आज गाउँको यादमा चुर्लुम्म डुबेको छु
गाउँ भुलेको लाजमा रुझेको छु

गाउँ उस्तो टाढा त होइन
तैपनि धेरै टाढा भयो 
मनै अग्लो डाँडा भयो 
भिरालो चौर र पीपलडाली 
नहिंडी नहुने खेतका आली 
कुलो र खोलो, बर्खे-भेल 
भीर पहरा, रुखका छेल 
उक्लने ओर्लने गौंडा खोल्सा 
बाघचाल कुँदेका ढुंगे छपनी 
बिपनामा उस्तो ख्याल हुँदैनन्   
टिलपिल भर्छन सपनी 
हिउँदे गोठ र बस्तुको ध्यान 
ढुंगाको चुलो, परालको ओछ्यान
पकायो, खायो, सुत्यो लम्पसार 
सुक्ख त होइन, ढुक्कको संसार 
कमेरो र रातो माटो लिपेका 
जोडी आँखामा पर्बत छिपेका 
आँगन जोडिएका घरै घर 
स्मृतिले ढाक्छन  दुवै नजर 
स-सानो स्कूल, ठुल्ठुलो घाँस
हेडसरको लट्ठी र सिस्नुको डांठ
'सानु खरायो' को चर्को स्वर
मच्चिंदै रट्नु 'गोनुझा र चोर'
गाउँ उस्तो टाढा त होइन 
तैपनि धेरै टाढा भयो 
शहरियापन नै काँडा भयो
गाउँ अझै उस्तै होला कि ? 
युद्धले गाउँ खाएको पढें  
गाउँको कान्ति धुवाँएको पढें
घर घरको शान्ति मुर्झाएको पढें 
माना सामल भरेर पनि 
गाउँ नै धावामा परेको सुनें
सन्ततिलाई मुग्लान धपाएर
गाउँ आफैं बसाईं सरेको सुनें
(भाई भाई निर्घात लडेको सुनें)
आज गाउँको यादमा बिह्वल भएको छु
गाउँ थलिएको खबरले धरधरि रोएको छु 
a heart touching creation........really very very good.......my eyes were almost filled with tears......
ReplyDeleteपकायो, खायो, सुत्यो लम्पसार
सुक्ख त होइन, ढुक्कको संसार ......keep posting ....
साह्रै भावना-प्रधान कविता...पढेपछि 'वाह!' भन्नु बाहेक कमेन्टमा लेख्ने शब्द पनि भेटिँन !
ReplyDeleteबोझिलो भईकन निकै कसिलो कविता । यस्तो कविता ज्यादै थोरै पढ्न पाइन्छ । गाउँको भुलाइ, त्यहाँ खोपिएका सम्झनाका टाटु, दुर्दशामय चित्र र चिन्ताका आवेगले कायल पार्ने सामर्थ्य राख्छन् ।
ReplyDeleteथलिएको छ साँच्चै, बिना बैशाखी ।
गाउँको यादले यसरी नै धेरैपल्ट रुझाएको छ सर!
ReplyDeleteगाउँ उस्तो टाढा त होइन
तैपनि धेरै टाढा भयो
कहिलेकाहीँ त लाग्छ,
अब सबै एकादेशको कथा भयो
गाउँ उस्तो टाढा त होइन तैपनि धेरै टाढा भयो
ReplyDeleteमनै अग्लो डाँडा भयो भन्दा पनि मेरो त दैनिकी ले भाद्येता पो भयो///
खूब मन पर्यो अनि मेरो पनि त्यों सानो रमैलो गाऊ याद आयो, आसू को २ थोपा तप्प तप्पायो/
प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete