Wednesday, December 30, 2009

नयाँ सालको जुत्ता

(सर्बप्रथम, यहाँहरु सबैलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !)

नयाँ सालको संघारमा
एउटा खिन्न मान्छे जस्तै
ठिङ्ग उभिएको छ कोही
असमंजस, दोधारमा
लज्जा आधा अनुहारमा
आशा आधा अनुहारमा

आफ्नो गोडामा लगाएको
फित्ते चप्पललाई देखाउंदै
ऊ भन्छ -
यो साल नयाँ बुटजुत्ता लाउँछु कि ?
दह्रो खुट्टा हिंड्न पाउँछु कि ?
पुरानो जुत्ता एम्बुशमा खस्यो
हिंडिरहेको बाटो हठात् धुवाँमा फँस्यो
नपत्याए हेर,
यी पैताला भरि आगोले पोलेका डामहरू!

यसपालिको बुट जुत्ता
मागेर नपाउने खालको हो भनेका छन्
आफैंले सिलाउने खालको हो भनेका छन्
सिउनेहरु भने
पिउनेको आनन्दमा झैं मस्त देखिन्छन
सियोसंग खेलिरहेका भेटिन्छन
कतै घोचाघोच गरेर
रक्ताम्य पार्ने त होइनन जताततै ?














यिनीहरुले नै हो,
यसपालिको बुट जुत्ता
टलकदार चमकदार हुन्छ भनेका,

टाला टाला मिलाएर
छाला छाला मिलाएर
रंगीबिरंगी बन्छ भनेका,
तलुवा एउटै छालाको चाहिन्छ भन्ने पनि छन्
त्यस्तो कहाँ पाइन्छ भन्ने पनि छन्
उफ! लाउनेका भन्दा बनाउनेका सुर्ता !

नयाँ सालको संघारमा
घाउमा लगाउने टेप जस्तै
पटक पटक उप्काउँदै टाँस्दै गरेको
एउटै मात्र तिथि-मिति भएको
अरु कुनै चाडबाड नलेखिएको

एउटा अनौठो क्यालेन्डर च्यापेर
कोही भनिरहेछ -
यो साल पनि
जुत्ता बनेन भने
असह्य हुनेछ मेरो पीडा...
बलजफ्ती घिसार्दै
कत्ति पो तन्काउन मिल्ला
यो काइते चप्पलको फित्ता ?

मलाई सोध्छौ भने ऊ को हो,
शायद त्यो मेरो देश हो

14 comments:

  1. वा.वा.वा एकदमै मार्मिक र यथार्थपक कविता लेख्नुभयो । शायद त्यो हाम्रै देश हो ।

    ReplyDelete
  2. Great! a thought provoking one...

    wishing you and all the visitors of this blog a happy new year!

    ReplyDelete
  3. नपत्याए हेर,
    यी पैताला भरि आगोले पोलेका डामहरू!

    यस्तो नया बर्षको कामना गर्छु,
    अब सबै सबै घाउ र खाटाहरु जाति होउन,
    र निर्धक्क हिडुन पाइलाहरु
    र छमछमी नाचुन पाइला हरु .....

    ReplyDelete
  4. अत्यन्तै राम्रो !

    ReplyDelete
  5. गजबको छ । अत्यन्तै सुन्दर लेखाई। साह्रै चित्त बुझ्छ है तपाईका कबिताहरु पढ्दा।

    ReplyDelete
  6. गज्जब छ !

    नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ।

    ReplyDelete
  7. वाह !

    फेरि एउटा सानदार र रोचक रचना !!!

    एउटै रचनामा हास्य र रोदन, संयोग र वियोग गज्जबले हाल्नुहुन्छ हो !

    नयाँ वर्षको शुभकामना सहित
    दिलीप आचार्य

    ReplyDelete
  8. Chaitanya Adhikari jee लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!

    ReplyDelete
  9. नयाँ वर्षको शुभकामना चैतन्यजी!

    तपाईँका हरेक कविताले गहिरो छाप छोड्छन् मनमा। साह्रै मन प-यो यो पनि।

    ReplyDelete
  10. Gajabba cha
    La la New yr ko Badhai cha
    Ani Naya Jutta Kinne soch pani cha

    ReplyDelete
  11. अलिक ढिलो भएछु यति मिठो कविता पढ्न। देश त्यसरी नै उभिएको छ चौराहामा तर खै कहिले सिइने हो त्यो बुट जुत्ता...

    ReplyDelete
  12. अहो ! बडो मार्मिक चित्रण गर्नुभो देश र यहाँका बासीको ।
    फित्तावाल चप्पलधारीलाई देशकै रूपमा लेख्नुभएको होला, तर मैले भने एउटा नागरिकलाई पनि राखेर उसको चहर्याएको गोडा हेरेँ ।
    बुट न सही, कपडाको जुत्तै धरी लाउन पाए पनि हुन्थ्यो !

    Belated Happy new year Chaitanya Jiu ...

    ReplyDelete
  13. ओहो!!कति मार्मिक कविता पढ्न पाईयो ।

    मलाई सोध्छौ भने ऊ को हो,
    शायद त्यो मेरो देश हो

    यहाँनेरि देश विझ्यो मनमा । शव्द पनि विझ्यो अनि कविता नि विझ्यो ।

    ReplyDelete
  14. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यवाद !बसन्त बलामीजी र बेदनाथजीलाई ब्लगमा स्वागत गर्छु|

    ReplyDelete

javascript:void(0)