मा बहुत सुहाएको छ/ नेपाली जनता ले केही सिकने र जानने मौका पयेका छन/ निरंतरता दिनुहोस/ अझ येस्लाई ता डेली न्यूज़ मा निकल्नु पर्ने हो, सबै नेपाली को समुन्ने पुराउनु पर्ने हो, ... think about it .

    ReplyDelete
  6. यहाँ र Tales of Sun and Rain (घामपानीका कहानी) का पाठक मित्रहरूलाई मेरो र ब्लगको तर्फबाट नव वर्ष २०६७ को उपलक्ष्यमा धेरै धेरै धेरै शुभकामना !

    ReplyDelete
  7. चैतन्य जी को तिखो भावको प्रहारमा लहरिन पाउदै छु अबदेखि म पनि।
    नयाँ बर्षले तपाइको व्यक्तिगत जीवन र पारिवारिक जीवनमा सफलता प्रदान गरोस मेरो कामना...

    ReplyDelete
  8. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)