Thursday, October 18, 2012

फुर्सतका कुरा

“हेलो, ...................

कार्यक्रम बन्यो, हतार हतार

लगभग सबथोक भैसक्यो तयार

भोलि नबिर्सी आउनु नि यार ! ”



छुट्टी गनी बसेको

शनिबार भनी बसेको

रहरका बिबिध योजना

मनमनै बुनी बसेको

अलपत्र पार्न पनि कठिन

पछिलाई सार्न पनि कठिन

निम्ता हार्न पनि कठिन

भोलि छ्यास्स भेट हुँदा तिमीसंग

कुराले टार्न पनि कठिन

हे भगवान !

गोष्ठी गरेपछि

सभा गरेपछि

एकाबिहानै घरबाट

निस्कन परेपछि

फुर्सत कहाँ रह्यो साथी मेरो

तिमीले हरेपछि ?

------------------------------------------

मुश्किल भो छुट्टी भेट्न छुट्टी भनेकै दिन

साँचेर राख्ने यौटा, माग्ने कति पो हुन ?

Wednesday, October 17, 2012

जवानी / कहानी

यार हाम्रो पनि जवानी थियो

रिसानी खुशानीको लगानी थियो

साँझसम्मै हराउने बिहानी थियो

घरै पनि बिर्साउने कहानी थियो



नसोध कहाँ कहाँ गएका थियौ ?

कुन आश / मीठासमा बहेका थियौ ?



जब हर नजरमा दिवानी थियो

सारा शहर लहडकै चलानी थियो

पत्थरै जब नरम सिरानी थियो

हरेक स्वप्न सुन्दर, रुमानी थियो



नसोध के कस्ता बहाना जुटे ?

क-कस्ता तरंग, तराना उठे ?



जब नौनीदिलै खुद मदानी थियो

हर श्वास बहानाको खानी थियो

छटपटी, हुटहुटी, हैरानी थियो

मनै मनको बेहद उडानी थियो



न धर्ती पाउमुनि, न पानी थियो

नयनभित्र उत्ताल राजधानी थियो

यो कच्चा उमेरको निशानी थियो ?

या सच्चा जीवनको फूलदानी थियो ?



पक्षीपंख खुलेझैं क्यै बाणी थियो

यार हाम्रो पनि जवानी थियो.......

Friday, October 5, 2012

धर्म संक्रमण

मेरै घर अगाडी डबलीमा उभिएर

त्यो मान्छे

हरेक दिन

मेरा आस्थाको बिरुद्ध बोल्छ

मेरा इश्वरको बिरुद्ध बोल्छ

र मेरो धर्मको उपहास गर्छ

अनि भन्छ

जाउँ हिंड चिया खान

पहिलो दिन

मलाई रिस नउठेको होइन

मलाई अनिच्छा नभएको पनि होइन

तैपनि

बिद्रोह गर्न नसकेर

उसको पछि लाग्छु



फेरी अर्को दिन

उसैगरी

सबेरैदेखि मानिस बटुलेर

तिनै कुरा दोहोर्याउँछ

जातभातको कुरा गर्छ

रुढीबादको  कुरा गर्छ

दमन र असमानता

गरिबी र पछौटेपनसहितको दोष

मेरो धर्मलाई लगाउँछ

सदियौंदेखि मान्दै आएका

मेरा परम्परामा खोट देखाउँछ

मलाई घरिघरि

उसका केही कुरा हुन् जस्तो पनि लाग्छ

उसका केही कुरा होइनन जस्तो पनि लाग्छ

उ भन्छ – जाउँ हिंड चिया खान

म लुरुलुरु जान्छु र चिया खान्छु



प्रत्येक दिन यसरी सुन्दै जांदा

प्रत्येक दिन उसकै पैसाको चिया खाँदा

बिस्तारै मलाई

त्यो मान्छे मन पर्दै आउँछ

उसका धेरै कुरा सही ठहर्दै आउँछ

उसले हातमा थमाएका

पटपटाउँदा रंगिन किताबहरु

मलाई  प्रिय लाग्न थाल्छन


कसैसंग केही नभने पनि

कसैसंग बहस नगरेपनि

आजभोली एक बिहान मात्रै पनि

कोठामा एक्लै बस्नुपर्दा

मलाई उसैसंग जान मन हुन्छ

उसकै कुरा सुन्न छटपटी हुन्छ

त्यो मान्छेले

कसरी कसरी मलाई मोहनी लगाउँछ

मलाई अनुयायी बनाउँछ

javascript:void(0)