Wednesday, May 26, 2010

प्रतिगामी कविता

आऊ, साथी
एउटा बुर्जुवा कविता सुनेर जाऊ
यसपालि पनि
सर्बहाराको कविता लेख्न सकिएन

तिमीले भनेका थियौ-
सधैं उखरमाउला मायाप्रीतिका
थोत्रा घरायसी गन्थनका
र पुरानो संस्कारका महिमा गाउनेहरु
प्रतिगामीका खेलौना मात्र हुन्छन
असली जनताका घृणापात्र हुन्छन,
सच्चा प्रगतिशील कविता पो कविता !
सर्बहाराको कविता पो कविता!

तिम्रो आग्रहपछि
'हो क्यार' भन्ठानेर
मैले पनि खूब खोजी गरें सर्बहाराको

ठेला ठेल्ने ठेलावाललाई गएर सोधें
दाई, तिमी सर्बहारा हौ ?
उनले सोधे
के हारेको देख्यौ तिमीले मलाई,
गरिबी छ, दुख छ, ठेलेकै छु
छिंडिको बास छ झेलेकै छु
तैपनि,
सपना अझै हारेको छैन मैले
हरेश खाएर आफैंसँग
जहान बच्चा मारेको छैन मैले
त्यसैले
तिमी मलाई सर्बहारा नभन,
(कि आज काम नपाएको देखेर हो ?)
यो नेपाल बन्दले गर्दा
साहुको ऋण बेलैमा तिर्न पाईएन
अलिकति बचन हारें
त्यस्तो त कत्रा कत्रा संबिधान लेख्नेले त
मेलो छोडेर
ई,'बन्द!’ भन्दै हिंडेका छन्
पुलिस र पसलेसंग भिडेका छन्
तिनले तान्न खोज्दै थिए जुलुसमा
तैपनि यो चोक छाडेको छैन मैले
काम आफ्नो अलपत्र पारेको छैन मैले

फेरि अर्को दिन
डोको बोक्ने ढाक्रेलाई सोधें
दाई, तिमी सर्बहारा हौ ?
उनले भने
यो कुरो मलाई सोध्न
तिमी कसले खटाएर आएका हौ
पोहोरकै मान्छेले पठाएर आएका हौ?
यसपाली त चन्दा सक्दिन है धरोधर्म,
दिनदिनै थप्दैछु ऋणको भार
महँगीले आकाश छोएपछि
नुन चामल गर्दैमा छु बेहाल
तैपनि यसोकसो
काम पाईएकोमा आभार
म भारी बोक्ने मान्छे हुँ
म न सर्बहारा, न कर्महारा
न बाटैघाटै मान्छे छेकेर हैरान पार्ने
तिमीजस्तो आबारा !

यी दुबैजना
दुश्मनको कित्ताका मान्छे जस्तो लागेपछि
हलो जोत्ने हलीसंग सोध्न गएँ
उनले भने
म जोत्ने मान्छे,जोतेकै छु
आफू पनि जोतिएकै छु
यत्रो जमिन हराभरा बनाउने
म कसरी सर्बहारा
ठिक भएन तिम्रो सोध्ने पारा
नसुनाउ मलाई कसैका नारा
समाजबाद बुझें, जनबाद बुझें
भूमिसुधार’देखि 'स्वरोजगार’ बुझें
नयाँदेखि पुराना जम्मै नेपाल बुझें
हामी त खालि रहेछौं, बेसहारा
'सर्बहारा' भन्दै धुत्न आउने
तिम्रै नेता हुन् सर्बहारा
चंदा र मुफतको धन्दामा टिकेका
भातमारा,हुतिहारा!

अब,
सडक छेउमा गिटी कुट्नेलाई सोधुँ कि,
स्कूल छेउमा चिया फिट्नेलाई सोधुँ कि,
खोला छेउमा माछा मार्नेलाई सोधुँ कि,
ताल पारि डुंगा तार्नेलाई सोधुँ कि,
म कसलाई सोधुँ,
आजसम्म भेट्न सकिन मैले सर्बहारा

आऊ, साथी
यसपालि पनि
एउटा बुर्जुवा कविता सुनेर जाऊ
सर्बहाराको कविता अझै लेख्न सकिएन

15 comments:

  1. आदर्श र यथार्थका बीच तीन कोससम्म पनि नजिक्याउन नसक्ने, 'जन' शब्दको दुरुपयोग गर्न सिपालु र आफूलाई मात्र बाठो ठान्दै अर्कालाई थाङनामा सुताएको सुतायै पार्न खोज्नेहरूप्रति तीक्ष्ण व्यङ्ग्य !

