नराम्रा कुराहरु र कविता
जानिराख,
चर्चित हुनु राम्रो कुरा
होइन
चर्चित हुनुको
भोलिपल्टैदेखि
तिमीले एउटा पर्खाल ठड्याउन
थाल्नु पर्छ
कम्ता छन् र मानिसहरु पनि !
त्यहीं भर्यांग राखेर
चियाउने छन्
सुन्दर हुनु पनि राम्रो
होइन
सुन्दर हुँदाको
भोलिपल्टदेखि
तिमीले कैद हुने कुरा
सोच्नुपर्छ
पसल जाँदा पनि कोही तिम्रो पछि
लाग्नेछन्
कबिता लेख्नु त झनै राम्रो
होइन
कबिता लेखेको थाहा भयो भने
चाहिं
मानिसहरु तिमीभन्दा पर पर
भाग्नेछन् |
टौवा र बुबा
पराल थप्दै जाँदा
टौवा अग्लिंदै गयो
र संगसंगै अग्लिनु भयो बुबा
पनि
केटाकेटीहरु झुम्मिएर हेर्न
आए
उनीहरुको मनमा एउटै डर थियो
अब बुबा कसरी झर्न
सक्नुहोला ?
सपनाका रेल
जीबन प्लेटफर्ममै उभिई रह्यो
सपनाहरु रेल झैं कुदिरहे
जति टाढा गयो
स्वप्नका रेलहरु झन् बेगले
कुदे
सुमात्राबाट निस्केको
सुनामी जस्तै
र अब त झन् ती
उडिरहे झैं लाग्दैछन् |
फाँट-मोह
ए मुर्ख !
किन समथर फाँटहरु मात्रै
टिपेर
छातीमा बेरिरहेछौ फनफनी ?
एकपल्ट
आफ्नो शरीर हेर ऐनामा
र विचार गर
जम्मै समथर हुँदाको परिणाम ?
धुलो र हावा
सर्लक्कै धोएर सुकाएथें
रुमाल
सोचेथें एउटै बाँकि छैन धुलोको कण
हावाले अनगिन्ती टाँसेर गएछ
|