Monday, February 14, 2011

प्रेम गीत

यो हाँसो, गुनासो, यो मायाको चासो
यो प्रिती हो साँचो, या सृष्टिको खाँचो ?
तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
मेरो बाँसुरीको धड्कन त्यहाँ छ

ससाना खुशीले भरेका तराना
हृदयका कुचीले कोरेका निशाना
यो लेखा हो सप्पै, या जिउने बहाना ?
तिमी छौ, जहाँ छ यो दिलको ठेगाना

यो तिम्रो कथा हो कि मैले रचेको ?
या मेरो कहानी तिमीले कथेको ?
यो यात्रा बिसौनी, हो कसले गुनेको ?
तिमीले बुनेको या मैले उनेको ?

यी मनका मझेरी, यी तनका पंधेरी
यो चमचम जुनेली, यो रमरम अंधेरी
यो कण कण समर्पण, समर्थन जहां छ,
मेरो जिन्दगीको यौवन त्यहाँ छ
---------------------------------
यो पासो, ढोकांसो, यो मायांको टाँसो
जो डर्छ , त्यो हार्छ रे धर्तीको नासो !
यो गाढा इशारा, पुकारा जहाँ छ,
ल, है ! जिन्दगीको किनारा त्यहाँ छ !

Tuesday, February 1, 2011

अक्षरहरुको अबज्ञा

एकाबिहानै
अक्षरहरु अनसन बसेपछि
कसको के लाग्छ ?

(हजुर यस्तै भयो,
आन्दोलन भनेपछि नशा लाग्ने ,
रातमा पनि जाग्ने र
काम भनेपछि
तुरुन्तै थाक्ने र
दिउँसै भाग्नेहरुको देश न पर्यो यो,
अक्षरहरुले पनि आन्दोलन गर्न सिकेछन )

रातारात
गजब योजना गरेछन अक्षरहरुले र 
जहाँसुकैका अक्षरहरू
एकाबिहानै अनसन बसेछन
डिकाहरु जोडिएर एक ढिका भएछन
फुर्काहरु सोहोरिएर गुजुल्टा परेछन
मिल्नेसम्मकाले अंगालो मारेर
हच्कने लच्कनेलाई समेत विचमा पारेछन
र थपक्क बसेर
बज्राशन कसेर
अक्षरहरुले भनेछन-
अब हामी डेग चल्दैनौं यहाँबाट

यो आन्दोलनमा,
‘हामी हिंसा गर्दैनौं’ भनेछन अक्षरहरुले
‘शहिद भै विनसित्तैं मर्दैनौं’ भनेछन अक्षरहरुले
‘राँको बाल्दैनौं, दुर्वचन बोल्दैनौं
तर शिर्फ एक डेग चल्दैनौं’
अक्षरहरुले त्यसो भनिरहँदा
मलाई
इतिहासका एक चांग पुराना किताबहरुको याद आयो

ए हजुर,
सधैं आन्दोलन हुँदा
फाइदामा पर्थे पत्रकारहरु
अन्दाजमै पनि खबर बन्थे र
नेता भै निस्कन्थे कुलांगारहरु
यसपाली भने
आन्दोलनले तिनलाई पनि लपेटेछ
अहँ, रौँ चलेका हैनन् अक्षरहरु
न माथिको तल झार्न सकिन्छ
न दायाँको बायाँ सार्न सकिन्छ
न ठुलोको सानो पार्न सकिन्छ
काँटछाँटको त कुनै कुरै भएन हजुर
न दुरुस्तै कतै उतार्न सकिन्छ
कोलको ढुंगोजस्तो अचल भैदिएपछि अक्षरहरु
हेर्नुस, आज एउटै अखबार निस्केको छैन

कठै,
फसाद पो पर्दोरहेछ हजुर
अक्षरहरु बाउंठिएपछि
तिनलाई तह लाउन
पुलिसका भ्यानमा बोक्न पनि मिल्दो रहेनछ
गोली ठोक्न पनि मिल्दो रहेनछ
यस अघिका हरेक ठूला आन्दोलनमा
सम्झाउन भनेर भारत आउंथ्यो, सम्झाउँथ्यो
अमेरिकाले समेत दुत खटाउँथ्यो
अक्षरहरुको अबज्ञामा भने
त्यस्तो केहि गर्न मिल्दो रहेनछ

निकै बेर तमासा हेरेपछि
झसंग भएर मैले सोधें -
अँ साँच्ची के का लागि हो यो आन्दोलन ?
अक्षरहरुले एकै स्वरमा भने -
बन्द गर, हाम्रो अबमुल्यन !
असीम खेलवाड भो अक्षरहरुको भावनामा
रोक्नैपर्छ यस्तो मानमर्दन !

सहमति भन्दै जुध्नेहरुले
उभों भन्दै उँधो कुद्नेहरुले
संबिधान भन्दै जब थाले सत्ता-गान
असह्य भयो हाम्रो अपमान
हर अर्थको भयो नृशंस बलिदान
त्यसैले, अब अक्षरहरु चाहन्छन
आफ्नो गुमेको शान
आफ्नो यथावत स्थान

ए हजुर,
एक भौंज्याहा पुर्ब-राजकुमारको जस्तो
अक्षरहरुको माग सुनेपछि
म सोचमग्न भएको छु
यी अक्षरहरुलाई उठाउन
अब कसलाई बसाउन पर्ने हो थाहा भएन
यो गांठो फुकाउन कसलाई झुकाउन पर्ने हो थाहा भएन
कुन तांत्रिक बोलाउन पर्ने हो एकिन भएन

javascript:void(0)