    ReplyDelete
  2. गजब छ, सर्वहाराको सर्वस्व लुटेर आफ्नो अराजकताको बिउ सिँचे । आखिरमा पोसिने उनै, चुसिने उनै - नयाँ नेपालमा !
    धन्यवाद लेखको लागी - नेतालाई सोध्नुभएन सर्वहारा को भनेर ? कति छिटो चिठ्ठा परे जसरी हात उठाउँथे होला !

    ReplyDelete
  3. चैतन्य जी !
    आहा ! कति गजबको कविता !
    ..... अलिकति पढेर ठक्क रोकियो अनि पुन: अघि पढ्यो , यथार्थता रहेको सजिव चित्रण गर्नु भा'छ !

    उत्कृष्ट मध्येको पनि उत्कृष्ट कविता !

    ReplyDelete
  4. नेपालको वर्तमानको यथार्थ चित्रण अत्यन्त उत्कृष्ट लाग्यो..........

    ReplyDelete
  5. वाह !, फेरि अर्को उत्कृष्ट रचना। म त तपाईको लेखाईको फ्यान नै भएँ हो ।

    दमदार शब्द र यथोचित व्यङ्ग्यले भरिएको प्रतिगामी कविता मैले त फेसबुकमा पनि सेयर गरे है !

    ReplyDelete
  6. यथार्थलाई ब्यंग्यको आवरण दिएर पस्किईएको सजीव, सटीक र सशक्त कविता! सर्वहाराको नाममा राजनीति गर्नेहरु र जनताको नाम जपेर तिनैलाई रेटनेहरुका विरुद्ध उभिएको छ यो दमदार कविता!

    ReplyDelete
  7. तितो यथार्थ !
    ----------------
    यसपालि पनि
    एउटा बुर्जुवा कविता सुनेर जाऊ
    सर्बहाराको कविता अझै लेख्न सकिएन
    -----------------
    wonderful piece :)

    ReplyDelete
  8. गजबको कविता ! धारिलो ब्यङ्ग्य !!

    ReplyDelete
  9. भनेपछि अहिलेसम्म पढेका सबै कविता 'बुर्जुवा' पो परेछन् :) तितो यथार्थमाथिको सशक्त व्यङ्ग्य!

    ReplyDelete
  10. आऊ, साथी
    एउटा बुर्जुवा कविता सुनेर जाऊ
    यसपालि पनि
    सर्बहाराको कविता लेख्न सकिएन

    बस् यतिले नै तानिहाल्यो मलाई । तपाईको कविता साह्रै ससक्त हुन्छ चैतन्य सर ।
    वास्तवमा अरूलाई सर्वहारा भन्नै र तिनैको नाममा घिनलाग्दो राजनीति गर्नेहरू चैँ हुन् सर्वहारा । सवैतिरबाट हारेका; विशेष आफ्नो वोलिवचन हारेका अनि जनताको विश्वास हारेका । गरिखाने लाई सर्वहारा भन्नु उनीहरूको अपमान हो । मलाई पहिल्यैबाट चित्त नबुझेको यो कुरो आज तपाईँको कविता मार्फत पढ्न पाएँ । साह्रै चित्त बुझ्यो अहिले बल्ल......

    ReplyDelete
  11. तपाईको कलमलाई मान्छु म। कबिता सुरु गर्दा , सरुकै लाइनबाट तान्न सुरु गर्छन् ।।। कहिलै नसकिए हुन्थ्यो जस्तो..
    आऊ, साथी
    एउटा बुर्जुवा कविता सुनेर जाऊ
    यसपालि पनि
    सर्बहाराको कविता लेख्न सकिएन
    यो लाईनले नै यसरी तान्यौ कि के भन्ने। निकै समय पछि परेम पढ्न, माफ गर्नु होला। ससक्त कबिता ।। तपाईलाई सलाम

    ReplyDelete
  12. My god! its really so? Kabita matra ta ho jasto lagena mali ta??? Mali sodhna aaunu bhako bha pani ma kehi aru bhanthi ki????? Best of luck cha hai Raj ji सर्बहाराको कविता ko lagi!

    ReplyDelete
  13. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)