महाराज जुद्ध शमशेर,
आइबक्स्योस् मालिक !
कहाँनेर उभ्याउं हजुरको
शालिक ?
'म यहाँ किन ल्याइएं?' भनेर 
बाटोमा हिंड्ने बटुवा,
बिद्यार्थी या अरु कसैलाई 
हजुरले नसोधी बक्सेला 
हजुरले शिर्फ बेला बेलामा 
आफ्नो गर्जन दिईबक्सेला 
आफ्नो हुकुम दिईबक्सेला 
'यस्तो छाडातन्त्र चल्दैन' भनिबक्सेला |
मालिक,
हजुरले 'यो कुन ठाउँ हो?' नभनिबक्सेला 
छक्क नपरिबक्सेला, ( उतिबेला थिएन पनि ) 
यो बिश्वबिद्यालय हो 
विश्वकै सोच राखेर पढाई
हुने 
राष्ट्रको आँखा 
समाजको गहना 
सभ्यताको सूचक 
बिचारको पुन्ज  
बहसको चौतारी 
भविष्यको निर्माता 
अनुसन्धानको कारखाना 
अग्रगतिको इन्जिन .............
(कठै, हेरिबक्स्योस् त ब्याक-गियरमा लम्पसार परी बसेको !)
मालिक ! 
'यहाँ मेरो के काम?' नभनिबक्सेला
हजुरको हुकुमी राज टुटेको 
सत्तरी सालपछि पनि 
यहाँ उसरी नै हुकुम चल्छ 
एउटा निरीह प्राणीलाई सिंहाशनमा राखिदिएर 
सिंहदरबारले उसरी नै नायवी चलाउँछ  
र कुत असुल्छ, 
   
उतिबेलाका भाइ भारदारहरुको
जस्तै 
यहाँ पनि भागबन्डा र कटाक्ष चल्छ,
र चल्छ- 
बाहुबलीहरुको बलमिच्याइँ
फरक अलिकति मात्रै छ, 
भारदारहरुले जिउमा या कतै लुकाइराखेको 
खुँडा, खुकुरी, भाला या अरु कुनै हतियारको साटोमा 
एउटा भुत्ते ताला हुन्छ
सबैको खल्तीमा
र त्यसैको सहारामा, 
कुनै धूर्त लालचीको इशारामा  
कसैसंग बदला लिने आत्महत्याको शैलीमा 
'यहाँ बर्षमा तेह्र महिना
तालाबन्दी हुन्छ' भनें भनेपनि  
हजुरले अट्टहासको हाँसो
नहाँसिबक्सेला,
अपत्यार नगरिबक्सेला, 
मालिक ! 
म सुटुक्क भन्छु हजुरलाई 
उनीहरु दावा गर्छन् आफूलाई 
उनै विश्वेश्वर र
पुष्पलालका अनुयायी !
मेरो बिन्ति छ मालिक,
हजुर शालिक भएपनि 
( यो मास्क हटाएर )
मालिकले झैं बोलिदिन पर्यो बेला
बेलामा 
गर्जिन पर्यो गगनभेदी
स्वरमा  
बोल्न नसक्नेहरुको आवाज 
र सुनाइरहन पर्यो पटक पटक 
चार भन्ज्यांग कटाइदिने
त्रास !
यहाँ ताला खोल्ने हिम्मत
कसैको नभएरै 
मैले हजुरलाई गुहारेको हुँ   
यहाँ सत्य बोल्ने हिम्मत
कसैको नभएरै 
मैले हजुरलाई पुकारेको हुँ
|